डेढ दशकमा ६४ प्रतिशत सम्पन्न भयो मध्यपहाडी राजमार्ग

काठमाडौँ, १९ मङ्सिर (रासस) : मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण शुरु भएको डेढ दशकमा ६४ प्रतिशत पूरा भएको छ ।

आयोजनाको पहिले तोकिएको अवधि सकिएको छ वर्ष नाघीसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने (रेखाङ्कन)मा नै अन्योल छ । पहिले बूढीगण्डकी नदीको नजिकै सडकको रेखाङ्कन रहेको भने ऊर्जा तथा जलस्रोत मन्त्रालयले सो स्थानमा जलाशययुक्त आयोजना निर्माण गर्ने योजना बनाएका कारण अझै अन्योल भएको आयोजनाका सूचना अधिकारी सुरज अधिकारीले बताउनुभयो ।

केही समय पहिलेसम्म कास्कीमा पनि रेखाङ्कनको अन्योल भए पनि अहिले त्यो समाधान भइसकेको उहाँको भनाइ छ । आयोजनाअन्तर्गत झण्डैै चार सय १५ किमी सडक निर्माण र २५ पुल निर्माण गर्न बाँकी रहेको उहाँको भनाइ छ । त्यसमध्ये पनि दुई सय पाँच किमी सडक र १९ पुल निर्माणका लागि ठेक्का सम्झौता हुन बाँकी छ ।

चालु आर्थिक वर्षमा मात्रै तीन सय ५७ किमी सडक कालोपत्र, १८ पुल निर्माण र एक सय ३४ दशमलव पाँच किमी सडक निर्माणका लागि ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाले जनाएको छ । पछिल्लो पटक थप भएको अवधि चालु आवको अन्तिमसम्म भए पनि त्यो अवधिसम्म ठेक्का भइसक्नसमेत कठिन देखिएको छ ।

मन्त्रिपरिषद्को निर्णयबाट कास्कीमा पर्ने एउटा खण्डमा रेखाङ्कन परिवर्तन भएको छ । भैँसे-ज्याम्दु-मेलबोट-पानीघाट-आन्टीघर-अर्मलाकोट=काली खोला पुल-अमला बिसौनी-लामाचौर-जौबारी-याम्दी पुल खण्डमा सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । सो खण्डको लम्बाइ ३८ किमी छ ।

बूढीगण्डकीमा जलाशययुक्त आयोजना अझै सात/आठ वर्ष नबन्ने भएकाले सडक अघि बढाउनु भनी ऊर्जा मन्त्रालयले पत्र पठाएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । ठेक्का लगाउन बाँकी खण्डमा पनि सडक निर्माणका लागि प्रक्रिया अघि बढाइरहेको छ । कास्कीमा ठेक्का सकिएर मूल्याङ्कनका क्रममा छ भने सिन्धुपाल्चोकको बाहुनेपाटी ठेक्का अघि बढाइएको उहाँले बताउनुभयो ।

राजमार्गको दुई खण्डमा पहिले ग्राभेलको ठेक्का सम्पन्न नभएकाले पनि कालोपत्रका लागि ठेक्का गर्न नसकिएको सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो । दोलालघाट नेपालथोकको खण्डमा ग्राभेलको ठेक्का चालू रहेकाले त्यो सकिएपछि नै नयाँ ठेक्कामा जान सकिनेछ ।

अझै पनि वनको समस्या धेरै खण्डमा रहेको आयोजनाले जनाएको छ । रुख काट्नका लागि पहिले वातावरणीय अध्ययन स्वीकृत गर्नुपर्छ र पछि त्यो खण्डमा काम गर्दा रुख काट्नका लागि छुट्टै फाइल उठेर मन्त्रालय गएर त्यहाँबाट मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।

पहिले वातावरणीय अध्ययन स्वीकृत गरेर काम सुरु गर्ने तर जङ्गल क्षेत्रमा पुगेपछि पुनः काट्नका लागि अनुमति लिनुपर्ने उहाँको भनाइ छ । अहिले गोरखाका धेरै खण्ड, लमजुङ र नुवाकोटमा बनका कारण ढिलाइ भइरहेको उहाँले बताउनुभयो

आयोजनामा निर्माण सामग्री उत्खननमा विवाद, मुआब्जा विवाद र सडक सीमा कायम नहुनु पनि समस्याका रुपमा रहेको आयोजनाले जनाएको छ । सरकारले घर तथा, टहराको मात्रै क्षतिपूर्ति दिन्छ तर जग्गाको दिँदैन । कतिपय ठाउँमा नजिकैमा वैदेशिक लगानीका आयोजनामा जग्गाकोसमेत क्षतिपूर्ति दिने भएकाले स्थानीयवासीले माग गर्ने गरेको अधिकारीले बताउनुभयो ।

आव २०६४/६५ मा सुरु भएको सडक आव २०७३/७४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । त्यस यता पटकपटक अवधि थप हुँदै आएको छ । पछिल्लो पटक आगामी असार मसान्तसम्मका लागि अवधि थप भएको छ ।

राष्ट्रिय यातायात नीति २०५८ मा पूर्व-पश्चिम राजमार्गको विकल्पका रुपमा मध्य पहाडबाट अर्काे राजमार्ग निर्माण गर्ने उल्लेख थियो । सोहीबमोजिम सरकारले मध्यपहाड (पुष्पलाल राजमार्ग नामकरण गरी विसं २०६४/६५ देखि आयोजना कार्यान्वयन सुरु गरेको हो ।

सरकारले विसं २०६५ फागुन २६ गते रेखाङ्कन स्वीकृत गरेको थियो । मध्य पहाडका २६ जिल्लालाई जोड्ने सो राजमार्गले दुई सय १५ बस्ती जोड्ने र झण्डै एक करोड मानिस लाभन्वित हुने अनुमान गरिएको छ ।

सरकारले आव २०६७/६८ देखि पूर्वी र पश्चिमी खण्डमा विभाजन गरी आयोजना निर्माण अघि बढाएको थियो भने हाल पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयअन्तर्गत पाँच योजना कार्यालय छन् ।

पहिले पूर्वी र पश्चिमी खण्डमा बिभाजन गरी आयोजना निर्माण अघि बढाएको थियो भने हाल पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयअन्तर्गत पाँच योजना कार्यालय रहेका छन् ।

पूर्वको पाँचथरको चियो भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको छ । यसको निर्माण सम्पन्न हुँदा मध्यपहाडका नागरिकको जीवन सहज हुने, नयाँ सहर निर्माण हुने र पूर्व-पश्चिम राजमार्गको चाप कम हुने अनुमान गरिएको छ । सरकारले आव २०६९/७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।