‘मोदनाथ प्रश्रित: भुइँदेखि शिखरसम्म’

प्रकाश सिलवाल/काठमाडौँ, २६ साउन (रासस) ः नेपाली साहित्य र राजनीतिक व्यक्तित्व मोदनाथ प्रश्रितको बहुविधामा उल्लेखनीय योगदान रहेको छ । उहाँको सांस्कृतिक र साहित्यिक यात्रा अविराम छ ।

प्रश्रितले ‘पचास रुपैयाँको तमसुक’, ‘आमाको काखमा’, ‘सपनाहरु उपहार देशलाई बलिदान’, ‘बुद्ध र चाण्डाल युवती’, ‘जनताको देश र सहिदको सपना’ जस्ता नाटक लेखेर तत्कालीन समाज र पञ्चायत सरकारविरुद्ध जनचेतना फैलाउनु भएको थियो । यसका साथै ‘मानव’, ‘देवासुर सङ्ग्राम’, ‘गोलघरको सन्देश’ महाकाव्य र लघुकाव्यहरुदेखि ‘नारी बन्धन र मुक्ति’, ‘देवकोटाको वैचारिकी विकास’, ‘जीवाणुदेखि मानवसम्म’, ‘अतितका पाइला’, जस्ता प्रबन्ध र निबन्ध कृतिहरुका माध्यमबाट प्रश्रित स्थापित हुुनुभएको थियो ।

छुवाछूत विरोधी कानुन बन्नुअघि नै ‘मानवताको कलङ्कः जातपात र छुवाछूत प्रथा’ कृति लेखेर समानताको बिगुल फुक्ने प्रश्रित प्राकृतिक चिकित्सा क्षेत्रमा विद्यावारिधिसरह व्यक्तित्व र योगसाधकका रुपमा पनि स्थापित हुनुहुन्छ । राजनीतिक जीवनका क्रममा तत्कालीन नेकपा (माले) को नेता र पछि नेकपा (एमाले) को स्थायी कमिटी सदस्य भइसकेका र २०५२ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा बनेको सरकारका शिक्षा तथा संस्कृतिमन्त्री प्रश्रितको व्यक्तित्व र कृतित्वका अनगिन्ती आयाम छन् ।

प्रश्रितका बहुप्रतिभाशाली व्यक्तित्व र कृतित्वबारे विभिन्न प्रकाशन र व्यक्तिले शोध, अध्ययन र प्रकाशन गर्नेक्रम जारी रहेको छ । नरेन्द्रराज प्रसाईंको लेखन र नइ प्रकाशनको प्रकाशनमा ‘मोदनाथ प्रश्रित ः भुइँदेखि शिखरसम्म’ (२०७९) जीवनीपरक कृति बजारमा आएको छ । यो कृति प्रश्रितबारे लेखिएकामध्ये फरक शैलीयुक्त, रोचक र अधिकतम आधिकारिक एवं विश्लेषणपरक देखिन्छ, जसलाई स्वयं प्रश्रितले ‘मेरो समग्र जीवनको एउटा स्पष्ट आकृति भएको मैले ठहर गरेको छु । आफ्नो सिद्धान्तमा बज्र र चट्टान झैँ मानिएका एउटा गैर गणतान्त्रिक लेखकबाट मेरो जीवनी कृति लेखिनु विशेष आश्चर्यको कुरा त हुँदै हो तर पनि यति निष्पक्ष र खुलस्त भएर मेराबारे लेखिएको घटनालाई अर्काे आश्चर्य नै मान्नुपर्ने हुन्छ”, भनी भूमिकामा उल्लेख गर्नुभएबाट स्पष्ट हुन्छ ।

पुस्तकमा प्रश्रितले आर्थिक सङ्कट टार्न मदन पुरस्कारबाट प्राप्त पुरस्कारको चाँदी बेचेर रु दुई सय ६२ लिनुपर्दा उहाँ धुरुधुरु रोएको सन्दर्भदेखि प्रधानमन्त्रीसम्म हुने प्रश्रितको योग्यता भए पनि उहाँको नेपालवादी (राष्ट्रवादी) छविकै कारण त्यो हैसियत खोसिएको टिप्पणी गरिएको छ । हुन त ‘मानव’ महाकाव्यका लागि विसं २०२४ मा प्राप्त उक्त पुरस्कारको राशि नै त्यसबेला चार हजार रुपैयाँ थियो, त्यो पाउँदा प्रश्रित निकै खुसी हुनुभएको पुस्तकमा उल्लेख छ ।

विसं २०६३ को लोकतान्त्रिक परिवर्तनपछि कम्युनिष्ट र कांग्रेसले हरेक पुस २७ गतेको मनाइने पृथ्वीनारायण शाहको जयन्तीलाई बहिष्कार गरेका बेला प्रश्रितले राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरी कविता वाचन गरेका घटना र प्रश्रितका पिता घनश्याम पौडेल नेपाली कांग्रेसको राजनीतिमा आबद्ध रहेको सन्दर्भसँगै प्रश्रित पनि सुरुमा कांग्रेसमा आबद्ध हुनुभएको विषय पुस्तकमा छ ।

