धनकुटा सदरमुकाममा विरोध प्रदर्शन
धनकुटा । अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदाय प्रति दिएको अभिव्यक्ती विरुद्ध धनकुटा सदरमुकाममा आज विरोध प्रदर्शन गरिएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय सतिति धनकुटा र नेपाल मगर संघ जिल्ला समन्वय समिति धकुटाले संयुक्त विरोध प्रद्धर्शन गरेका हुन् । अधिवक्ता पाण्डेले प्राइम टिभिमा प्रसारित अन्तरवार्तामा मुस्लिम,मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रती ती समुदायले आपत्ति जनाउदै आएका छन् ।
आन्दोलित तामाङ र मगर समुदायले धनकुटा जिल्ला सदमुकाममा विरोध प्रद्धर्शन गर्दै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौत्तम मार्फत ३ सूत्रिय माग राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । आन्दोलन्रत समुदायले बुझाएको ज्ञापनपत्रमा तामाङ र मगर समुदायलाई होच्याउने र आत्म सम्मानमा ठेस पु¥याउने विवादास्पद अभिव्यक्ती दिने अधिवक्ता पाण्डेलाई कानुन बमोजिम हदैसम्मका सजाय दिनुपर्ने माग गरिएको छ ।
सोहि क्रममा जिल्ला प्रहरी परिसर टेकु काठमाडौमा शान्तिपूर्ण आन्दोलन गरिरहेको अभियान्ताहरुलाई नियन्त्रणमा लिएर यातना दिएकोमा आपत्ति जनाएका छन् । यातना दिने प्रहरी प्रमुख लगायत संलग्न सबै प्रहरीलाई कारबाही गर्न माग गरिएको छ । घाइते अभियान्ताहरुलाई उपचार खर्च सहित उचित क्षतिपूर्ती दिन पनि ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापन पत्र बुझाएपछि कोण सभा गरेर आन्दोलन कार्यक्रम समापन भएको थियो ।
कोणसभामा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य बिष्णु मोक्तान , नेपाल मगर संघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष तोर्ण खपाङ्गी मगर र नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राईले अधिवक्ता पाण्डेमाथि हदैसम्मको कानुनी कारबाही गर्न माग गरेकाछन् । कारबाही नभए शसक्त आन्दोलन गर्ने चेतावनी उनिहरुले दिएकाछन् ।






