थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
काठमाडौँ, २३ माघ (रासस) :राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उहाँहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिशमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार आफ्नो पार्टीकोतर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएको थियो । सो पार्टीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल सहभागी हुनुहुन्थ्यो । उहाँहरुले आफ्नो पदबाट राजीनामा दिनुभएपछि ती मन्त्रालयको नेतृत्व खाली भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले आइतबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको थियो ।
पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयनमा पर्न सफल
काठमाडौँ, २३ माघ (रासस):
नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन् । क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी मनोनयनमा परेको मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उक्त मनोनयनमध्ये विजेता खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । मनोनयनमा परेका आशिफ शेखले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु खेलमा नै अविजित अर्धशतक बनाएका थिए । उनले नेदरल्याण्डविरुद्धको खेलमा कुशल भुर्तेसँग ११६ रनको साझेदारी गरेका थिए जुन नेपालको ओपनिङमा उच्च साझेदारी थियो ।
त्यस्तै शेखले सन् २०२३ मा आइसिसीको स्पिरिट अफ क्रिकेट अवार्ड जिते । उक्त अवार्ड पाउने उनी नेपालको पहिलो खेलाडी हुन् । त्यसैगरी त्रिभुवन आर्मी क्लबमा आवद्ध टेनिसकी अभिलाषाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार स्वर्ण जित्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन् । उनी प्रोफेसनल टेनिस खेल्ने नेपालकी एकमात्र महिला खेलाडी हुन् ।
भलिबलकी उषा सम्मिलित टोलीले नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेको थियो । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।
नेपाल सन् २०१९ मा बङ्गलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले उपाधि जित्दा उषा टोलीको सदस्य थिइन् । पौडीकी डुवानाले पोखरामा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नौ स्वर्ण र एक रजत पदक प्राप्त गरेकी थिइन् । विगत २०६४ सालदेखि उनले पौडीमा निरन्तर सक्रिय सहभागिता जनाउँदै आएकी छिन् ।
फुटबलका अन्जन राष्ट्रिय टोलीबाट ११ गोल गर्न सफल भएका थिए । सर्वाधिक गोलकर्ताको दौडमा उनी तेस्रो स्थानमा छन् । अन्जनभन्दा अगाडि नीराजन रायमाझी र हरि खड्का छन् । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङका आधारबाट चुनिने छन् ।
आगामी फागुन २३ गते हुने उक्त १९औँ संस्कारणको पल्सर स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा सम्मान गरिनेछ । जसमा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड छन् ।


