धनकुटामा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी
धनकुटा,३० कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे जिल्ला प्रशासन कार्यालय धनकुटाले जानकारी गराएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को तयारी सम्बन्धमा संचारकर्मीहरु संग अन्र्तकृया गर्दै प्रशासनले हाल सम्मको तयारी र यस पछि मतगणना सम्पन्न सम्मका तयारी बारे जानकारी गराएको हो ।
१ सय ६४ मतदान केन्द्र रहेको धनकुटामा २ हजार ४ सय ९८ जना सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यालस धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी गराउनु भयो ।
मतदान स्थलमा म्यादी प्रहरी र नेपाल प्रहरी परिचालन हुने छन् भने तेस्रो घेरामा सशत्र प्रहरी र बढीमा ४५ मिनेटमा मतदान स्थलमा पुग्ने गरि नेपाली सेनाको टोली रहने समेत जानकारी गराईएको छ साथै निर्वाचन विरोधी गतिविधि गर्नेहरु विरुद्ध समेत राष्ट्रिय अनुसन्धान बाट निगरानी भईरहको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस योगेन्द्र प्रसाद शाहले निर्वाचनलाई सफल पार्नु सबैको जिम्मेवारी भएकोले निर्वाचनलाई सफल बनाउन र सत्य तथ्य रिपोर्टिंग गरिदिन आग्रह गर्नु भयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेलले शान्ति सुरक्षाको व्यवस्था जिल्लामा मजबुद बनाइएको जानकारी दिदै निर्वाचनलाई सफल बनाउँन निर्वाचन आयोग र प्रशासन मात्र नभई सबै लाग्नु पर्ने बताउँनु भयो ।
अन्र्तकृया कार्यक्रममा नेपाली सेनाको भीमदल गणका गणपति सुमन थापा, सशत्र प्रहरी वलका धनकुटाका प्रमुख दिपक बलामी, जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठ राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत तुलसी कट्टेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विदुर खवास, देवकला कार्की सहित अन्य पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत तुलसी कट्टेलले गर्नु भएको थियो ।




