प्रमुख राजनीतिक दलको चुनावी घोषणापत्रः निःशुल्क उपचारदेखि निःशुल्क स्यानेटरी प्याड

शरद् शर्मा/काठमाडौँ, १८ कात्तिक । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रमुख राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्यको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधानअनुसार स्वास्थ्यलाई निःशुल्क, स्वास्थ्य क्षेत्रको बिकासका लागि १० प्रतिशत बजेट विनियोजन, स्यानेटरी प्याडदेखि निरोगी नेपाल जस्ता बिषयलाई मुख्य स्वास्थ्यका एजेण्डा बनाएरका छन् ।

नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने उल्लेख गरेको छ । पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गर्ने, बिमा रकमको दायरा बढाई रु १० लाख पु¥याइने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्न, अतिअशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गरिने, एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्डअनुरुप पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका दुई हजार छ सय वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ–नगरपालिकामा विशेषज्ञ चिकित्सकसहितको प्राथमिक अस्पताल, सबै उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवासहितको अस्पताल सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।

नेपाली कांग्रेसले पाँच वर्षभित्र हरेक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विशिष्टीकृत अस्पताल (बालरोग, सरुवा रोग, मुटु, क्यान्सर, प्रसूति, मुख्य राजमार्गमा ट्रमा सेन्टर आदि) स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालन गरिने उल्लेख गरेको छ । नसर्ने रोगको बढ्दो चापलाई मध्यनजर गरी स्थानीय तहका साझेदारीमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिने, प्रदेशमा नसर्ने रोग नियन्त्रण केन्द्र स्थापना गरिने छ । नागरिकलाई घर नजिकै गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाइने, नयाँ प्रविधिबाट गुणस्तरीय सेवामा द्रुत पहुँचका लागि टेलिमेडिसिन सेवा विस्तार गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने, सात सय ५३ स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्स सञ्जाल बनाइने, एक वर्षभित्र खाली रहेको जनशक्तिको पदपूर्ति र आवश्यक प्राविधिक जनशक्तिका लागि आवश्यक दरबन्दी थप गरी पाँच वर्षभित्र क्रमशः एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्थाका अवधारणा कार्यान्वयन गरिने घोषणापत्रमा समावेश गरेको छ ।

नेपालको विद्यमान कुपोषणको स्थिति सुधार गर्न खाद्यमा आधारित पोषण कार्यक्रममार्फत बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक खाद्य पदार्थमा पहुँच बढाउन निजी क्षेत्र सहित तीनै वटा सरकार र अन्य सरोकारवालासँग सहकार्य गरिने, सुनौला हजार दिनलगायतका कार्यक्रम प्रभावकारी बनाई बालबालिमा रहेको हालको ३२ प्रतिशत पुड्कोपनाको दरलाई २० प्रतिशतभन्दा कममा झारिने, सरकारका सबै तहको वार्षिक बजेटमा स्वास्थ्य र पोषण क्षेत्रको अंश न्यूनतम १० प्रतिशत हुने लक्ष्य कांग्रेसले घोषणापत्रमा राखेको छ ।

यस्तै नेकपा (एमाले) को घोषणापत्रमा ‘निरोगी नेपाल’ मुख्य स्वास्थ्य नीति लिँदै स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने उल्लेख छ । एमालेले घोषणापत्रमा सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पु¥याइने, ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्ने घोषणापत्र उल्लेख गरेको छ ।

प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थोपचार सहज बनाइने, प्रसूति सेवासहित महिला स्वास्थ्यको रक्षा, सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित, अधिकांश रोगको उपचार स्वदेशमा नै हुने प्रबन्ध गरिने एमालेको घोषणापत्रमा उल्लेख छ । सुरक्षित महिनावारी कार्यक्रमका लागि महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका निम्ति वार्षिक रु एक हजार पाँच सय उपलब्ध गराइने पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।

ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क आपत्कालीन उद्धार गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्सको व्यवस्था, ‘भान्सा नै औषधालय हो, भान्सालाई मविषमुक्त गरौँ’ अभियान सञ्चालन गरी आहार–व्यवहारमा जनसचेतना विकास गरिने एमालेले कायृक्रम अगाडी सारेको छ । घोषणापत्रमा आगामी पाँच वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बिमा, स्वास्थ्य बिमाले समेट्ने सबै उपचार स्थानीय तहका स्वाथ्य केन्द्रबाट उपलब्ध हुने गरी सुनिश्चित गरिने उल्लेख छ ।

यस्तै एमालेले ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध, गम्भीर प्रकृतिका रोगको उपचार निःशुल्क गरिने, ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पोषणयुक्त आहारका लागि थप सहायता कार्यक्रम ल्याइने जनाएको छ ।

