शताब्दी पुरुष सत्यमोहन जोशी रहेनन्
काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे ।
जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।
सिमसार जाने सडक कालोपत्रे गरिने
उदयपुर, ३० असोज । उदयपुरको कटारी नगरपालिका-५ स्थित सिमसार जाने सडकको स्तरोन्नती गरिने भएको छ । कटारी नगरपालिका– ४ को विकास चोकदेखि, बर्मजिया, सिमसार, तीनतले सडकसण्ड स्तरउन्नतीका साथै कालोपत्रे गरिने भएको हो ।
कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले सहरी विकास मन्त्रालयले ९७ लाख बजेट बिनियोजना गरेको जानकारी दिए । त्यसैगरी प्रदेश १ को भौतिक पूर्वाधार मन्त्रालयले यही सडकलाई ९७ लाख नै बजेट छुट्याएको नगर प्रमुख श्रेष्ठले बताए । कटारी बजारबाट सिमसारसम्म जाने सडक कच्ची भएपछि यसलाई स्तरउन्नती गर्न मन्त्रालय तयार भएको हो ।
‘दुई वटा बजेट छुट्टाछुट्टै हो की एउटै हो यकिन गर्दछौं नगर प्रमुख श्रेष्ठले भने ‘ दुवै बजेट आए कालोपत्रे गर्ने तयारीमा छौं । यस अघि भौतिक पूर्वाधार मन्त्रालय प्रदेश १ बाट प्राविधिकहरु आएर यसको सर्वेक्षण गरि सकेका छन् । त्यसैगरी सहरी विकास मन्त्रालय अन्तर्गतका प्राविधिकहरुले समेत यस सडकको पहिलो चरणको सर्वेक्षण गरि सकेको छ ।
सिसाघारी सामुदायिक बन उपभोक्ता समितिद्वारा निर्मित र संञ्चालित सिमसार तथा पर्यापर्यटन क्षेत्रमा दैनिक सयौंको संख्यामा पर्यटकहरु पुग्ने गरेको समितिका संयोजक दिलबहादुर अधिकारीले बताउँछन् । मूख्य गरी कच्ची बाटोका कारण समस्या भएकाले सडक कालोपत्रे बने यो प्रदेश १ कै उदाहरणीय सिमसार बन्ने संयोजक अधिकारीको भनाई छ ।


