पाख्रीबासमा महिलाहरुका लागि दुना-टपरी बनाउने मेशिन वितरण
धनकुटा । धनकुटाको पाख्रीवास नगरापलिका वडा नं ८ बैकुण्ठेका महिलाहरुका लागि दुनाटपरी बनाउने मेशिन प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० मा वडा कार्यलयबाट विनियोजित २ लाख बजेट मार्फत मेशिन खरिद गरि महिला दिदीवहिनीहरुलाई वितरण गरिएको वडा कार्यलयले जनाएको छ ।
महिला दिदीवहिनीहरुको सीपलाई स्वरोजगारमुखी बनाउदै उत्पादन र आयआर्जन सँग जोड्ने लक्षका साथ मेशिन वितरण गरिएको वडाध्यक्ष गणेश राईको भनाई छ ।
महिला सीप बिकास तथा आर्थिक बिकास महिला लक्षित कार्यक्रम अन्तरगत मेशिन वितरण गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।यसले महिला दिदीवहिनीहरुको सीपलाई आय आर्जन सँग जोड्ने,जंगलमा त्यतिकै खेर जाने सखुवा (साल)को पातको उपयोगिता बढ्ने वडाको अपेक्षा छ । सो मेशिन आज नगर प्रमुख ज्ञानबहादुर गुरुङ उपप्रमुख नम्रता देउजा, वडाध्यक्ष राई लगायतले महिला दिदीवहिनीहरुलाई हस्तान्तरण गरेका हुन् ।
मेशिन पाएपछि आफुहरुलाई खुशी लागेको वडा नं ८ की भिमा सुवेदीले बताउनुभयो । यसअघि हातले दुनाटपरी गाँस्दै आएकोमा अब मेशिन पाएसँगै मेशिनले बुन्ने भएपछि आफुहरुलाई सजिलो र छिटो पनि हुने सुवेदीको भनाई छ ।
महिला दिदीवहिनीहरुले उत्पादन गरेको दुनाटपरी विक्रीवितरणका लागि वडा र नगरले भुमीका खेल्ने नगर प्रमुख गुरुङले बताउनु भएको छ ।


