आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना

रुपन्देही, २ माघ (रासस)ः आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो । उनानतीस वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उहाँलाई भ्याइनभ्याइ थियो । सोमबार बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउन खिमिसरा बिहानैदेखि सेलरोटी पकाउन व्यस्त हुनुहुन्थ्यो ।

सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडबाडका बेलामा पनि घर आउन नभ्याएपछि सोमबार कोसेली लिएर बुहारी सरस्वती काठमाडौँमै पुग्ने तयारीमा हुनुहुन्थ्यो । सिर्जनाको आइतबार दुईवठा हवाइउडानका लागि पालो परेको थियो । बिहान साढे १० बजे काठमाडौँदेखि यतिएयरलाइन्सको एटिआर ७२ जहाजमा पोखरा उडान भर्ने र आइतबारै पोखराबाट काठमाडौँ फर्किएपछि भद्रपुर जाने तालिकाउहाँले शनिबार फोनमा आमा खिमिसरालाई बताउनुभएको थियो ।
माघे सङ्क्रान्तिका दिन रूपन्देहीमा बिहानैदेखि शीतलहर चलेको थियो । अघिल्लो दिन घाम लागे पनि त्यस दिन निकै चिसो र बाक्लो हुस्सु लागेको थियो । यत्तिकैमा बिहान ११ः३० बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो । पछि यति एयरकै जहाज खसेको थाहा पाएपछि उहाँलाई पत्याउन कर लाग्यो र सैनामैना नगरपालिका–५ बुद्धनगरमा रहेको सिर्जनाको घरमा पनि रुवावासी सुरु भयो । सिर्जनाका छिमेकी जम्मा हुनथाले सिङ्गो गाउँ नै शोकमा परिणत भयो ।

एक दिन अगाडि फोनमा छोरीसँग घण्टौँ कुरा गर्नुभए खिमिसरालाई त्यो घटना सुरुमा विश्वास गर्न गाह्रो भयो तर केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नामसहित विवरण आउन थालेपछि खिमिसरालाई पत्याउन कर लाग्यो । घटनापछि उहाँको घरमा छिमेकी जम्मा भए । “हिजो फोनमा कुरा गर्दा अलि धेरै बटुक र रोटी पठाइदिनु है ममी भनेकी थिई, आज यस्तो भयो” खिमिसराले भक्कानिँदै भन्नुभयो । ‘बटुक धेरै मनपर्छ, अलि धेरै पठाइदिनु है मम्मी’ भन्ने वाक्य खिमिसराको मनमा अझै गडेर बसेको छ ।

भारतीय सेनाबाट अवकाश प्राप्त बुबा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका साथै तीन छोरा छन् । उनको निधनपछि सैनामैनामा शोकमा रहेका आफन्त, छिमेकी र स्थानीय जनप्रतिनिधिले खिमिसरा र परिवारका अन्य सदस्यलाई सान्त्वना दिने काम गरिरहेको वडाध्यक्ष धनप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्लस–टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीमा अध्ययनरत सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक तहसम्म अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गर्नुभएको थियो । आइतबार बिहान १०ः३२ मा काठमाडौँबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो । विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।
––––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।