शिक्षण संस्थामा राजनीतिक भागबन्डाको असर

काठमाडौं, साउन ३ । शिक्षण संस्था विशेषगरी विश्वविद्यालयमा पदाधिकारीहरूको पार्टीगत कोटाका आधारमा गरिने नियुक्तिले शिक्षक तथा प्राध्यापकहरूले कुनै न कुनै राजनीतिक दल समात्नुपर्ने बाध्यता खडा गरेको छ। राजनीतिबाट टाढा बस्नुपर्ने तथा तटस्थ निर्णय गर्नुपर्ने, देशको काल परिस्थिति तथा आवश्यकतालाई ध्यानमा राखेर आउँदो पुस्ता तयार गर्नुपर्ने जिम्मेवारी लिएका शिक्षक र प्राध्यापक राजनीतिक दलको ठेकेदारका रूपमा देखिएका छन् ।

विशेषगरी उच्च शिक्षा त्यसमा पनि प्राविधिक शिक्षालय तथा विश्वविद्यालयमा जहिलेदेखि राजनीतिक भागबन्डा सुरु भयो त्यसबेलादेखि शिक्षण संस्थाको अवस्था धरापमा पुगेको छ । बुद्धिजीवी समाज सिर्जना गर्ने दायित्व बोकेको विश्वविद्यालय पार्टीको कार्यकर्ता तयार गर्न तल्लीन भएको देख्न सकिन्छ।

यसको मुख्य कारण विश्वविद्यालयलाई तटस्थरूपमा अगाडि बढाउनका लागि असल, योग्य तथा दीर्घकालीन दृष्टि भएको नेतृत्व चयन नहुनु हो । विश्वविद्यालयमा पदासीन व्यक्तिहरूले आफ्ना योजना तथा दृष्टि प्रस्तुत नगरी कुनै राजनीतिक दलको आडमा चाकरीबाज गरी पाएको पद जोगाउनका लागि पनि नीतिगत र प्राविधिकरूपले गलत कदम तथा निर्णय लिइरहेका देखिन्छ । यस्तो प्रणालीबाट हुर्किएका युवा पुस्तालाई आफ्नो योग्यताले अगाडि बढ्न सकिँदैन, कसैको आशीर्वाद पाए मात्र माथि जान सकिन्छ भन्ने कुरा व्यवहारले जानेर वा नजानेर विद्यार्थीलाई विश्वविद्यालयले सिकाउँदै आएको छ।

विद्यार्थी भर्ना, विद्यार्थीको चुनाव तथा अधिवेशनका बेला सरकारी क्याम्पसहरूमा राजनीतिक दलहरूले अनेक प्रलोभन देखाइ विद्यार्थीलाई गलत आश्वासन दिइ पार्टीमा प्रवेश गराइरहेको सहजै देख्न सकिन्छ । सिद्धान्तको जानकारीविना विभिन्न पार्टीमा युवा पुस्ता विशेषगरी विद्यार्थी परिचालन गर्नु देशलाई ठूलो दुर्घटनातर्फ लैजानु हो । कुनै सिद्धान्तबिना सुरु भएको विद्यार्थी राजनीतिदेखि उच्च पदसम्म पुग्दा सिकाइएका गलत प्रवृति आज देशका लागि गलत सावित भएको छ । कुनै पनि ऐन, कानुन, नीति, नियम, उपनियम, निर्देशिका, योजना तथा कार्यक्रम बनाउँदा व्यक्ति वा पार्टीलाई केन्द्रमा राखी थुप्रै निर्णयहरू राजनीतिक दलले लिँदै आएका छन्।

यसरी देशका लागि निर्णय लिँदा फेरि पनि अराजकतामा पोख्त, सिद्धान्तबिहीन राजनीति गर्ने सम्बन्धित विषयमा दख्खल नभएको, विद्यार्थीकालमा कहिल्यै शिक्षामा ध्यान नदिएका, दल र बलको धम्कीले उत्तिर्ण भएका व्यक्तिहरूले विज्ञ परामर्शदाताको रूपमा काम पाउँदै आएका छन् । त्यसैले त देशमा दीर्घकालीन फाइदा पुग्ने भन्दा पनि आफूलाई सो काम सुम्पेको दल तथा व्यक्तिहरूको तत्कालीन फाइदाका लागि योजना बन्दै आएको छ ।

यसले प्राविधिकरूपमा प्रष्ट, विषयमा दख्ख्ल राख्ने, देशको हितका लागि योजना बुन्न सक्ने क्षमतावान व्यक्तिहरू आफ्नो क्षमता पूर्णरूपमा प्रस्तुत गर्न नसकेकै कारण तथा अवसरहरूबाट वञ्चित हुँदा निरुत्साहित भई देश तथा कर्मथलो छाड्न बाध्य भएका छन्। नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।