नेपालमा यसपटक सेरोटाइप–२ स्वरूपको डेङ्गी बढी सक्रिय

काठमाण्डौ – नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो ।

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सेरोटाइप–२ स्वरूपको डेङ्गी ४१ प्रतिशत देखिएको जानकारी दिनुभयो । महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ वटा नमुना परीक्षण गरेको थियो । परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ । उहाँले तीमध्ये सेरोटाइप–१ केहीमा र सेरोटाइप–३ पनि देखिएको बताउनुभयो ।

सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ । एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने उहाँको भनाइ छ ।

अहिलेसम्म नेपालमा डेङ्गी सङ्क्रमणका चारवटै स्वरूपका सेरोटाइप देखिएका छन् । एउटा स्वरूपको सेरोटाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ । ‘चारैवटै सेरोटाइप भिन्न भन्ने हुँदैन । जुन सेरोटाइप लाग्छ, त्यसले रोगविरुद्धमा लड्ने क्षमता विकास गर्दछ’, उहाँले भन्नुभयो, ‘तर एउटा सेरोटाइप लागेर अर्को सेरोटाइपको सङ्क्रमण भएपछि त्यसको लक्षण बढी खतरानक हुन्छन् ।’

डेङ्गी सङ्क्रमण दुईपटक लागेपछि बढी सङ्क्रामक हुन्छ । ‘पहिलोपटक सेरोटाइप–१ डेङ्गीको स्वरूप देखिएको छ भने अर्कोपटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ’, उहाँले भन्नुभयो, ‘यसरी पुनः डेङ्गी देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।’ डेङ्गी भाइरसको प्रोटिनको संरचनाका आधारमा सेरोटाइप छुट्याइने गरिन्छ ।

शाखा प्रमुख डा. दाहालले पहिलोपटक लागेको सेरोटाइपले शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताउनुभयो । महाशाखाका अनुसार पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबभन्दा बढी सुनसरीमा तीन हजार चार सय ८६ जनामा देखिएको छ ।

लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ । डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलमा लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्ने गर्दछ ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।