अस्ताइन् दानकी खानी मैयाँदेवी श्रेष्ठ

नारायण अधिकारी/चितवन, ६ कात्तिक । राजनीति, समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहनुभएन । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागिपर्नुभएकी श्रेष्ठ सबैका लागि श्रेय र प्रिय हुनुहुन्थ्यो । राजनीतिमा निष्ठा, समाजसेवामा निस्वार्थ भाव र धर्ममा समभाव राख्नुहुने उहाँ नेपाली समाजका लागि साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिनुभएको थियो ।

उहाँ आदर्श, त्याग र समर्पणको प्रतिमूर्तिका रूपमा चिनिनु हुन्थ्यो । श्रेष्ठको आज ९८ वर्षको उमेरमा चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ । विसं १९८५ फूलपातीका दिन तनहुँको बन्दीपुरमा बुबा वीरबहादुर श्रेष्ठ र मुमा गणेशकुमारी श्रेष्ठको कोखबाट उहाँको जन्म भएको हो ।

किशोरावस्थादेखि नै राणाशासनको क्रुर पञ्जाबाट देशलाई मुक्त गर्न राजनीतिमा प्रवेश गर्नुभएकी उहाँ नेपाली इतिहासको जीवन्त पात्र हुनुहुन्छ । विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गरी मुलुकमा प्रजातान्त्रिक हक र हितका निम्ति अनवरत रूपमा उहाँले क्रान्ति गर्नुभयो । विसं २००७ माघ १ गतेका दिन सशस्त्र क्रान्ति गर्ने निर्णयअनुसार भएको कार्यक्रममा उहाँको भूमिका महत्त्वपूर्ण रह्यो । सो क्रान्तिमा छ जना उहाँका साथीले वीरगति प्राप्त गर्नुभएको थियो । तत्कालीन समयमा विसं २००८ मा तनहुँको बन्दीपुरमा सामाजिक नारी सङ्घ खोलेर महिलाको चेतना वृद्धि गर्दै विकासका काममा उहाँ अगाडि बढ्नुभयो ।

विसं २०११ मा तिरो आन्दोलन सफल बनाउन, विसं २०१२ मा प्रजातान्त्रिक ग्रामीण महिला मण्डल, २०१३ सालमा राप्ती दुन विकास विभाग वितरण समिति, सोही वर्ष नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य रहेर उहाँले योगदान दिनुभयो । उहाँको निधन हुनुअघि संवादमा बताएअनुसार विसं २०१४ मा भद्र अवज्ञा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा बन्दीपुरमा उहाँ गिरफ्तार हुनुभयो । विसं २०१५ को निर्वाचनमा पार्टीलाई विजयी गराउन उहाँको भूमिका महत्वपूर्ण रह्यो ।

विसं २०१७ पुस १ गते मुलुकमा स्थापित प्रजातन्त्रलाई कुठाराघात गरी पञ्चायती व्यवस्थाको निरङ्कुश शासन मुलुकमा सञ्चालन भएको अवस्थामा प्रजातन्त्रको पुनःस्थापनाका लागि उहाँ गोप्य रूपमा सङ्गठनमा लाग्नुभयो । विसं २०१७ देखि २०१९ सम्म देवघाटमा बसेर पार्टीका लागि निरन्तर काम गर्नुभयो । विसं २०३६ मा चितवन जिल्ला महिला सङ्घको अध्यक्ष भएर जनमतसङ्ग्रहमा उहाँले भाग लिनुभयो । विसं २०४२ मा सत्याग्रह सफल पार्न भूमिका निर्वाह गर्नुभएकी श्रेष्ठ विसं २०४४ मा बिपी स्मृति दिवसका दिन पक्राउ पर्नुभयो ।

विसं २०४६ को जनआन्दोलनमा चितवनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी उहाँ २०४८ सालमा पार्टीले टिकट दिएपछि गोरखा क्षेत्र नं २ बाट निर्वाचनमा भाग लिई प्रतिनिधिसभाको सदस्यमा विजय हुनुभएको थियो । त्यस्तै गरी २०५३ मा नेपाली कांग्रेस पार्टीको केन्द्रीय पर्यवेक्षकको नवलपरासीको संयोजक भई उहाँले पार्टीले दिएको जिम्मेबारी पूरा गर्नुभएको थियो ।

‘सुश्री मैयाँदेवी श्रेष्ठ, व्यक्ति एक ः व्यक्तित्व अनेक’ पुस्तकमा लेखिएअनुसार श्रेष्ठले २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय पर्यवेक्षकको रूपमा सिन्धुलीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । तनहुँ क्षेत्र नं २ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यमा उहाँ विजयी भएर काम गर्नुभयो ।

विसं २०५२ साउन ४ गते नेपाली कांग्रेस केन्द्रीय सङ्गठन विभागको सदस्य पदमा मनोनित हुनुभएकी उहाँ २०५८ साल असार १३ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०६२ असार १७ गते उहाँ त्रिभुवन विश्वविद्यालय सभामा मनोनित हुनुभयो ।