अर्घाखाँचीको खिदिमस्थित हर्राबोटमा विसं १९९९ असार ६ गते आर्थिकरुपमा सामान्य परिवारमा जन्मिएका प्रश्रितको बाल्यकालको नाम गौरीप्रसाद पौडेल थियो । उहाँ घरमै संस्कृत साहित्य, ज्योतिष, आयुर्वेद एवं धार्मिक शास्त्रहरु पढ्ने अवसर मिलेको थियो भने विद्रोही स्वभावले चुलिएका क्रान्तिकारी रहेका प्रश्रितलाई सानोमा माटोको मूर्ति बनाउने, वेद चण्डी, रुद्री आदि पाठ गर्ने व्यक्तिका रुपमा चिनाइएको छ । उहाँ हरिहर संस्कृत पाठशालामा शिक्षक हुँदै पछि भारतको ‘प्रगतिशील अध्ययन मण्डल’ स्थापना र पुष्पलालसँगको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टीको काममासम्म क्रियाशील हुनुभयो । नेपाल फर्केपछि पटक पटक जेलनेल पर्नुभएका प्रश्रितले प्रहरीको कुटाइबाट बेहोससम्म हुनुपरेको परिघटना मार्मिकरुपमा प्रस्तुत गरिएको छ । त्यसबेला जेलमा रहेका मोहचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, केपी शर्मा ओलीसहित सँगका बसउठका सन्दर्भ लेखक प्रसाईंले समेट्नुभएको छ ।

यसबेला कुन नेताको स्वभाव र खानपिनको बानी कस्तो थियो भन्ने पनि यहाँ चर्चा गरिएको छ । जननेता मदन भण्डारीले ‘मेरा राजनीतिक र साहित्यिक गुरु मोदनाथ प्रश्रित हुन्’ भनेका विषय, साहित्यकार एवं पूर्वमन्त्री शान्ता मानवीले विसं २०३३ मा आफूले जोडेको कानका टप बेचेर प्रश्रितको ‘नारी बन्धन र मुक्ति’ कृति छपाएको घटना पनि जीवनीमा समेटिएको छ ।

पुस्तकमा प्रश्रित शिक्षामन्त्री भएका बेला सामुदायिक विद्यालयमा कक्षा आठसम्म निःशुल्क गराइएको, १२ वर्षदेखि ४५ वर्ष उमेरका नागरिकलाई दुई वर्षभित्र साक्षर बनाउने योजना ल्याएको, शिक्षामा मातृभाषालाई प्राथमिकता दिने नीति ल्याएको, पिछडिएका जातिका विद्यार्थीलाई छात्रवृत्तिका कार्यक्रम ल्याएको, प्राविधिक शिक्षामा जोड दिएको, राष्ट्रिय प्रतिभा पुरस्कारको थालनी भएको आदि अनेक सुधार र सांस्कृतिक रुपान्तरण कामबारे सविस्तार उतारिएको छ ।

राजनीति र साहित्यको आरोहअवरोहका क्रममा प्रश्रितले ऋणधन गरेर स्वयम्भूपारी पहिलो घर ‘गौँथलीको गुँड’ बनाउनुभएको र पछि त्यसलाई बेचेर थानकोटको वाणास्थलीमा एक रोपगी जग्गा किनेर नयाँ घर बनाउन पुग्नुभयो । पछिलो दसकका नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य पनि भएपछि प्रश्रितको आर्थिक जीवन सहज भएको देखिन्छ भने उहाँका छोरा डा विजय पौडेल आफ्नै व्यवसाय र राजनीतिक क्षेत्रमा पनि आबद्ध हुनुभएकाले पनि थप सहजता भएको हुनसक्छ ।

समग्रमा प्रश्रितका बाल्यकालदेखि हालसम्मका राजनीतिक, साहित्यिक, सांस्कृतिक र सामाजिक मोर्चाका मुख्यमुख्य घटना र सन्दर्भलाई प्रसाईंले केस्राकेस्रा केस्रा केलाउनुभएको छ । प्रश्रितकका कृतिको सङ्क्षिप्त परिचय र उहाँको संयोजकत्वमा सम्पन्न महाकवि देवकोटाको शतवार्षिकी समारोहका गतिविधिसमेत समेटिएका छन् । मोदनाथ प्रश्रितको जीवनी र व्यक्तित्व, नेपालको कम्युनिष्ट इतिहास, नेपालका सांस्कृतिक रुपान्तरण र महिला तथा जातीय मुक्तिका अभियानमा चासो राख्ने र अध्ययन गर्नेका लागि यो पुस्तक उपयोगी देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।