धनकुटामा निर्वाचनमा संञ्चार माध्यमको भूमिका बिषयक मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न
धनकुटा,२१ कार्तिक । जिल्ला निर्वाचन कार्यालय धनकुटाले निर्वाचनमा संञ्चार माध्यमको भूमिका बिषयक आधा दिवशीय मिडिया अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।
धनकुटा सदरमुकाममा आज आयोजना गरिएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय धनकुटाले अहिले सम्म गरेका र निर्वाचनको मतपरिणाम घोषणा नहुंदा सम्म आयोगबाट गरिने कार्यहरुको जानकारी गराउनु भएको थियो ।
उहाँले निर्वाचनलाई निश्पक्ष, भयरहितरुपमा सम्पन्न गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने समेत धारणा राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा आफ्नो प्रस्तुती गर्दै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले निर्वाचनको समयमा पत्रकारहरुले निष्पक्ष र स्वतन्त्र भएर समाचार प्रकाशित तथा प्रसारण गर्न , सत्य तथ्य समाचार मात्र संप्रेषण गर्न, पत्रकारले पालना गर्नु पर्ने आचार संहिताको पूर्ण पालना गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेलले मंसिर ४ गते हुन गई रहेको निर्वाचनमा निर्वाचन आयोग, सरकार, राजनैतिकदल, मतदाता सहित सरोकारवाला निकायले सफल बनाउँन लाग्नु पर्ने र त्यस्तो वातावरण बनाउँन मिडियाको भूमिका महत्वपूर्ण हुने बताउँनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस योगेन्द्र प्रसाद शाहले पत्रकारले सत्य तथ्य बुझेर र जिम्वेबार अधिकारीहरु संग बिषय बस्तु बुझेर समाचार संप्रेषण गरिदिन पत्रकारहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल राष्ट्रिय अनुसन्धानका प्रमुख जिल्ला निर्वाचन कार्यलयका कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।





