धनकुटामा एमालेको ‘क्लिन स्वीप’
धनकुटा । घनकुटामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ जित निकाल्दै नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा सदस्य तर्फ एमालेका राजेन्द्र कुमार राई , प्रदेशसभा (१) मा निरन राई र प्रदेशसभा (२) मा ईन्द्रमणि पराजुली विजयी भएका छन् ।
प्रतिनिधिसभा तर्फ राईले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल बहादुर थापालाई पराजित गरेका हुन् । राईले थापालाई १ हजार ३ सय ९७ मतान्तरले पराजित गरेका हुन् । राईले ३० हजार १ सय १ मत ल्याउँदा थापाले २८ हजार ७ सय ४ मत ल्याए ।
प्रदेशसभा (१) मा एमालेका निरन राईले नेकपा(एस) का अर्जुन कुमार राईलाई पराजित गरेका हुन् । निरन राईले १७ हजार १८ मत प्राप्त गर्दा नेकपा(एस) का अर्जुन कुमार राईले १० हजार २ सय २६ मत प्राप्त गरे ।
प्रदेशसभा (२) मा नेकपा एमालेका पराजुलीले नेकपा माओवादीका कुसुम कुमारी श्रेष्ठलाई पराजित गरेका हुन् । पराजुलीले १५ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले ११ हजार २ सय ३० मत ल्याए ।
यो पनि…
भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन उम्मेदवार विजयी
टक्सार (भोजपुर), ८ मङ्सिर (रासस) :मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् ।
प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २ बाट नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवा निर्वाचित हुनुभएको हो ।
नेकपा (एमाले)का उम्मेदवारलाई पछि पार्दै राई र बान्तवाले विजय हासिल गर्नुभएको छ । प्रदेशसभा १ मा मुख्यमन्त्री राईले १६ हजार एक सय १० मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत प्राप्त गर्नुभयो ।
प्रदेशसभा १ मा ६४ हजार दुई सय ३६ कूल मतदाता रहँदा ३२ हजार तीन सय ३२ मत खसेको थियो भने ३० हजार नौ सय ९२ सदर र एक हजार तीन सय ४० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
प्रदेशसभा २ तर्फ बान्तवाले १३ हजार पाँच सय ७९ मत ल्याउदा प्रतिस्पर्धी एमालेका खडगबहादुर कार्कीले १२ हजार आठ सय २८ मत पाउनुभएको थियो ।
सो क्षेत्रमा कूल ५९ हजार एक सय ४३ मतदाता रहेकोमा २९ हजार चार सय ७४ मत खसेको थियो । जसमा २८ हजार तीन सय २५ सदर र एक हजार एक सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको विवरणमा उल्लेख गरिएको छ ।
समानुपातिकको मत पेटिकामा केही मत परेको हुनसक्ने भएकाले सो गणना भन्दा अगाडि औपचारिक घोषणा भने नगरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ भने मतगणना जारी छ । सो मतगणना पनि चाँडै सक्ने गरी गणना भइरहेको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताउनुभयो ।
भोजपुरमा एक लाख २३ हजार तीन सय ७९ कूल मतदाता रहेकोमा ६२ हजार एक सय ८१ मत खसेको थियो । जुन ५० दशमलव ३९ प्रतिशत हो । भोजपुरमा प्रतिनिधिसभा तर्फ १२, प्रदेशसभा १ मा ७ र प्रदेशसभा २ मा ६ जना गरी २५ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए ।


