विद्युतीय गाडी पानी जमेको सडकमा चलाउन कति सुरक्षित छ? यस्ता छन् इन्जिनियरका सुझाव

काठमाडौं। अहिले वर्षाको समय हो। वर्षामा नेपालका धेरैजसो सडकमा खाल्डाखुल्डीका कारण तथा ढलको राम्रो व्यवस्था नहुँदा पानी जम्‍ने गर्छ। यस्तो बेलामा पनि कामका लागि घरबाहिर निस्कनु पर्छ नै।

पेट्रोल-डिजल इन्जिन कार तथा एसयुभीलाई वर्षाले कुनै खास प्रभाव पार्दैन। तर हामी भर्खरै विद्युतीय सवारी (इभी)मा स्विच गरिरहेका छौँ। के इलेक्ट्रिक कार पानी जमेको सडकमा पनि चलाउन मिल्छ र? भन्‍ने प्रश्‍न धेरैको मनमा उठ्न थालेको छ।

विद्युतीय गाडी नयाँ प्रविधि भएका कारण मानिसहरु यसलाई कसरी प्रयोग गर्ने र कस्तो परिस्थितिमा चलाउन सकिन्छ या सकिन्‍न भन्‍नेमा त्यति पोख्त भने भइसकेका छैनन्। त्यसैले पनि वर्षाको समयमा पानी जमिरहेको सडकमा विद्युतीय कार चलाउन मिल्छ त भन्‍नेमा अझै अन्योल छ।

तर हामी पानीमा पनि इभी चलाउन सक्छौं। इलेक्ट्रिक कारहरूमा भएको ब्याट्रीमा इन्ग्रेस प्रोटेक्सन (आईपी) भनिने सुरक्षा प्रणाली राखिएको हुन्छ। यसको काम भनेको पानीबाट ब्याट्रीलाई जोगाउने प्रविधि हो।

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका इभी सवारी विभागका इन्जिनियर दिग्विजय आचार्यले वर्षामा इभी चलाउन सकिने बताए। उनले वर्षाको बेला इभी चलाउन कुनै समस्या नरहेको भन्दै यसमा केही साना कुराहरुमा भने ध्यान दिनुपर्ने बताए।

जस्तै सडकमा ३० सेन्टिमिटरसम्म पानी जमेको अवस्था इभी चलाउन सकिन्छ। टाटाको नेक्सनमा आइपी ६७ रेटिङ भएकाले टाटाको गाडीका लागि ३० सेन्टिमिटर पानी जमेको सडकमा यो गाडी चलाउन सकिने उनको भनाइ छ। यो आइपी ६७ ब्याट्री र मोटर दुवैमा भएको उनले बताए।

‘यसमा पनि आइपी ६७ भनेको यसमा भएको ६ नम्बरले धुलोबाट कतिसम्म बचाउन सक्छ भन्‍ने हो। जसले धुलोहरु भित्र जान बाट रोक्छ,’ उनले भने, ‘यस्तै आइपीमा भएको ७ नम्बरले भने पानी कति लेभलसम्म प्रोटेक्सन गर्छ भन्ने कुरा जनाउँछ। यसले ब्याट्रीमा पानी केही हदसम्म भित्र जान बाट रोक्छ।’

उनका अनुसार यसरी आइपी ६७ रेटिङ छ भने उक्त गाडी ३० सेन्टिमिटर अर्थात १ फिटको हाइटसम्मको पानीमा चलाउन सकिन्छ। टायरको आधासम्म पानी हुँदा इभी मज्जाले चलाउन सकिने उनको दाबी छ।

तर धेरै पानी जमेको सडक जस्तै अहिलेको अवस्थामा तीनकुने, थापाथलीको बल्खु जाने पुलमुनि, कपनतिर निरन्तर इभी चलाए ब्याट्रीमा नभइ गाडीभित्र पानी छिर्न सक्छ। त्यसकारण धेरै पानी जमेको स्थानबाट इभीलाई जोगाउँदा राम्रो हुने उनको सुझाव छ।

‘तर यसको मतलब यो हैन की गाडी जान सक्दैन। गाडी जान्छ चलाउन पनि मिल्छ,’ उनले भने, ‘ब्याट्री र मोटरमा समस्या आउदैन। तर समस्या के भइदिन्छ भने पानी गाडीको क्याबिनभित्र छिरेपछि भित्रको इन्टेरियरमा भएका सामानहरु बिग्रिन सक्छन्, सुक्न समय लाग्छ भन्ने हो।’

यसले गर्दा भित्र छिरेको पानी फोहोर अथवा ढलको पानी भएकाले गाडीको क्याबिनहरु सबै खोलेर सफा गर्नुपर्ने अवस्था हुन्छ। त्यसका लागि गाडी लगभग ३/४ दिनसम्म सर्भिस सेन्टरहरुमा राख्‍नु पर्छ।

उनका अनुसार ग्राउन्ड क्लियरेन्सले पनि धेरै फरक पार्छ। ‘जस्तै नेक्सनको २०५ एमएमको ग्राउन्ड क्लियरेन्स छ। तर यसमा लोड हुँदा लगभग १९५ एमएमतिर हुन आउँछ। यस्तै अन्यको हकमा १७० वा १८० एमएम छ भने यस्तो अवस्थामा ग्राउन्ड क्लियरेन्सले अलिअलि फरक पार्न सक्छ,’ उनले भने।

