नेपालले भारत र पाकिस्तानविरुद्ध खेल्नुअघि सुधार्नुपर्ने पाँच कमजोरी

काठमाडौं ,नेपालले अर्को महिना विश्व क्रिकेटका दुई शक्तिशाली देश भारत र पाकिस्तानसँग खेल्दैछ । एसिया कपमा भारत र पाकिस्तानसँग भेट नेपालको लागि विश्वकप भन्दा कम हुने छैन । भारत र पाकिस्तान नेपालले आफ्नो क्रिकेट इतिहासमा खेल्ने सबैभन्दा माथिल्लो स्तरका टोली हुनेछन् ।

एसिया कपमा नेपालले दुई फरक देशमा गएर खेल्नुपर्ने हुन्छ । नेपालले पहिलो खेल अगष्ट ३० मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भारतविरुद्ध श्रीलंकाको क्यान्डीमा ४ अगष्टमा खेल्नेछ ।

भारत र पाकिस्तानसँगको खेल नेपालको लागि सिक्ने सबैभन्दा ठूलो अवसर हुन् । स्तरको हिसाबमा नेपालको लागि जितको सम्भावना कल्पना बाहिर हुनेछ । यी दुई देशविरुद्ध सिकाई र आफ्नो क्रिकेट विश्वलाई देखाउने पहिलो प्राथमिकतामा हुनेछ ।

नेपाल आफ्नो उत्कृष्ट क्रिकेट विश्वलाई देखाउन चाहन्छ । विश्वका दुई पावर हाउससँग खेल्ने हुँदा भारत र पाकिस्तानसँग नेपालको प्रदर्शन धेरैले हेर्ने छन् ।

यी दुई देशविरुद्ध राम्रो प्रदर्शन गर्न सके नेपाली खेलाडीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) देखी विश्वका चर्चित लिगहरु खेल्ने अवसरका ढोकाहरु खुल्न सक्छन् ।

नेपालले आफ्नो उत्कृष्ट क्रिकेट देखाउन भने कमजोरीहरुमा धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । पछिल्लो एक महिनामा नेपालले आइसिसी विश्वकप छनोट र एसिसी इमर्जिङ कप खेलेको छ ।

यी दुई प्रतियोगिताबाट नेपालको कमजोरी थप प्रष्ट भएको छ । कमजोरी सुधार नगरे भारत र पाकिस्तानसँग संघर्ष गर्ने अनुमान गर्न कठिन छैन ।

नेपालले आफ्नो कमजोरीमा सुधार गर्न आवश्यक देखिन्छ । उक्त खेल खेल्न एक महिना भन्दा बढी समय समय छ । त्यसैले नेपालले आफ्नो कमजोरीहरुमा राम्रोसँग काम गर्न सक्छ । नेपालले यी पाँच कमजोरी सुधार गरेको खण्डमा भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्न सक्छ ।

५. आफू भन्दा बलिया टोलीसँग तयारी

नेपालको तयारी सधैं कमजोर हुने गर्दछ । नेपालले प्रतियोगिता अघि राम्रो टोलीसँग बिरलै अभ्यास खेल खेल्ने गर्दछ । त्यसले गर्दा नतिजामा सुधार हुन पाउँदैन । आफ्नो स्तरको टोलीलाई हराउन भन्दा बलिया टोलीसँग हार्नु धेरै सिक्ने आधारहरु हुन्छन् । राम्रो टोलीविरुद्ध खेलेपछि मनोबल पनि फरक पार्छ ।

नेपालले एसिया कप अघि बंगलादेश, अफगानिस्तान, श्रीलंका जस्ता देशसँग अभ्यास खेल खेल्नुपर्छ । जसले गर्दा भारत र पाकिस्तानविरुद्ध खेलाडीविरुद्ध मानसिक रुपमा दोदारमा पर्नु पर्दैन । खेलाडीहरु उच्च मनोबलका साथ मैदान उत्रर्न सक्छन् ।

