नेवार समुदायले तिहारको चौथो दिन आज म्हपूजा पर्व मनाइँदै

भादगाउँ, ८ कात्तिक । नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताउनुभयो ।

म्हपूजाको अर्थ हो शरीर पूजा । तिहारको चौथो अर्थात् कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन् । यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ ।

म्हपूजाको दिन नेवारहरु बिहानै उठेर घरमा सफासुग्घर गरी नुहाइधुवाइ गरी चोखो लुगा लगाई विभिन्न पकवानहरु पकाएर बेलुका आफ्नो आत्माको प्रतीक मण्डला बनाई पूजा गर्छन् । म्हपूजा गर्न सुरुमा रातो माटोले लिप्छ । लिपिसकेपछि चोखो पानी छर्केर पानीको मण्डला बनाइन्छ । त्यसपछि तेलको मण्डला बनाइन्छ । त्यसको माथि चामलको पीठोबाट व्यक्तिको प्रतीक मण्डला तयार गरी त्यसमा पञ्चरङ्गिन बनाइन्छ । त्यसपछि मण्डलाको बीच भाग र चार कुनामा कालो काँचो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल) राखिन्छ । त्यसको माथि खेलुइता (टुप्पीदेखि चिउँदोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ ।

घरका सदस्यहरु क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन् । घरको मूलीमाथि गणेश भगवान्को मण्डला तयार गरिन्छ । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, अम्बा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयर लगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाएको माला), सयपत्री फूलको माला र सयपत्री तथा गोडावरी फूल राख्छ ।

म्हपुजा गर्दा पहिले सुकुन्डा बालेर चामलको पीठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ । यो पूजा घरको नकीं (मूली महिला)ले गर्ने परम्परा छ । यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत् रुपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकामा तीनवटा मुटुमारी (चामलको रोटी), पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आख्य आदि राखेर तीन पटकसम्म टाउकामा ढोगाएर मण्डलामा जाने गरी कुले (काठको पाठी)ले खन्याई म्हपूजा गरिन्छ । म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।

पूजा सकिएपछि क्रमशः बिमिरो, कोखा, पूmलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउको फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकींले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा विसर्जन गर्ने परम्परा छ ।

म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अण्डा सगुन) दिन्छ । खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवानहरु राखेर भोज खाने प्रचलन छ । भोज खाइसकेपछि सलादका रुपमा गणेशलाई चढाएको बिमिरो काटेर भोज समापन गरिन्छ ।

म्हपूजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योति फैलाउने कामनासहित गरिन्छ । यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ पनि गरिन्छ । म्हपूजा बलिराजालाई साक्षी राखेर गर्छ भन्ने लोकमान्यता छ ।

इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रम्हाण्ड, मैले सारा जगत्को कल्याण गर्न सक्छु । संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हपूजा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म्हपूजा पूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ । त्यसको अघिल्लो दिन अर्थात् आँैसीको दिन लक्ष्मी पूजा । जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्नताको प्रतीकस्वरुप गरिने पूजा नै म्हपूजा हो ।”

प्राडा श्रेष्ठले भन्नुभयो, “म्हपूजा नेवार समुदायको प्राचीन पर्व हो । नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रुपमा यसलाई मनाउँदै आएको छन । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने कुचो, नाङ्गलो, गाग्री, करुवा, सिलौटा र चुलोलगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ ।”

यसै दिन पारेर नेवारले नयाँ संवत्समेत मनाउँछन् । म्हपूजाको दिन नेपाल संवत् सुरु हुन्छ । वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधले नसताओस् र शरीर सधैँ तन्दुरुष्ट होस् भन्ने कामनाले पनि म्हपूजा गर्ने प्रचलन सुरु भएको अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउँछन् ।

म्हपूजा कहिलेदेखि सुरु भएको, कसले चलाएको भन्नेबारे यकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको धौभडेल बताउँछन् ।

म्हपूजाको दिन शङ्खधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । शङ्खधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् सुरु भएको कथन पाइन्छ ।

कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुहूर्तमा विष्णुमती र भद्रमतीका बीचमा रहेको चखुंतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ । सोही अनुसार चारजना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चखुंतीर्थमा बालुवा लिन पठाउँछ । ती भरियाहरु बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शङ्खधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनाका कारण खोज्न थाले । उहाँले बालुवामा केही रहस्य भएको शङ्का गरी ती भरियाहरुलाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाएँ । भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शङ्खधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ संवत् चलाएको मान्यता रहेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।