यसकारण बिहेअघि डिम्ब फ्रिज गराइरहेका छन् महिलाहरु ?

एजेन्सी । आफ्नो लिभिङ रुमको भुईंमा खुट्टा फैलाएर बसेकी भिभियन टुंग आफ्नो पेटलाई खुम्च्याउँदै यस्तो ठाउँ खोजिरहेकी छिन् जहाँ उनलाई डिम्बको संख्या बढाउन प्रयोग गरिने हर्मोनल औषधि रेकोभेलको सुई लगाउनु छ ।

ताइवानमा बस्ने ३३ वर्षकी टुंग ब्राण्ड मार्केटिंग डाइरेक्टर हुन् जसले भविष्यका लागि भन्दै आफ्ना डिम्ब निकालेर फ्रिज गराउने अर्थात् सुरक्षित राख्ने योजना बनाएकी छिन् ।

फ्रिजिङ प्रक्रियाको दुई हप्तासम्म उनलाई यो सुई दैनिक रुपमा लगाउन भनिएको छ ।

एक्लै बस्दै आएकी टुंग ताइवानका ती तमाम महिलाहरु मध्ये एक हुन् जसले भविष्यमा बच्चा जन्माउनका लागि प्रयोग गर्ने भन्दै पछिल्लो समयमा धमाधम आफ्ना डिम्ब फ्रिज गराइरहेका छन् । यद्यपि ताइवानमा विद्यमान कानून अनुसार महिलाले आफ्ना त्यस्ता संरक्षित डिम्बहरु बिहे नगरेसम्म बच्चा जन्माउनका लागि प्रयोग गर्न भने पाउँदैनन् ।

टुंगका अनुसार ताइवानमा धेरै महिलाहरु स्वतन्त्रतापूर्वक जीवनयापन गरिरहेका छन् र उनीहरुको ध्यान नै आफ्नो करिअरमा छ । उनीहरु केवल बच्चा जन्माउनका लागि मात्रै अहिले बिहे गर्न चाहँदैनन् ।

आफ्नो डिम्ब फ्रिज गराएको बारेमा उनी भन्छिन्, ‘यो मेरो बिमा नीति हो । मेरो परिवारले मलाई साथ दिनुहुन्छ र मेरो इच्छाको सम्मान गर्नुहुन्छ । मैले आफ्नो डिम्ब फ्रिज गराइरहेकी छु भन्ने सुन्दा उहाँहरुले पनि राम्रो मान्नुभएको थियो ।’

ताइवानमा महिलाको प्रजननदर ०.८९ रहेको छ, अर्थात् एकजना महिलाले औसतमा एउटा पनि बच्चा नजन्माएको अवस्था छ । यस अनुसार ताइवानको प्रजननदर दक्षिण कोरिया र हङकङपछि विश्वमै तेस्रो सबैभन्दा कम हो ।

ताइवानमा बिहे नगरिकनै पनि महिलाले आफ्नो डिम्ब फ्रिज गराउन सक्दछन् जबकि चीनमा भने अविवाहित महिलालाई डिम्ब फ्रिज गर्नमा प्रतिबन्ध लगाइएको छ ।

ताइवानमा बिहेअघि फ्रिज गराएको डिम्ब महिलाले बिहेपछि बच्चा जन्माउन प्रयोग गर्न सक्दछन् । तर यदि त्यस्ता महिलाले समलैंगिक बिहे गरेमा कानूनले ती महिलालाई आफ्नो फ्रिज गराएको डिम्ब प्रयोग गर्ने अनुमति दिँदैन ।

यस्तो प्रतिबन्धका कारण ताइवानमा केवल ८ प्रतिशत महिलाहरुले मात्र फ्रिज गराएको आफ्नो डिम्बपछि प्रयोग गर्न पाएको बताइन्छ । जबकि अमेरिकामा यो दर ३८ प्रतिशत छ ।

टुंगको आशा

भिभियन टुंग बिहे नगरिकनै बच्चा जन्माउन चाहन्छिन् तर देशको मौजूदा कानूनले उनलाई त्यस्तो गर्न अनुमति दिँदैन । त्यसैले उनले आफ्नो डिम्ब फ्रिज गराउँदैछिन् ताकि भविष्यमा कानूनमा संशोधन भयो भने बिहे नगरीकनै बच्चा जन्माउन सकियोस् ।

आगामी दिनमा ताइवानले आफ्नो कानूनमा परिमार्जन गरी अविवाहित महिलाहरुलाई पनि बच्चा जन्माउने अनुमति दिनेछ भन्ने उनको आशा छ ।