सबै स्थानीय तहका अस्पताल तथा स्वास्थ्य केन्द्रमा बाल उपचार कक्ष, ज्येष्ठ नागरिक उपचार कक्ष र मातृशिशु उपचार कक्षको अनिवार्य व्यवस्था, आवश्यकता र सम्भावनाको आधारमा हेलिकप्टर, हवाईजहाज वा एम्बुलेन्स व्यवस्था गरेर गर्भवती महिला र दुर्घटनामा परेका व्यक्तिको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था मिलाइने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले पनि सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य क्षेत्रको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । माओवादी केन्द्रले स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरुयोजना बनाई लागू गरिने घोषणापत्रमा उल्लेख गरेको छ । हरेक पालिकामा आधारभूत अस्पतालको निर्माणगरी दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था, प्रदेशस्तरमा ठूलो क्षमताका विशिष्टीकृत सेवाका अस्पताल निर्माण र सञ्चालनमा जोड दिइने, पहिलेदेखि नै सञ्चालनमा रहेका अस्पतालको क्षमता विस्तार तथा आधुनिकीकरणको कार्य अघि बढाइने माओवादीको घोषणापत्रमा उल्लेख छ ।

औषधि उत्पादनमा आत्मनिर्भर हुन आधुनिक औषधि उत्पादन कम्पनी तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना र सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने, बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारका लागि विशिष्टीकृत अस्पताल निर्माण गरिने, लागुऔषध, धूमपान प्रयोगकर्ताका लागि स्वास्थ्य सेवासहितको पुनःस्थापना केन्द्र सातै प्रदेशमा स्थापना गरिने माओवादीको घोषणापत्रमा उल्लेख गरिएको छ ।

दुर्गम क्षेत्रका गर्भवती महिला र सुत्केरीले समयमा उपचार नपाउँदा अल्पायुमै हुने मृत्युलाई रोकथाम गर्न अति दुर्गम र कर्णालीका जिल्लामा दुई जिल्ला बराबर एक हेलिकप्टरको व्यवस्था गरी एयर एम्बुलेन्स सेवा सञ्चालन, समय समयमा आउने महामारी र अन्य स्वास्थ्य प्रकोपलाई वैज्ञानिक ढङ्गले सामना गर्न सङ्घ र प्रदेशमा छुट्टै निकाय बनाई अध्ययन–अनुसन्धान, निरोधात्मक तथा प्रतिरोधात्मक कार्य गरिने घोषणापत्रमा भनिएको छ ।

पढाइ सकेपछि आफ्नो पालिकामा सेवा गर्नुपर्ने सर्तमा हरेक पालिकाबाट प्रत्येक वर्ष कम्तीमा एक डाक्टर, एक स्टाफ नर्स पढ्न सरकारले छात्रवृत्तिको व्यवस्था गर्ने, डाक्टर तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधामा वृद्धि गरिने र साप्ताहिक ४० घन्टाभन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गरिने माओवादीको घोषणापत्रमा उल्लेख छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी)को स्वास्थ्य क्षेत्र सेवाको बिकास, बिस्तारको बिषयलाइ प्रमुख प्राथमिकता राखेको छ । पार्टीले घोषणापत्रमा ‘निःशुल्क स्वास्थ्योपचार, जनताको मौलिक अधिकार’ भन्ने नारालाई कार्यान्वयन गर्न आम जनतालाई आधारभूत स्वास्थ्योपचार निःशुल्क उपलब्ध गराउन उल्लेख गरेको छ ।

प्रत्येक प्रदेश सदरमुकाममा डायोग्नोसिस केन्द्र, ट्रमा सेन्टर, अप्रेसन थिएटर, आइसियु तथा भेन्टिलेटर सेन्टर सेवा स्थापना, प्रत्येक नगरपालिकाको केन्द्रमा कम्तीमा एकसय र गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ शय्या अस्पताल स्थापना र सञ्चालन गर्ने समाजवादीको घोषणापत्रमा उल्लेख छ ।

समाजवादीको घोषणापत्रमा विकट गाउँका लागि एयर एम्बुलेन्सको व्यवस्था र आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप तथा विपद् र महामारीबाट हुने घाइते तथा बिरामीको उद्धार र सम्पूर्ण उपचार निःशुल्क गराउन पहल गर्ने उल्लेख गरिएको छ ।

क्यान्सर, मुटुरोग, मिर्गाैला रोग, मधुमेह, उच्च रक्तचाप आदि घातक रोगका औषधि र स्वास्थ्य जाँच निःशुल्क र क्यान्सर, मुटु, मिर्गौला, कलेजोको रोगलगायत जटिल र दीर्घरोगी लाई उपचार र औषधि खर्चबापत मासिक रु पाँच हजार सहयोग उपलब्ध गराउन पहल गर्ने, मुटु, मिर्गौला, कलेजो, फोक्सो र टाउकोको जटिल शल्यक्रियामा सरकारको तर्फबाट गर्ने व्यवस्था मिलाउने र मिर्गौला रोगीका लागि डायलासिस तथा प्रत्यारोपण सेवा निःशुल्क गर्न पहल गर्ने समाजवादीको घोषणापत्रमा उल्लेख गरिएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।