मध्यपहाडी लोकमार्ग विस्तारले घरबारविहीन हुने भन्दै आन्दोलन

तेह्रथुम, २९ पुस । तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको वसन्तपुर बजारमा मध्यपहाडी लोकमार्ग विस्तार गर्दा घर घडेरी क्षति हुँदा उठीबास हुने भन्दै बजारबासीले विरोध गर्दै आन्दोलन गरेका छन । पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै बसन्तपुर बजारबासीले आन्दोलन गरेर विरोध जनाएका हुन् ।

बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरुले बसोबास गरिरहेको घरघडेरीमा क्षति पुग्ने भन्दै बजारबासीले लोकमार्ग अन्यत्रबाट लैजान माग गर्दै आन्दोलन गरेका हुन् ।  नेपाल भारत सीमा पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने पहाडैपहाड भएर निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणको काम म्याङलुङ हुँदै बसन्तपुर बजारसम्म आइपुगेको छ । बजार क्षेत्र प्रवेश गर्ने चरणमा रहेको लोकमार्गको सर्भेको काम सम्पन्न भएर प्रारम्भिक वातावरणीय अध्ययनको काम सुरु गर्ने तयारी भइरहेका बेला केही बजारबासीले विरोध जनाएर प्रदर्शन गरेका हुन् । बीच बजारबाट लोकमार्ग निर्माण हुँदा यसअघि निर्माण भइसकेका घर भत्काउनुपर्ने अवस्था आउने र आफूहरु घरवारविहीन हुने भन्दै बजारबासीले लोकमार्ग निर्माणस्थलको विकल्प खोजी गर्नुपर्ने स्थानीय कृष्ण बस्नेतले बताए ।

बीच बजारबाट लोकमार्ग निर्माण हुँदा मुख्य चोकको घर भत्काउनुपर्ने र आफूहरुको धेरै नोक्सान हुने विरोधमा उत्रिएका स्थानीय चुडामणि अधिकारीले बताए । लोकमार्ग बजार क्षेत्रभन्दा दायाँबायाँ गरेर निर्माण गर्नुपर्ने माग आफूहरुको रहेको अधिकारीको भनाइ छ । बीच बजारबाट लोकमार्ग विस्तार भएर बजार क्षेत्रका एक सय बढी घरको अगाडिको भाग काट्नुपर्ने विरोधमा उत्रिएका स्थानीयको दाबी छ ।

बजारबासीले लोकमार्ग विस्तार गर्दा बजार क्षेत्रका घरमा क्षति नपु¥याई विस्तार गर्नुपर्ने वा हाल कायम रहेको सडकलाई नै प्रयोगमा ल्याउनुपर्ने आफूहरुको माग रहेको उद्योग वणिज्य संघ उपशाखाका अध्यक्षसमेत रहेको स्थानीय रोशन सुवेदीले वताए । बजार क्षेत्रभित्र कति मिटर सडक कायम हुने भन्ने आधिकारिक जानकारीसमेत आफूहरुलाई लोकमार्ग आयोजना पक्षले नदिएको स्थानीयको महेन्द्र गुरुङको भनाइ छ ।

पुष्पलाल (मध्यपहाडी लोकमार्ग) योजना कार्यालय पाँचथरले भने यसअघि नै सम्वन्धित क्षेत्रका प्रभावित बासिन्दा र जनप्रतिनिधिसँग पटकपटक छलफल गरेर काम अघि बढाएको जनाएको छ । योजना प्रमुख अर्जुनकुमार बमले बजार क्षेत्रको छोटो दूरीमा मात्र केही घरमा न्यून क्षति पुग्ने र त्यसका लागि योजना कार्यालयले क्षतिपूर्तिको व्यवस्था पनि गरेको बताए । योजना प्रमुख बमका अनुसार बजार क्षेत्रमा ११ देखि १२ मिटरको चौडा सडक हुनेछ । यसअघि वजार क्षेत्रमा निर्माण भएको अधिकांश सडक ९ देखी १० मिटरसम्मको रहेको र थोरै मात्र सडक विस्तार गर्दा हालका लागि सडक पुग्ने योजना प्रमुख बमले बताए । स्थानीयको मागअनुसार लोकमार्ग अन्यत्र स्थानबाट लैजान सम्भव नहुने र बीच बजारबाटै जाने बमको भनाइ छ ।

बसन्तपुर सरकारले पहाडबाट तराई र सुविधा सम्पन्न स्थानमा हुने बसाई सराई रोक्ने उद्देश्यले घोषणा गरेको नयाँ सहरसमेत हो । बसन्तपुरमै नयाँ सहर आयोजना कार्यालय स्थापना भएर पूर्वाधार निर्माणको कामसमेत भइरहेको छ । लोकमार्ग योजना कार्यालयले बजार र सडक चौडा हुने स्थानको प्रारम्भिक वातावरणीय अध्ययनका लागि फिल्ड सर्भेको कामसमेत थालेको छ । योजना कार्यालयले त्यसका लागि छिन्नमस्ता मल्टी इन्जिनियरिङ सोलुसन प्रालिसँग सम्झौता गरेको छ । प्रालिले बिहीबारबाट काम पनि सुरु गरेको प्रतिनिधि चिरञ्जिवी काफ्लेले बताए । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।