आत्महत्या गर्दिन्, किनकि तपाइँले माया गरिराख्नु भएको छ : गायिका एलिना चौहान
काठमाडौं। रुँदै अन्तर्वार्ता दिएपछि एकाएक चर्चामा आएकी गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत स्पस्टीकरण दिएकी छन्।
हालै दिएको एक अन्तर्वार्ताका कारण प्रशंसकले चिन्ता प्रकट गरेपछि गायिका एलिना चौहानले स्पष्टीकरण दिएकी हुन्।
उनले गायन क्षेत्रमा आउन गरेको संघर्षका क्रममा आत्महत्याको प्रसंग निकालेपछि प्रशंसकले उनलाई त्यसरी हरेस नखान सुझाव दिएका थिए।
यसै कारण गायिका चौहानले सामाजिक सञ्जालमा लामो पत्र लेख्दै उनले त्यो विगतको कुरा भएको र आज आफू बलियो भइसकेको बताएकी हुन्।
‘मैले विगतका कुरा गर्दा कमजोर भइछे भनेर नसम्झिनुहोला। अझै धेरै कुरा गर्न ऊर्जा भरिएको छ, हजुरहरूको साथ देखेर। आत्महत्याको कुरा गर्दैगर्दा ती मेरा कुरालाई लिएर धेरैले चिन्ता व्यक्त गर्नुभयो तर ती सबै मेरा अतीत थिए। आज सुखैसुखमा छु त भन्न खोजेको त हैन तर धेरै दुःख पनि छैन।’
उनले अगाडि लेखेकी छन्, ‘म लड्नलाई जन्मिएकी हुँ, मर्न हजुरको मायाले दिनेछैन। भोगेको दुःखले कुनै न कुनै समयमा जीवनको अर्थ नबुझ्दा त्यो सोच सैतानी दिमागमा भरिनु स्वाभाविक हो, तर मैले हार खाएको छुइनँ।’


