डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई
ताप्लेजुङ, २५ चैत (रासस) : ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे ।
प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भए । उनले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ सेकेण्डमा पूरा गरे ।फक्ताङलुङकै छत्रबहादुर कार्की तेस्रो भए । उनले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गरे । प्रतियोगितामा एक महिलासहित ३२ जनाले सहभागीता जनाएका थिए ।
फुङलिङस्थित पुरानो बैंकबाट सुकेटार आसपासको सानो पाथीभरा मन्दिरसम्मको १३ किलोमिटरको दूरी सहभागीले १५ किलो बालुवासहितको भारी डोकोमा बोकेर दौडेर पूरा गरेका थिए । प्रतियोगितामा पहिलो हुनेलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार तथा तेस्रो हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए ।
झापा, २५ चैत (रासस) :
सडक बन्यो, पुल बनेन
धुलाबारी–भद्रपुर सडकखण्ड कालोपत्र भए पनि हडिया खोलाको पुल भने पुरानो र जीर्ण छ । नवनिर्मित सडक सात मिटर चौडाइ र नौ किलोमिटर लम्बाइको छ ।
पूर्वी नाकाबाट भद्रपुर विमानस्थल जान छोटो दूरीको फराकिलो दुई लेनको सडकमा कालोपत्र गर्ने कार्य भर्खरै सकिएको छ । सोही सडकखण्डकै बीचमा रहेको हडिया खोलामा १८ वर्षअघि बनेको पुल भने साँघुरो र जीर्ण छ । ज्यामिरगढी र भद्रपुरको बीचमा रहेको हडिया खोलामा १८ वर्षअघि सडक डिभिजन कार्यालय दमकले पुल निर्माण गरेको थियो ।
सो पुलमा लगाइएको रेलिङ भत्किएको छ भने पुलको भद्रपुरतर्फको भागमा भ्वाङ परेको छ । दुई लेनको सडकमा एक लेनको साँघुरो पुल असुविधाजनक छ । भौतिक पूर्वाधार कार्यालय भद्रपुरका इञ्जिनियर उत्तम खरेलले दुई दिनअघि मात्र सडकको कालोपत्र गर्ने कार्य सकिएको जानकारी दिँदै भन्नुभयो, “सडकसँगै पुल पनि फराकिलो चाहिन्छ, यस विषयमा छलफल चलिरहेको छ ।”
सडकसँगै नयाँ पुल बनाउनुपर्र्नेे स्थानीय कमल राजवंशीले माग गर्नुभयो । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पुल बनाउन बजेट व्यवस्थाका लागि आश्वासन दिनुभएको इन्जिनियर खरेलले बताउनुभयो । बजेटको व्यवस्था भयो भने अर्को आर्थिक वर्षभित्र पुल बनाउन सकिने उहाँले बताउनुभयो ।
–––


