फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

झापा, १९ साउन (रासस) ः पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउनुहुन्छ । तर, उहाँको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ ।

“विसं २०६७ मै एक सय ५० झ्याङ रापेर किबीखेती सुरु गरेको हुँ”, उहाँ मनको बह पोख्दै भन्नुहुन्छ, “यसपाली साह्रै राम्रो फलेको छ । कात्तिकदेखि पाक्न सुरु हुन्छ । तर बजारमा भाउ पाइएन भने त बर्बादै हुन्छ नि ।”

पूर्वी पहाडको इलाम र पाँचथरमा किबीखेती विस्तार भइरहेको छ । भूवनोट र हावापानीका कारण विज्ञले इलामलाई किबीको खानी नै मानेका छन् । राम्रो फलेर मात्र हुँदोरहेनछ । बिक्री गर्ने बेलामा कौडीको मोलमा विचौलियालाई दिनुपर्दा किसान निराश हुने गरेका छन् ।

इलामको देउमाई, साखेजुङ, सन्दकपुर र माइपोखरीमा किबीखेती प्रवद्र्धनका लागि ‘किबी जोन’ नै सरकारले घोषणा गरेको छ । पाँच सय हेक्टर जग्गामा किबीखेती भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘किबी जोन’ घोषणा गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सहयोग गर्दछ ।

‘किबी जोन’मा सरकारले किसानलाई प्रविधि, उपकरण, अनुदान र तालिमसम्बन्धी सहयोग दिँदै आएको छ । इलामका किसान सरकारले किबीको उत्पादन बढाउन सहयोग गरे तापनि दीगो बजारका लागि पर्याप्त मद्दत नगरेको गुनासो सुनाउँछन् ।

कटुवालले किबीको व्यावसायिक खेतीका लागि पानीटार कृषि फार्म स्थापना गर्नुभयो । कृषि ज्ञानकेन्द्र इलामले किबीको लहरालाई फलामको दीगो थाङ्ग्रा हाल्न सुरुमा रु पाँच लाख अनुदान दिएको थियो । थाङ्ग्रो हाल्न मात्रै रु सात लाख निजी लगानी गरेको उहाँले बताउनुभयो । बर्सेनि किबी खेती विस्तार गर्दै उहाँले अहिले देउमाईकै सबैभन्दा ठूलो किबी फार्म सञ्चालन गरिरहनुभएको छ ।

किबीलाई स्वादिलो र पौष्टिक फल मानिन्छ । यसको बजार भने झापाको विर्तामोड, मोरङको विराटनगर, सुनसरीको धरान र काठमाडौँ नै हो । किसानले उत्पादन गरेको किबी फल कतिपय व्यवसायीले फार्ममै आएर खरिद गर्छन् भने व्यापारी नआउँदा टिपेर बजार पु¥याउने गरेको उहाँले बताउनुभयो ।

किसानका अनुसार कात्तिक महिनादेखि माघसम्मको चार महिना किबी पाक्ने बेला हो । चरा, भ्याउसो नामको जङ्गली जनावरले किबीको बोटमै गएर खाएर बाली नष्ट गर्दै आएको हुँदा पाकेका बेला रुँघेर खेतबारीमै बस्नुपर्ने हुन्छ ।

“एक सिजनमा ४० देखि ५० क्विन्टल किबी फल्छ”, पानीटार कृषि फार्मका सञ्चालक तेजबहादुर कटुवालले भन्नुभयो, “सुरुका वर्षमा बोटमै टिपेर क्विन्टलको रु ५० हजारका दरले भाउ हालेर खरिदेले लैजान्थे । गत वर्ष मुस्किलले १५ हजारका दरले दिए । यसपाली पनि भाउ बढेन भने डुबिने भइयो ।”

भारतबाट सस्तो किबीको निर्वाध आयात भइरहेका कारण स्थानीय उत्पादनले बजारमा उचित भाउ नपाएको किबी उत्पादक कटुवालको भनाइ छ । उहाँका अनुसार इलाममा प्रशस्त किबी उत्पादन भए तापनि सरकारले जुस, जाम र वाइन कारखाना खोल्न प्रोत्साहित गरेन ।

धनकुटाको राजारानीमा माउन्ट एभरेस्ट वाइनरी प्रालिले किबीबाट वाइन उत्पादन गरिरहेको छ । कटुवालले किबीको सबैभन्दा बढी उत्पादन हुने इलाममै वाइन, जुस र जामको कारखाना खोल्नसके किबी किसान लाभान्वित हुने बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷८० मा काँकडभिट्टा नाकाबाटै रु दुई करोड ८५ लाख २० हजार मूल्य बराबरको ७१ मेट्रिकटन भारतीय किबी भित्रिएको पाइएको छ । भारतबाट भित्रिने किबी सस्तो हुने गरेको छ ।

कोशी प्रदेशका झापा र सुनसरीबाहेक १२ जिल्लामा किबीको व्यावसायिक खेती हुँदै आएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थविज्ञ सार्थक घिमिरेका अनुसार कोशी प्रदेशको किबी रोपिएको कूल क्षेत्रफलमध्ये आधाभन्दा बढी खेती इलाममै छ ।

उहाँका अनुसार कोशी प्रदेशमा एक हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा किबी खेती छ भने वार्षिक उत्पादन तीन हजार पाँच सय ४७ मेट्रिकटन रहेको छ । जबकी, इलामको किबीखेती सात सय हेक्टरमा विस्तार भइसकेको छ भने वार्षिक उत्पादन एक हजार पाँच सय मेट्रिकटन रहेको छ ।

नेपालभर दुई हजार पाँच सय ९९ हेक्टर क्षेत्रफलमा किबीखेती गरिएको र त्यसबाट सात हजार छ सय ९८ मेट्रिकटन फल उत्पादन हुँदै आएको छ । कृषि अर्थविज्ञ घिमिरेका अनुसार देशभरको किबी खेतीमध्ये आधा इलाममै रहेको छ ।

इलामपछि पाँचथरमा दुई सय ५० हेक्टर र सोलुखुम्बुमा एक सय १५ हेक्टर क्षेत्रफलमा किबीखेती हुँदै आएको छ । खोटाङमा ४०, सङ्खुवासभामा ३६, भोजपुरमा ३५, ताप्लेजुङमा ३०, धनकुटामा २४, तेह्रथुममा १६, उदयपुरमा १५ र मोरङमा १५ हेक्टर क्षेत्रफलमा किबीखेती हुँदै आएको छ ।्
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।