फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

रेसुङ्गा, २२ मङ्सिर (रासस)ः गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन ।

राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम रु दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौँका इञ्जीनियर पृथ्वीबहादुर शाहीले जानकारी दिनुभयो । बुल्मचौरलाई एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइले रङ्गशालाको रूप दिएको छ । दोस्रो चरणमा रु एक करोड ५० लाख लागतमा भवन, प्यारापिट निर्माण, रङ्गशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इञ्जीनियर शाहीले बताउनुभयो ।

पहिलो चरणमा गरिएका काम भत्कँदै जाने र दोस्रो चरणको काम समयमै सुरु नहुने कारणले गर्दा रङ्गशाला निर्माण हुने स्थानका स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । रङ्गशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

स्थानीय ओमबहादुर कुमालले तीन वर्षदेखि रङ्गशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताउनुभयो । “राम्रै चौर थियो गाईभैँसी चराउन भएकै थियो, दशैँमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो”, ६६ वर्षीय ओमबहादुर भन्नुहुन्छ, “रङ्गशाला बन्दा खुसी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौँ”, उहाँले भन्नुभयो ।

सोही स्थानका बेदुमाया कुमाल पनि रङ्गशाला नबन्ने पिरलोमा हुनुहुुन्छ । रङ्गशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा विस्तारै निराशामा परिणत भएको उहाँले बताउनुभयो । सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदाहुँदैको चौरलाई रङ्गशालाको नाममा त्यसै छोड्न नहुने बताउनुहुन्छ ।

राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताउनुभयो । “सरकारले लगानी गरेपछि त रेखदेख गर्ने व्यक्ति हुनुपर्ने हो”, उहाँ भन्नुहुन्छ, “बेवारिसे अवस्थामा रङ्गशाला हुँदा भएको संरचना पनि भत्किन थाले”, उहाँले भन्नुभयो । रङ्गशाला निर्माण सम्पन्न भइसक्दा रु एक अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो । पन्ध्र हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने गरी चरण–चरणमा काम सुरु भएको हो ।

रङ्गशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका तीन सय २५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताउनुभयो । यस क्षेत्रमा कुमाल समुदायको बाहुल्यता छ ।

जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले राष्ट्रिय खेलकुद परिषद्मार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरूले केही गर्न नमिल्ने बताउनुभयो । आफ्नो मातहतमा नभए पनि समय–समयमा रङ्गशालाको रेखदेख गर्ने गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरीकन रङ्गशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । आफू निर्वाचित भएर आएपछि बुझ्दा अब रङ्गशालामा बजेट नआउने भएकाले रङ्गशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।