क्रिकेटमा मनोबलले प्रदर्शन सधैं फरक पार्छ । उच्च मनोबल बिना कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सक्दैन । ठूला टोलीसँग अभ्यास गर्दा उनीहरुसँग खेल्न सकिन्छ भन्ने मनोबल हुन्छ ।

तर क्यानले हालसम्म श्रीलंकाको स्थानीय टोलीसँग चार अभ्यास खेल खेल्ने जनाएको छ । स्थानीय टोली भन्दा पनि सिनियर टोलीसँग उक्त खेल खेल्ने वातावरण मिलाउन सके नेपालले राम्रो गर्न सक्छ ।

४. डेथ ओभर बलिङमा सुधार
डेथ ओभर बलिङ नेपाली क्रिकेटमा समस्या कुनै नौलो होईन । नेपालका प्रमुख तीन बलर सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने यी तीन बलरको डेथ ओभर अर्थात ४० देखि ५० ओभर सम्म बलिङमा राम्रो प्रदर्शन हुन सकेको छैन ।

त्यसको फाइदा उठाउँदै आइसिसी विश्वकप लिग–२ मा स्कटल्यान्डका माइकल लिस्क र युएईका आसिफ खानले टियु मैदानमा विष्फोटक शतक प्रहार गरेका थिए । नेपालले डेथ ओभरमा लगातार रन खर्चदै आएको छ।

पाकिस्तान र भारत दुबैमा विश्वस्तरिय फिनिसर छन् । राम्रो सुरुवात पाउँदा स्टार ब्याटर झनै हाबी हुन सक्छन् । पाकिस्तानमा फखार जमान, बाबर आजम, मोहम्मद रिजवान, आसिफ खान, इफ्तिखार अहमद जस्ता ब्याटर छन् । भारतमा रोहित शर्मा, विराट कोहली, लोकेश राहुल, हार्दिक पान्ड्या, सन्जु स्यामसन र सूर्यकुमार यादव लगायतका ब्याटर छन् ।

यी सबै ठूलो इनिङ खेल्ने गर्दछन् । अन्तिम १० ओभरमा नेपालको कमजोर बलिङको झन् धेरै फाइदा उठाउन सक्छन् । नेपाली बलरले स्वींग र बाउन्समा पनि ध्यान दिनुपर्ने हुन्छ ।

३. १ सय ५० माथिको गतिमा अभ्यास
एसिया कपमा नेपाली ब्याटरलाई पाकिस्तान र भारतका बलरको गती खेल्न नै धेरै कठिन हुने देखिन्छ । पाकिस्तानको तीव्र गतिको आक्रामण वर्तमान समयमा विश्व क्रिकेटकै एक उत्कृष्ट पर्दछ । शाहिन अफ्रिदी, हरिस रौफ, नसिम शाह र इहशानउल्लाह प्रमुख बलर हुन् ।

हरिस रौफ १ सय ५५ प्रतिघण्टाको गतिमा गर्दछन् । उनी योर्करका लागि माहिर छन् । अफ्रिदी लगातार १ सय ५० प्रतिघण्टाको गतिमा गर्न सक्छन् । उता भारतीय मोहम्मद शामी, भुवनेश्वर कुमार र मोहम्मद शिराजको गति खेल्नुपर्ने हुन्छ ।

नेपाली ब्याटरलाई १ सय ४० को गति नै खेल्न कठिन पर्दै आएको छ । पाकिस्तानी सबै बलर १ सय ५० प्रति घण्टामा लगातार गर्न सक्छन् । उक्त गतीमा चाल पाउन सक्छन् वा सक्दैनन् त्यो अझ हेर्न लायक हुनेछ । त्यसको लागि नेपालले पहिला उक्त गतिमा लगातार अभ्यास गर्नुपर्ने हुन्छ । अन्यथा सिधैं खेलेको खण्डमा नेपाली ब्याटर निरिह बन्न सक्छन् ।

अर्कोतर्फ नेपाली ब्याटरको लागि बायाँ हाते तीव्र गतिका बलर र स्पिनर दुबै हाबी हुँदै आएका छन् । नेपालले आफू भन्दा कमजोर टोलीविरुद्ध पनि बायाँ हाते बलिङमा निकै संघर्ष गर्दै आएको छ ।