विसं २०६२÷६३ को जनआन्दोलनमा उहाँ सक्रियपूर्वक लाग्नुभयो । विसं २०६४ मा संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभयो । आफ्नो जीवनभर अरूका लागि समर्पित उहाँ दान गरेर कहिल्यैँ थाक्नु भएन । सानातिना उहाँका सहयोगको कुनै गणना नै छैन । नारायणगढस्थित बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा उहाँले दान गर्नुभयो । मैयाँदेवी कन्या कलेज चितवनलाई १२ कठ्ठा जग्गा खरिदका साथै भवन निर्माणका लागि लागेको सम्पूर्ण खर्च उहाँले नै बहन गर्नुभयो । नेपाली कांग्रेस भरतपुर वडा नं ३ लाई कार्यालय बनाउन उहाँले जग्गा उपलब्ध गराउनुभयो ।

उहाँले भक्त थानेश्वर महाप्रभुलाई धार्मिक मन्दिर निर्माणका लागि मैयाँदेवी मार्गमा रु एक करोड बराबरको जग्गा दान गर्नुभएको छ । उहाँले आफूलाई सहयोग गर्ने ऋषि गौतम, हरिनारायण सापकोटा, शिश्वासर बाजे (पुरेत), षडानन्द लामिछाने (पुरेत), सुल श्रेष्ठ, सुरला पिया, दुर्गा श्रेष्ठ, सुस्मिता श्रेष्ठ, टिना श्रेष्ठ, टङ्कनाथ पौडेल, स्वामी कैलाशानन्द सरस्वती, थानेश्वर महाप्रभु र मन्दिरा श्रेष्ठलाई भूमिदान गर्नुभयो ।

यसैगरी देवी कार्की, इन्दिरा (भान्से), ब्रम्हचारी नारायण फलारी बाबा, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, खिनाकुमारी श्रेष्ठ, पतञ्जली योग समिति, नेवा पुच ः नारायणगढ, विष्णुमाया श्रेष्ठ, दिव्यराज श्रेष्ठ, युनिभर्सल पिस फेडेरेसन, नेपाली कांग्रेस चितवन, नेपाल प्रेस युनियन चितवन लगायतका संस्था र व्यक्तिलाई पनि उहाँले करोडौंँ मूल्य बराबरको जग्गा दान गर्नुभएको पुस्तकमा उल्लेख छ । उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलले अहिले हिसाब गर्दा आमाले दान गरेका जमिनको मूल्य रु एक अर्ब बढी हुने बताउनुभयो ।

पछिल्लो समय उहाँको नाउँमा मैयाँदेवी ट्रस्ट खोलिएको छ । नारायणगढको आफ्नो घरजग्गालाई उहाँले ट्रस्टको लागि प्रयोग गर्नुभएको छ । देवघाटमा रहेको ट्रस्टका लागि जग्गा र भवनको व्यवस्था गर्नुभएको छ । जीवनभर अविवाहित रहनुभएकी श्रेष्ठले समाजसेवालाई सर्वाेपरी ठानी गरेको योगदानको कदरस्वरूप विभिन्न सङ्घ संस्थाले सम्मान गरेका छन् । उहाँलाई तत्कालीन श्री ५ वीरेन्द्र वीरविक्रम शाहबाट समाजसेवा पदक, सनातन धर्म सेवा समितिमार्फत् राष्ट्रिय सम्मान, जेपी प्रतिष्ठानबाट अभिनन्दन, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिबाट कदरपत्र, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट सम्मान, तत्कालीन श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहबाट ग्रिनअनर सम्मान प्राप्त गर्नुभएको छ ।

यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट चन्द्राकान्ता राष्ट्रिय महिला शिक्षा सेवा पुरस्कार, नेतृत्व र सुशासनबाट छैठौं विश्व सम्मेलनको अवसरमा जापानको टोकियोमा एम्बेस्डर फर पिसबाट सम्मानित हुनुभएको छ । आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारको राशि पनि उहाँले समाजसेवामा नै खर्च गर्नुभएको छ ।

औपचारिक शिक्षा प्रवीणता प्रमाणपत्र तहसम्म गर्नुभएकी उहाँ २०४८ सालमा प्रतिनिधिसभा सदस्य, २०५८ सालमा राष्ट्रियसभा सदस्य र २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य हुनुभयो । नेपाली, नेवारी, हिन्दी र अङग्रेजी भाषामा दख्खल राख्नुहुने उहाँले इजरायल, भारत, बङ्गलादेश, चीन, थाइल्याण्ड, हङ्कङ्, कोरिया, अमेरिका, क्यानडा, बर्मा, इटली, पाकिस्तान, जापान, स्विट्जरल्याण्ड, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, बेलायत र कतारजस्ता देशको भ्रमण गर्नुभएको छ ।

स्वाध्ययन, अध्यात्म चिन्तन, सामाजिक सुधार र सद्भावका लागि राजनीति भन्ने श्रेष्ठको आफ्नो पूर्ण जीवन समाज र राजनीतिमा बित्यो । चितवनलाई मानवबस्ती बसाउन उहाँको महत्त्वपूर्ण योगदान छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।