निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो
काठमाडौं, १८ कात्तिक । ‘कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ ।
डीएनए परीक्षण र मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपमा सजायको माग गर्दै अनशन बसेकी निहारिकाकै मागअनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो ।
उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत ८ भदौमा आदेश दिएको थियो । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको छ ।
स्वास्थ्य केन्द्रमा मतदान केन्द्र, स्थानीयवासीको विरोध
झापा, १८ कात्तिक (रासस) ःमेचीनगर नगरपालिका–१० मा रहेको प्राथमिक धुलाबारी स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।
स्वास्थ्यचौकीजस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा बिरामीलाई असर पर्ने जनाउँदै स्थानीयवासीले विरोध जनाएका हुन् । मेचीनगर¬–१० खयरडाँगीका महेश खड्काले विगतमा स्वास्थ्य केन्द्रमा मतदान हुँदै गर्दा एम्बुलेन्समा आएकी एक गर्भवती महिलाले सुविधा नपाउँदा मन खिन्न भएको कुुरा सामाजिक सञ्जालमा उल्लेख गर्दै आगामी निर्वाचनमा मतदान केन्द्र नबनाइ दिनका लागि आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “आँखै अगाडि देखेको यो घटनाले जीवनभर घोचिरहनेछ । अब आउने दिनमा हेल्थ पोस्टलाई निर्वाचन केन्द्र बनाउँदै गर्दा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् ।” झापा क्षेत्र नं १ मा रहेको यस केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीय समाजसेवी देवीमाया गौतमले पनि विरोध जनाउनुभएको छ ।
उहाँले निर्वाचन कार्यालयले विगतमा पटकपटक गरेको गल्ती यसपालि पनि दोहो¥याएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले हरेक नागरिकको २४ घण्टै पाउनुपर्ने स्वास्थ्योपचारको अधिकारमाथि निर्वाचन कार्यालयले हनन गरेको आरोप लगाउनुभयो ।
क्षेत्र नं १ का निर्वाचन अधिकृत टङ्कबहादुर महतले स्वास्थ्य केन्द्रलाई मतदान केन्द्र बनाउनु उचित नभए पनि तत्काल विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलादेखि नै कसरी रह्यो, पहिल्यै सुधार गर्नुपथ्र्यो । अब ठाउँ तोकिएको स्थानबाट ठाउँ सार्न पाइँदैन, अर्को उपाय छैन ।”
उहाँले स्वास्थ्य केन्द्रमा मतदान केन्द्र बनाउँदा बिरामीलाई असर पर्नेमा आफू चिन्तित भए पनि तत्काल केही गर्न नसकिने बताउनुभयो ।¬¬¬ झापामा दुई सय ८५ मतदानस्थल र सात सय ५५ मतदान केन्द्र रहेका छन् ।


