पाथीभरामा ब’लि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग

सन्तोष पुर्कुटी/ताप्लेजुङ, १ चैत (रासस) : यहाँको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउने गर्दथे । मन्दिरका पुजारी डिल्ली आचार्यका अनुसार बडा दसैँ र रामनवमीका बेलामा स्वदेश तथा विदेशबाट आएका भक्तजनले पशु बलि चढाउने गर्दछन् । उक्त समयमा पाँच सयदेखि एक हजार बढी पशुको बलि चढाइन्थ्योे ।

अहिले यो चलन बिस्तारै घट्दै गएकाले हिजोआज निकै कम पशु बलि दिने गरिएको उहाँले बताउनुभयो । “पहिला चाडबाडका बेला प्रत्येक दिन पाँच सयदेखि एक हजार दुई सयसम्म बलि चढाइन्थ्यो, तर अहिले बढीमा १५–२० वटा मात्र बलि चढाइन्छन् । पशु बलिको विकल्पका रुपमा भक्तजनले नरिवल फुटाएर पूजा गर्नाका साथै फलफूल चढाउने, लाखबत्ती बाल्ने चलन बढेको छ”, आचार्यले भन्नुभयो । बलि चढाउँदा पशुका रगतले मन्दिर परिसर राताम्य हुने गरेकामा पछिल्लो समय सफा र सुन्दर देखिन्छ । रगतका कारण हुने फोहर र दुर्गन्धमा कमी हुनाका साथै मन्दिर वरपर सफा र सुन्दर देखिन थालेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

पछिल्लो समय प्राणीको हत्या नगरेर पनि धर्म हुन्छ भन्ने चेतनाको विकास भएकाले बलि प्रथा हराउँदै गएको पाथीभरा दर्शनमा आउनुभएका झापा निवासी विष्णुप्रसाद आचार्यले बताउनुभयो । उहाँले धर्मले प्रेम, सद्भाव र पुण्यको सन्देश दिने भन्दै धर्मका नाममा हुने बलि प्रथा पूर्णरुपले निर्मूल हुनुपर्नेमा जोड दिनुभयो । समाजमा धर्मका नाम हुने हत्या गलत भएको आवाज उठ्न थालेकाले यो प्रथा बिस्तारै कम हुँदै गएको मन्दिर दर्शनका लागि आउने भक्तजनको भनाइ छ ।

यस क्षेत्रमा बलिप्रथा न्यून हुँदै जाँदा मन्दिर क्षेत्रमा छाडा कुकुर जाने र फोहर गर्ने क्रम पनि घटेको छ । रेडपान्डाको बासस्थान मानिएको पाथीभरा क्षेत्रमा छाडा कुकुरको आक्रमणमा रेडपान्डा पर्ने गरेका थिए । अहिले छाडा कुकुर केही घट्नुका साथै भएका कुकुरलाई पनि नियन्त्रणमा राखिएकाले रेडपान्डा आक्रमण हुनबाट जोगिएको र त्यसको संरक्षण हुन थालेको रेडपान्डा संरक्षणको क्षेत्रमा काम गर्दै आउनुभएका रमेश राईले बताउनुभयो ।

“बलि चढाएका पाठापाठीको मासु प्रशस्त हुने भएकाले गाउँघरबाट अत्यधिक कुकुर त्यहाँ पुग्ने र रेडपान्डालाई आक्रमण गर्ने गर्दथे । अहिले यो क्रम केही मात्रामा भए पनि रोकिएको छ”, उहाँले भन्नुभयो । मन्दिर वरपर र बाटो क्षेत्रमा जथाभावी फालिएका फोहोर तथा खाना खाएर जताततै फालिने मासुजन्य फोहरका कारण कुकुर पाथीभरा क्षेत्र जान पल्किने गरेकामा अहिले बलि दिने क्रम घटेसँगै मन्दिर आसपासका क्षेत्र सफा देखिन थालेका राईले बताउनुभयो । “बलिका नाममा निर्मम पशु हत्या घट्नाले पाथीभराको सुन्दरता मात्रै बढेको छैन, स्थानीयस्तरमा पाइने वन्यजन्तुको समेत संरक्षण भएको छ”, उहाँले भन्नुभयो ।

महाकाली, भद्रकाली, सिद्धकाली, श्वेतकाली र रक्तकाली यी पाँच रूप भएकी देवीलाई पञ्चकन्या भगवती देवीका रूपमा पूजा गरिन्छ । पाथीभरामा बडा दसैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने परम्परा छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्ने जनविस्वास रहिआएको छ ।

दर्शनार्थीमा बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य भने नभएको मन्दिरका मन्दिरका पुजारी डिल्ली आचार्यले बताउनुभयो । उहाँले यहाँ पूजा गर्ने कुनै लिखित पद्धति नभए पनि परम्परा नै बसेको जानकारी दिनुभयो । पुजारी आचार्यका अनुसार मन्दिरमा पूजा गर्ने दुई पद्धतिमध्ये एउटा भगवतीको पूजासहित चण्डी पाठ र हवन गर्ने शास्त्रीय पद्धति र अर्को बलि दिएर पूजा गर्ने गरिन्छ । पाथीभरा मन्दिरको महत्व, आस्था र विश्वासका कारण यहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।