डिम्ब फ्रिज गराउने शल्यक्रियाभन्दा अगाडि टुंगले आफ्नो हर्मोनको मात्रा पत्ता लगाउनका लागि रगतको जाँच गराउनुपर्यो । उनी भन्छिन्, ‘मेरा प्रयासहरु सफल हुँदैछन् । महिलाहरुमा बढिरहेको डिम्ब फ्रिज गराउने यो ट्रेण्डलाई हेर्दा आगामी केही वर्षमै ताइवानको कानूनलाई उदार बनाइनेछ भन्ने मलाई लाग्छ । मानिसहरु यो मुद्दामा जागरुक बनिरहेका छन् । जसबाट सरकारलाई कानूनमा परिमार्जन गर्न सहयोग प्राप्त हुनेछ ।

ताइवान सन् २०१९ मा समलिंगी विवाहलाई मान्यता दिने एसियाको पहिलो मुलुक बनेको थियो । साथै गत मे महिनामा समलिंगी जोडीहरुलाई संयुक्त रुपमा एउटा बच्चालाई धर्मसन्तान बनाउने अधिकार पनि दिइएको छ ।

यद्यपि ताइवानमा जन्मिने बच्चाहरु मध्ये केवल ४ प्रतिशत मात्रै बच्चा विवाह विना जन्मिने गरेका छन्, जबकि अमेरिकामा यस्तो दर ४० प्रतिशत छ ।

राजधानी ताइपेईको शिन कोंग वू हो सु मेमोरियल अस्पतालमा प्रजनन चिकित्सा केन्द्रका मुख्य निर्देशक ली यी पिंगका अनुसार बिहे नगरिकन पनि बच्चा जन्माउन अनुमति दिने विषयमा ताइवान प्रजनन संघ तथा सरकारको बीचमा कुराकानी चलिरहेको थियो । यद्यपि यसलाई मान्यता दिनका लागि अझै कति समय लाग्ने हो त्यो कसैलाई पनि थाहा नभएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘यो एक निकै महत्वपूर्ण राष्ट्रिय सुरक्षाको मुद्दा हो । अब हामी यो मुद्दामा समाजमा आम सहमति बन्ने कुराको पर्खाइमा रहनु पर्दछ ।

डिम्ब फ्रिज गराउने चलन बढ्दो

नेसनल ताइवान युनिभर्सिटी अस्पतालको एक अध्ययन अनुसार ताइवानमा डिम्ब फ्रिजिङको माग बढिरहेको छ । पछिल्लो तीन वर्षमा ३५ देखि ३९ वर्ष उमेर समूहका महिलाहरुको संख्यामा ८६ प्रतिशतले वृद्धि भएको छ ।

ताइवानको पहिलो डिम्ब बैंक, स्टार्क फर्टिलिटी क्लिनिकका संस्थापक डाक्टरलाई हि्संग हुआका अनुसार कोरोना महामारीपछि डिम्ब फ्रिज गराउने महिलाको संख्या निकै बढेको छ । जसका कारण गतवर्ष मात्रै एकदर्जन भन्दा धेरै डिम्ब फ्रिजिंग सेन्ट खुलेका छन् ।

उनका अनुसार राजधानी ताइपेई तथा सिन्चुस्थित फ्रिजिंग क्लिनिकमा डिम्ब फ्रिज गराउन आउने महिलाको संख्यामा बर्सेनी ५० प्रतिशतले वृद्धि भैरहेको छ । यसमा बढोत्तरीको एक कारण स्थानीय सरकारहरुको तर्फबाट डिम्ब फ्रिजिंग गराउन लाग्ने खर्चमा दिइएको अनुदान पनि हो ।

यद्यपि स्थानीय सरकारले एकवर्षमा केवल १४ सय जना महिलालाई मात्र यस्तो अनुदान दिने गर्दछ । जसका कारण धेरै महिलाले अधिक खर्चका कारण आफ्नो डिम्ब फ्रिज गराउन सक्दैनन् । डिम्ब फ्रिजिंगको औषधि तथा अस्पतालको खर्च २६ सय देखि ३९ सय डलरसम्म पर्दछ । त्यस्तै डिम्ब फ्रिजिंगको वार्षिक शुल्क थप १६० देखि ३२० डलर सम्म पर्दछ ।

टुंगले भने डिम्ब फ्रिजिंगमा लाग्ने पैसा आफैंले खर्च गरिरहेकी छिन् । यद्यपि सर्जरीको दिनमा भने उनका आमाबुवाले नै उनलाई अस्पताल लिएर गएका थिए । ४० मिनेटको सर्जरीका लागि टुंगलाई सामान्य एनेस्थेसिया दिइयो र त्यसपछि २ घण्टाका लागि रिकभरी कक्षमा राखियो ।

घर जाने बेलामा टुंगले भनिन्, ‘साँच्ची मेरो मनमा शान्ति प्राप्त भयो । यदि भविष्यमा अवसर प्राप्त भयो अनि मैले बच्चा जन्माउन चाहेँ भने कम्तिमा मलाई त अवसर मिल्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।