मलाई समयले कमजोर बनाउन खोज्यो, आज एक्लै निडर भएको छु : एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहान पछिल्लो समय एक अन्तर्वार्ताले चर्चामा छिन् । युट्युबमा उनले गत साता दिएको अन्तर्वार्तामा जीवनको संघर्ष र निराशाबारे कुरा गरेकी थिइन् । यो अन्तर्वार्तापछि प्रशंसकले उनलाई हरेश नखान र बलियो हुन सुझाव दिएका छन् । साथै, उनी उक्त अन्तर्वार्तामा क्रुद्ध पनि सुनिएकी थिइन् ।

यस्तोमा पछिल्लो समयकी हिट गायिकाले बिहीबार फेसबुकमा एक खुला पत्र लेख्दै प्रशंसकलाई सम्बोधन गरेकी छन् । साथै, आफूले नियतवशले कसैलाई आक्रमण गर्न नखोजेको भन्दै माफी समेत मागेकी छन् । आफ्नो सफलता र उपलब्धिमा फ्यानको ठूलो हात रहेको भन्दै एलिनाले आफूले अन्तर्वार्तामा भनेका कुरालाई लिएर सम्झाउन र बुझाउन खोज्नेलाई धन्यवाद समेत दिएकी छन् ।

उक्त अन्तर्वार्तामा भनेका कुरालाई लिएर उनले फ्यानलाई सम्बोधन गर्दै एलिना लेख्छिन्, ‘यो नितान्त मेरो भोगाइको पाटो थियो । जसलाई सुनेर यस क्षेत्रमा आउने आगन्तुकले पहिले नै आफूभित्र यी कुराहरु विकास गरेर आउनुपर्नेछ । यसलाई लिएर कसैको चित्त दुखाइ छ भने म अन्तरआत्माबाट माफी चाहन्छु । म आफैं कमजोर बनेको होइन, समयले मलाई कमजोर बनाउन खोज्यो तर त्यो अवस्थाले हार खाइसकेको छ । म आज एक्लै निडर भएको छु ।’

एलिना लेख्छिन्–

सबैमा नमस्कार,

आज हजुरहरुले मप्रति दर्शाउनु भएको माया देखेर न नतमस्तक भएकी छु । मैले दिएको पछिल्लो समयको एक अन्तर्वार्तालाई लिएर धेरैले मलाई सम्झाउन, सम्पर्क गर्न खोज्नुभएको छ । हुन त हजुरहरुबाट मैले यो आशा पनि गरेकी छु किनकि मैले चढिरहेको उचाइको मूल तत्व हजुर मेरो शुभचिन्तक नै हुनुहुन्छ ।

अन्तर्वार्तामा मैले जीवनको धेरै कालखण्डको कुरा गरे, जहाँ मेरो त्यो सुरुआती बेलाको मेहनतको तीतो भोगाइ र अहिलेको उचाइको व्यवस्थापनसम्मको कुरा थियो । सफलता अधिकांश मान्छेलाई बिना परिश्रम आउने कुरा होइन । कतिले मैले भन्दा अझै बढी परिश्रम पनि गरेका होलान् त केहीले थोरै । कमलो मनको मान्छे म कुराकानी गर्दै गर्दा मेरा आँखाबाट आँसु झरेछन् । म भावुक बन्न पुगेछु । हुन त मैले जे लगाउँछु, जे खान्छु, जे गर्छु र जे गर्नेछु ती सबै कसै न कसैका लागि प्रेरणा बनोस् भनेर सबैलाई देखाउने बानी छ ।

साधारण छ जीवन मेरो, ठूलो सपना नदेखी यो क्षेत्रमा छिरें र जति अगाडि बढ्दै गए त्यति नै मुश्किल बन्दै गयो लक्ष्य भेट्न अनि त्यति नै धेरै मेहनत गर्नुपर्‍यो । हुन त म कलाकार हुँ, सबैको मन बुझाउन सकें भने सबैले मन पराउनेछन् यहाँ तर मेरो पनि व्यक्तिगत जीवन छ । कुनै बेला त्यो मेरो व्यावसायिक जीवनमा नचाहँदा नचाहँदै पनि व्यक्तिगत जीवनमा असर पर्न जान्छ । जतिबेला म सानो सपना बोकेर देशको राजधानी छिरे त्यतिबेलाको म भित्रको म भन्दा कैयौं गुणा ममा आत्मविश्वास र हिम्मत पलाएको छ ।

मेरो सपनाको सहरमा पाइला टेक्दै गर्दा सबै बिरानो थिए तर आज यहाँ मैले सबैलाई नचिने पनि अधिकांशले मलाई चिन्नुहुन्छ । वर्तमान अवस्थाभन्दा त्यो समय मलाई धेरै नै कठिन थियो । आज म जहाँ छु, जुन अवस्थामा छु मलाई सहयोग गर्ने धेरै नै हुनुहुन्छ ।

म लड्नलाई जन्मिएकी हुँ, मर्न हजुरको मायाले दिनेछैन । भोगेको दुःखले कुनै न कुनै समयमा जीवनको अर्थ नबुझ्दा त्यो सोच सैतानी दिमागमा भरिनु स्वभाविक हो तर मैले हार खाएको छुइँन ।

मैले विगतका कुरा गर्दा कमजोर भइछे भनेर नसम्झिनुहोला । अझै धेरै कुरा गर्न ऊर्जा भरिएको छ, हजुरहरुको साथ देखेर । आत्यहत्याको कुरा गर्दैगर्दा ती मेरा कुरालाई लिएर धेरैले चिन्ता व्यक्त गर्नुभयो तर ती सबै मेरा अतीत थिए । आज सुखैसुखमा छु त भन्न खोजेको त हैन तर धेरै दुःख पनि छैन । कलाकारको जीवन सोचे झैं गर्ने गरीको हुन्न तर सबैले त्यस्तै देखाउँछन् ।

मैले जे थियो यथार्थ त्यो देखाएकी हुँ । सबैभन्दा पहिला त म मानव हुँ र आँसु, रिस, खुसी, दुःख, चिन्ता, सोच यी सबै मेरा मानवीय गुण हुन्, यिनलाई मैले बिर्सन सकिन । यसलाई लिएर कसैले पनि चित्त नदुखाउनु होला । मैले गरेका कुराहरु कसैलाई प्रहार गर्न होइन, कसैप्रति रिस राखेर पनि होइन, कसैसँग दुस्भाव रचेर होइन र कसैलाई नराम्रो देखाउन त झन हुँदै होइन ।

यो नितान्त मेरो भोगाइको पाटो थियो, जसलाई सुनेर यस क्षेत्रमा आउने आगन्तुकले पहिले नै आफूभित्र यी कुराहरु विकास गरेर आउनुपर्नेछ । यसलाई लिएर कसैको चित्तदुखाइ छ भने म अन्तरआत्माबाट माफी चाहान्छु । म आफैं कमजोर बनेको होइन, समयले मलाई कमजोर बनाउन खोज्यो तर त्यो अवस्थाले हार खाइसकेको छ । म आज एक्लै निडर भएको छु ।

फेरि पनि मबाट केही त्रुटि भएमा माफी चाहन्छु । सदैव सबैको साथको आवश्यकता रहनेछ मेरो जीवनमा ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।