आ’त्मदा’ह गरेका आचार्यका परिवारले भेटेर गृहमन्त्री लामिछानेले मागे क्षमा
काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आ’त्मदा’ह गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका छन् ।
नयाँबानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आफ्नो शरीरमा आ’गो लगाएका प्रेमप्रसादको बुधबार निधन भएको छ । उपचारका लागि उनलाई लगिएको कीर्तिपुरस्थित अस्पतालमा पुगेर गृहमन्त्री लामिछानेले मृ’तक आचार्यको परिवारका सदस्यलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका हुन् ।
उनले मृ’तक प्रेमप्रसादले उठाएका विषयमाथि छानबिन आश्वासन पनि दिएका छन् । मृतकको आफन्तलाई भेट्नुअघि बुधबार बिहान सामाजिक सञ्जालमार्फत उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका थिए ।
आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसक्नुमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेले भनेका थिए ।
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
मकवानपुर, ११ माघ (रासस):बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आठ मन्त्री नियुक्त गर्दै मौजुदा तीन सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो ।
नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, डम्बरबहादुर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु बिष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
विना विभागीय मत्री उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यभार तोकिएकामा यसअघिनै जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार तोकिएको थियो ।
सपथग्रहण समारोहमा मुख्यमन्त्री जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री थपलिया र विना विभागीयमन्त्री थापा पनि उपस्थित हुनुहुन्थ्यो ।
गत पुस २६ गते मुख्यमन्त्री जमकट्टेलको नेतृत्वमा तीन सदस्यीय मन्त्री मन्त्रिपरिषद् गठन गरिएको थियो । नवनियुक्त मन्त्रीहरुले आजै आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्नुभएको बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।


