निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा गर्नुपर्छ मतदान

काठमाडौँ, ८ कात्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिह्नको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालोरङ्को निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।

यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यो मतपत्रमा आफूलाई मनपर्ने उम्मेदवारको निर्वाचन चिह्नमा मतदाताले मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर नजिकैको ‘१’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्नेछ । यो मतपत्र खसालिसकेपछि दोस्रो चरणमा निजले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘२’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ । तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यो मतपत्रमा इच्छाएको उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘३’ लेखिएको नजिकैको मतपेटिकमा मतपत्र खसाल्नुपर्छ । चौथो तथा अन्तिम चरणमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा मतदाताले आफूले इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर ‘४’ लेखिएको नजिकैको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।

हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत सङ्केत गर्नुपर्ने व्यवस्था छ । मतदाताले मतदान केन्द्रमा आ–आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था आयोगले गरेको छ । महिलाले तोकिएको महिलाको लाइनमा र पुरुषले तोकिएको पुरुषको लाइनमा लामबद्ध भई मतदान गर्न पाउने गरी मतदान केन्द्रको व्यवस्थापन गर्न लागिएको छ ।

गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपाङ्गगता भएका व्यक्ति तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत सङ्केत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।