दैनिक कम्तीमा चार हजार पाइला हिँड्नुस्
एजेन्सी । नयाँ अध्ययनले पाँच हजार पाइलाभन्दा कम हिँड्दा पनि धेरै फाइदा हुने निष्कर्ष निकालेको छ । यसअघिका अध्ययनले कम्तीमा दैनिक १० हजार पाइला हिँड्नुपर्ने सुझाव दिँदै आएका थिए ।
पोल्यान्डको मेडिकल युनिभर्सिटी अफ लोड्ज र अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले गरेको यस अध्ययनका क्रममा विश्वका दुई लाख २६ हजार मानिसमा सर्वेक्षण गरिएको थियो ।
अध्ययनअनुसार चार हजार पाइला हिँड्दा अल्यापुमै रोगी भएर मृत्यु हुने जोखिम घट्छ । दुई हजार तीन सय पाइला हिँड्दा हृदय र रक्तनलीमा फाइदा पुग्छ । ‘जति धेरै हिँडियो, त्यति धेरै स्वास्थ्य फाइदा हुन्छन्,’ अनुसन्धानकर्ताले भनेका छन् । सबै उमेर र लिंगका मानिस हिँड्दा लाभान्वित हुन्छन् ।
सबैभन्दा ठूलो फाइदा ६० पुग्न बाँकी रहेका मानिसमा देखिने लोड्ज विश्वविद्यालयका प्रोफेसर मासिइज बानाचले बताए । खानपान र व्यायाममा ध्यान दिँदा कार्डियोभास्कुलर जोखिम कम गरेर आयु लामो हुने उनले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार पर्याप्त शारीरिक गतिविधिको कमीका कारण प्रत्येक वर्ष ३२ लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।
बिहान हिँड्नु उत्तम
मानिसले आफ्नो समय तालिका मिलाएर साँझ–बिहान हिँड्दा हुन्छ । तर, साँझको तुलनामा बिहान हिँड्नु धेरै फाइदाजनक हुने चिकित्सकहरू बताउँछन् । भारतका चर्चित कार्डियोलोजिस्ट डा. विमल चार्जर भन्छन्, ‘पहिलो कुरो, तपाईंको रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसेराइड दुवै कम हुन्छ । कोलेस्ट्रोलले ब्लकेजको काम गर्छ र मुटुसम्बन्धी समस्या निम्त्याउँछ । वाकिङ गर्दा तपाईंको शरीरमा फ्याट कम हुन्छ र कोलेस्ट्रोल र ट्राइग्लिसेराइडसम्बन्धी समस्या कम भएर जान्छ ।’
उनी थप्छन्, ‘सुगर कन्ट्रोल हुन्छ । क्यालोरी कट हुन्छ, नर्मल मानिसले एक मिनेटमा बसिरहँदा एक क्यालोरी, सवा क्यालोरी खर्च गर्छ । तर, यदि उसले वाक ग¥यो भने तीन क्यालोरीदेखि ५–६ क्यालोरी खर्च गर्छ । नेचुरल्ली क्यालोरी घट्दै जान्छ र तपाईंको तौल घट्दै जान्छ । स्ट्रेस कम हुन्छ । हाड–जोर्नी र स्पाइनको समस्यामा पनि फाइदा मिल्छ ।’


