मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

प्रकाश सिलवाल/काठमाडौँ, १८ असोज। के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ ? आफ्नो मतदानस्थल कहाँ पर्छ भन्ने जिज्ञाशा छ ? छ भने सजिलै थाहा पाउनुहुनेछ ।

निर्वाचन आयोगले आफ्नो वेभसाइट www.election.gov.np मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ आफ्नो मात्र होइन अरुको मतदाता नामावली पनि सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदानस्थलअन्तर्गत खोजी गर्दा भेट्न सक्नुहुनेछ ।

फोटो र सम्पर्क नम्बरसहितको मतदाता नामावली भने आयोगले सिलबन्दी गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका समयमा पठाउनेछ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आयोगले मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको विवरण गत भदौ ३१ गते स्वीकृत गरी अन्तिम मतदाता प्रकाशन गरेको थियो ।

सो अघि मतदाता विवरणमा कुनै त्रुटी सच्याउन र दाबी विरोध भएमा उजुरी दिन समय दिइएको थियो । निर्वाचन घोषणा भएपछि निर्वाचन नभएसम्म मतदाता नामावली सङ्कलन कार्य भने स्थगन भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता विवरणमा रहेका सानातिना त्रुटीका कारणले मात्र मतदानको अधिकारबाट कसैलाई पनि वञ्चित हुन नदिने आयोगले प्रयत्न गर्ने बताउनुभयो ।

आयोगले स्वीकृत गरेको नामावली विवरणअनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख अठासी हजार पाँच सय ७० मतदाता हुनेछन् । निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्ममा १८ वर्ष उमेर पूरा हुने अठासी लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय छ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता नामावली कायम भएका हुन् ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता कायम रहेका थिए । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदाता सङ्ख्यासमेतका आधारमा कूल १० हजार आठ सय ९१ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २६ मतदान केन्द्र रहने गरी स्वीकृत गरेको छ ।

आयोगका अनुसार यस निर्वाचनका लागि सबैभन्दा बढी मतदाता रहेका जिल्ला मोरङ (सात लाख ३५ हजार पाँच सय २५), झापा (छ लाख ६३ हजार तीन सय ११) र काठमाडौँ (छ लाख ५२ हजार एक सय २६) छन् भने सबैभन्दा कमतर्फ क्रमशः मनाङ (छ हजार सात सय ७९), मुस्ताङ (१० हजार नौ सय ५७), र डोल्पा (२२ हजार सात सय ७४) रहेका छन् ।

सूचना सम्प्रेषण प्रभावकारी बनाइँदै

आयोगले निर्वाचनसँग सम्बन्धित जिज्ञाशा र अन्योलबारे मतदाताका प्रश्न भएमा दसैँलगत्तै पैसा नलाग्ने फोनमा फोन गरेर समाधान गराउनेछ । आयोगले सञ्चारमाध्यमसँग सहजीकरण गर्न र निर्वाचनबारे सही तथा प्रभावकारी सूचना सम्प्रेषण गर्न यही असोज १४ गतेबाट बहादुर भवनमा प्रेस अफिस स्थापना गरी सञ्चालन गरिरहेको छ ।

आयोगले सामाजिक सञ्जालमार्फत पनि निर्वाचन कार्यक्रम, उम्मेदवार मनोनयनपत्रका लागि आवश्यक कागजात, निर्वाचन खर्चका हदजस्ता विषयलगायत सूचना प्रवाह गरिरहेको छ । सूचनामा सहजीकरणका लागि आयोग नियमित प्रवक्ता शालिग्राम शर्मा पौडेलका अतिरित्त, समानुपातिक प्रणालीका लागि बेग्लै प्रवक्ता गुरुप्रसाद वाग्ले र थप तीन जना (सूर्यप्रसाद अर्याल, ऋषि भुसाल र कमल भट्टराई) लाई सहायक प्रवक्ता तोेकेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले नमूना मतदानलगायतको कार्य गरेर मतदातालाई सूचना प्रवाहको कामसमेत गर्नेछन् ।

आयोगले निर्वाचनका लागि डिजिटल माध्यमलाई बढी प्रयोग गरेर मतदाता शिक्षा सञ्चालनको योजना अघि सारेको छ ।

दसैँ बिदामा पनि निर्वाचन कार्यक्रम

आयोगले दसैँ विदाका समयमा पनि निर्वाचन कार्यक्रमलाई निरन्तरता दिएको छ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीतर्फ यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्काे उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।

यस्तै यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ ।

यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।