पहिचानको आन्दोलन थप सशक्त ढंगले अघि बढ्ने : प्रा.डा महेन्द्र लावती
धनकुटा । संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रा.डा महेन्द्र लावतीले पहिचानको आन्दोलन थप सशक्त ढंगले अघि बढ्ने बताउनु भएको छ । आज धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
संघियता,पहिचान र समृद्धी विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अहिलेसम्म कुनैपनि राजनीतिक आन्दोलनहरु वर्खाको समयमा नभएको तर पहिचानको आन्दोलन भने अहिले पनि भईनै रहेको उल्लेख गर्दै हिउद लागेपछि झन आन्दोलन सशक्त हुने बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,निवर्तमान कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्की र माओवादीले पहिचानको विषयमा बोल्ने कोही छैन भन्ने सोचले प्रदेशको नामांकरण गरेको भन्दै उहाँले उनिहरु यो विषयले नराम्रो सँग चिप्लिएको टिप्पणी गर्नुभयो ।
उहाँले अहिले कतिपय राजनीतिक दल र नेताहरुले संघियताको विरोध गरिरहेको भएपनि देशको विकास र समृद्धीका लागि संघियता आवश्यक रहेको वताउनुभयो । संघिय प्रणालीमा देशको विकास हुन प्रदेश प्रदेश बीच प्रतिष्पर्धा आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।
उहाँले स्वीजरल्याण्डको उदाहरण दिदै विकासका लागि नेपालमा पनि स-साना प्रान्तहरु हुनुपर्ने बताउनुभयो । प्रान्तहरु भए सबैको अधिकार सुनिश्चित हुने भन्दै उहाँले सम्पूर्णलाई पहिचानको आन्दोलमा लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा किरात प्रदेश घोषण संघर्ष समितिका पदाधिकारी सहित विभिन्न पहिचानवादी पार्टी, संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती थियो ।