यस्तै, बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका इन्जिनियर सुनिल तुलाधरका अनुसार गाडीमा प्रोटेक्सन छ भन्दैमा धेरै पानी जमेको सडकमा जोखिम लिन नहुने बताउँछन्। इन्धन गाडीमा पनि साइलेन्सर पाइप भएको ठाउँभन्दा माथि पानी जमेको स्थानमा गाडी चलाउन नमिल्ने उनको भनाइ छ। त्यो स्वाभाविक पनि छ।

त्यसैले इभीमा पनि जोखिम बहन गर्दा आएको समस्यालाई वारेन्टीले नसमेट्ने उनले बताए। मानविय त्रुटिले गर्दा भएको समस्यामा वारेन्टीले समेट्दैन।

के हो आइपी ६७ रेटिङ ?
हालको जेनेरेसनको इलेक्ट्रिक कारमा आइपी ६७ रेटिङ छ, जुन एकदमै वाटरटाइट छ। यसले कति पानीको मात्रा भएको सडकमा गाडी चलाउन सकिन्छ र कति समयसम्म भन्ने कुराको यकिन गरेको हुन्छ।

यो आइपी प्रविधिलाई विभिन्न माध्यमबाट मूल्यांकन गरिएको छ। उदाहरणका लागि आइपी ६५ वा ६७ भनिएको हुन्छ। यो प्रविधिले पानी र धूलोबाट बचाउन सुरक्षाको रुपमा काम गर्छ। त्यसैले गाडीहरुमा भएका आईपीको जति उच्च मूल्यांकन हुन्छ त्यति नै राम्रो सुरक्षा हुन्छ।

यो रेटिङको मतलब इलेक्ट्रिक कारले ब्याट्री टर्मिनल र उच्च भोल्टेज कम्पोनेन्टहरू जस्तै कारको इलेक्ट्रिक कम्पोनेन्टहरूमा पानी चुहावटको जोखिम बिना ३० मिनेटसम्म पानीमा गाडी चलाउन सकिन्छ भन्ने जनाउँछ।

तर पानीको लेभल सडकमा लगभग १ फिट भएको अवस्थासम्म गाडी गुडाउन सकिन्छ। इलेक्ट्रिक कारहरू पनि सुरक्षात्मक प्रणालीहरूले सुसज्जित छन्, जसले ब्याट्री र उच्च भोल्टेज कम्पोनेन्टहरूभित्र पानी छिर्न रोक्ने छ। त्यसैले इभीमा दिइएको उक्त आइपीले गाडीको भन्दा पनि त्यसमा भएको ब्याट्री र मोटरलाई बचाउँछ।

तर यसो भन्दैमा लामो समयसम्म पानीमा इभी चलाउन मिल्छ भन्‍ने होइन। यसले ३० मिनेटको समयसम्म मात्र वाटर रेसिस्टेन्टको काम गर्ने सक्ने आचार्य बताउँछन्। त्यो भन्दा लामो समयको प्रोटेक्सन यो आइपी ६७ ले गर्न नसक्ने उनले बताए।

ब्याट्री प्याकभित्र रहेका सुरक्षात्मक कटअफहरूको धेरै तहहरू छन् जुन पानी प्रवेश गर्दाको पहिलो संकेतमा सक्रिय हुन्छन्। यस्तो अवस्थामा इभीमा भएका ब्याट्री प्याकमा कारको बाँकी भागबाट करेन्ट प्रवाह रोक्ने क्षमता पनि छ।

के पानीमा इभी चार्ज गर्न सकिन्छ ?
पानी परिरहेको बेलामा हामीले भित्तामा राखेको वालबक्स वा उचित चार्जिङ पोइन्टमा प्लग इन गर्नु एकदमै राम्रो हुने आचार्य बताउँछन्। यस्तो चार्जर मौसम जस्तोसुकै भए पनि पूर्ण रूपमा सुरक्षित हुन्छन्।

पानीमा बिजुलीको करेन्ट लाग्ने जोखिम धेरै हुन्छ भन्ने डर मानिसमा हुन्छ। तर इलेक्ट्रिक कार चार्जरहरू मौसम प्रतिरोधी छन् र विशेषगरी कार र मानिसहरूलाई विद्युतीय झट्काबाट जोगाउने गरी डिजाइन गरिएको हुन्छ।

विद्युतीय सवारीका चार्जरहरू पनि कडाइका साथ परीक्षण गरिन्छन् र निश्चित सुरक्षा मापदण्डहरू पूरा गरेपछि मात्र सञ्‍चालन गर्न अनुमति दिइन्छ। यसबाहेक, वाटरप्रुफिङ बिजुली कनेक्टरहरू प्रदान गरिएको हुन्छ।

सकेसम्म छत भएको पार्किङ स्थलमा चार्जिङ गर्दा भने एकदम राम्रो हुन्छ।-बिजमाण्डु

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।