स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली

रमेश लम्साल/काठमाडौँ, ८ कात्तिक । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नु पर्दथ्यो । बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता सूचना प्रकाशित गरेर आनन्दसँग निदाउँथ्यो ।

समय बदलियो, अवस्थामा पनि परिवर्तन आयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिका कारण २०७३ सालको लक्षमी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट विद्युत्भार कटौती अन्त्य भयो । सरकारले जनताका सामु गरेको वाचालाई पूरा ग¥यो । त्यो वाचा पूरा गराउन हालका अर्थमन्त्री एवम् तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलकदमी पनि उत्तिकै महत्वपूर्ण थियो । प्राधिकरणको नेतृत्वमा रहेर कार्यकारी निर्देशक कुलमान घिसिङले निर्वाह गर्नुभएको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।

नेपालबाट अब विद्युत्भार कटौती इतिहास भएको छ । विद्युत्भार कटौती मात्रै इतिहास भएको छैन, तिहारमा भारतीय बजारबाट खरिद गरेर ल्याइने बिजुली पनि अब आयात हुन बन्द भएको छ । नेपाल र नेपाली क्रमशः ऊर्जामा आत्मनिर्भर बन्दैछन् भन्ने अवस्थामा पुगिएको छ ।

सोमबार देशैभर हर्ष उल्साहका साथ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पूजा गरिएको छ । लक्ष्मी पूजा बत्ती बाल्ने दिन । लक्ष्मीको आराधना गर्ने दिन । त्यस दिन देशभर कूल एक हजार तीन सय पाँच मेगावाट बराबरको बिजुली खपत भएको प्राधिकरणले जनाएको छ । देशभर बिजुलीको के कति माग छ भन्ने कुराको खास मापन गर्ने दिनका रुपमा यस यस दिनलाई लिइन्छ । आन्तरिक रुपमा क्रमशः बिजुलीको मागमा वृत्ति हुँदै गएको छ । गत वर्षको तिहारमा अधिकतम बिजुली खपत एक हजार दुई सय मेगावाट बराबर थियो । यस आधारमा गत वर्षभन्दा एक सय पाँच मेगावाट थप बिजुली खपत भएको छ, यस वर्ष ।

यस्तै, गत असार २८ गते अधिकतम बिजुली खपत अर्थात् पिक लोड एक हजार सात सय ४७ मेगावाट रहेको थियो । काठमाडौँ उपत्यकामा तीन सय ४२ मेगावाटको हाराहारीमा अधिकतम माग देखिएको प्राधिकरणले जनाएको छ । लक्ष्मी पूजाको दिनसमेत प्राधिकरणले तीन सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार सोमबार निजी क्षेत्रका ऊर्जा उद्यमीका आयोजनाबाट प्रणालीमा सात सय ६७ दशमलव पाँच मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो ।

यस्तै प्राधिकरणका सहायक कम्पनीका आयोजनाबाट कूल चार सय ८२ दशमलव दुई मेगावाट उपलब्ध भएको थियो । प्राधिकरणका अर्धजलाशयुक्त आयोजनाबाट चार सय ३५ मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो । यस आधारमा भारतमा समेत निर्यात गरेको जोड्दा एक हजार छ सय ६८ मेगावाट बिजुली कूल खपत भएको देखिन्छ । लक्ष्मी पूजाको दिनसमेत कूल दुई सय मेगावाट बिजुली खेर गएको छ ।

विसं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यका र २०७५ साल वैशाख ३१ ग्तेदेखि देशभर नै विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पछिल्ला दिनमा गुणस्तरीय बिजुली उपलब्ध गराउने प्रयास गरिरहेको छ । बिजुलीको खपत बढाउने अभियान पनि निरन्तर जारी छ ।

यद्यपि अपेक्षित रुपमा बिजुलीको माग भने बढ्न नसकेको गुनासो पनि उत्तिकै आउने गरेको छ । सोमबार साँझ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विनाअवरोध देशभरि विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

विगतका वर्षहरुमा लक्ष्मी पूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ । प्राधिकरणले यस वर्ष लक्ष्मी पूजाको पिक डिमान्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत् केन्द्रसमेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

यस वर्षको लक्ष्मी पूजाको पिक समयमै तीन सय ८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र दुई सय मेगावाट विद्युत् खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ । “विगतमा लोडसेडिङ हुँदा लक्ष्मी पूजाको दिनको विद्युत् खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरू बेला नै पिक डिमान्ड आउने गरेको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

तिहारमा उद्योगकलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन्, फेरि तराइमा गर्मी छैन र काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकाले अहिले विद्युत् माग नआउने समयका रुपमा लिइन्छ । उहाँले आन्तरिक रुपमा विद्युत् खपत बढाउनु ठूलो चुनौती रहेको बताउनुभयो ।

प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड सबैभन्दा बढी रहेको थियो । देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यातसहित लक्ष्मी पूजाको दिन प्रणालीको पिक डिमान्ड एक हजार छ सय ८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड तीन सय ४२ मेगावाट छ । गत वर्ष तीन सय २० मेगावाट थियो ।

प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तलाई आग्रह गरेको थियो । प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत् गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।