एसिसी प्रिमियर कपमा कतारसँग १ सय ५७ रनमा अल आउट हुनुको मुख्य कारण त्यो एउटा थियो । पाकिस्तानका बायाँ हाते तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी नेपाली ब्याटरलाई घातक बन्न सक्छन् ।

२.बाउन्सर, स्वींग र सर्ट बलमा मिहिनेत
नेपालको कमजोरी विश्वकप छनोट र एसिसी प्रिमियर कपमा स्पष्ट देखिएको छ । बाउन्सर, सर्ट र स्वींग सामु नेपाली ब्याटर निरिह नै बनेका छन् । पाकिस्तानका बलरसँग गति मात्रै होईन बाउन्सर, योर्कर र स्वींग सबै छ ।

पाकिस्तानी बलर गति मात्रै होईन स्वींग र बाउन्सर बलको लागि त्यतिनै माहिर छन् । भारतमा मोहम्मद शिराज, मोहम्मद शामी र भुवनेश्वर कुमारको स्वींग र गतिको सामना गर्नुपर्ने हुन्छ ।

भारत र पाकिस्तान दुबै टोलीका बलर स्वींग र बाउन्सरको लागि चर्चित छन् । नेपालको कमजोरी नै स्वींग र सर्ट बल रहेको थियो । नेपालले विश्वस्तरिय बलरको स्वींगको पनि सामना गरेको छैन ।

त्यसैले नेपाली ब्याटरको लागि धेरै चुनौती हुने देखिन्छ । नेपालले सर्ट, स्वींग र बाउन्सर बलमा लगातार तयारी गर्न आवश्यक देखिन्छ । अन्यथा एसिया कपमा नेपालले यसैको कारण लज्जास्पद ब्याटिङ गर्न सक्छ ।

१. क्रिजमा ब्याटरको धैर्यताको आवश्यकता
ब्याटिङ नेपालको सदावहार समस्या हो । टियु क्रिकेट मैदान बाहिर नेपालले विरलै ब्याटिङमा राम्रो प्रदर्शन गर्ने गर्दछ । नेपालका प्रमुख ब्याटर सुरुवाती १० ओभर बिताउन संघर्ष गर्दै आएका छन् ।

नेपालले पावर प्लेमै ५-६ विकेट गुमाउँदै दयनीय अवस्थामा पुग्दै आएको छ । इमर्जिङ कपमा नेपाल भारतको २३ वर्षमुनीको टोलीमा सुरुवाती १० ओभरमा ३७-५ को दयनीय अवस्थामा थियो । पाकिस्तानको यू२३ टोलीविरुद्ध नेपाल १० ओभरमा ३९-६ को अवस्थामा थियो ।

विश्वकप छनोटमा युएई विरुद्ध नेपाल २०.५ ओभरमा ६३–६ को अवस्थामा पुगेको थियो । नेदरल्यान्ड्ससँग १ सय ६७ रनमा अल आउट भएको थियो ।

नेपाली ब्याटरले क्रिजमा धैर्यता देखाउन सक्नुपर्छ । यदि नेपालले पाकिस्तान र भारतसँग पुरै ५० ओभर खेल्ने क्षमता राख्छ भने त्यो आफैंमा एक उपलब्धि हुनेछ ।

प्रमुख ब्याटर मध्य एकले ठूलो इनिङ खेल्नुपर्छ । बाउन्ड्री भन्दा पनि डबल सिंगलमा राम्रो ध्यान दिनुपर्छ । कमजोर बललाई चौका र छक्का प्रहार गर्ने जोखिम लिनुपर्छ । अन्यथा डबल सिंगलमै रन बनाउन सक्नुपर्छ । अभ्यासमा खेलमा लगातार राम्रो ब्याटिङका साथ उच्च मनोबलका साथ एसिया कप खेल्न जानुपर्ने हुन्छ ।हाम्रो खेलकुद

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।