काङ्सोरे लङमार्चबाट तिम्बुङ वरक पुग्दा
इक्साहाङ चेम्जोङ । २०७६ श्रावण १३ गते साँझ भएर रातको संकेत दिई सकेको थियो । म आफ्नो पसल बन्द गरेर घरतिर प्रस्थान गर्दै गर्दा । मित्र टंक सेलिङले कल गर्नु भो । उहाँले एकै श्वासमा बेलिबिस्तार लाउनु भो, ‘इक्सा सर लु केही गर्नु पर्ने भो माथि तिम्बुङ वरकलाई त विष्णु पोखरी नामांकन गर्न लागेछन् तिम्बुङको प्राकृतिक सौन्दर्य माथि आँच आउने खालको मन्दिर बनाएर बिष्णुको मूर्र्ती राख्न लागेछन् के गरौं ? लिम्बुवान स्प्रीङ आन्दोलनबाट केही गर्ने कि ?’ उहाँको यी वाक्यांशहरु सुन्दा सुन्दै मेरो मुटुबाट संचार भएका प्रत्येक नशाका रगतहरु तातिन थाले । छातीभित्रको मुटु तातिएर मेरो मुखबाट बिष्फोट भयो । ‘यदि यो कुरा सत्य हो भने काङ्सोरे लङमार्च तयार गरौं र यो झापाबाट म पैदल हिँडेर तिम्बुङसम्म पुगेर तिम्बुङको अस्तित्व बचाउन तयार छु । म रहूँला नरहूँला तर तिम्बुङ तिम्बुङ नै रहनुपर्छ ।’ जवाफमा टंक सरले भन्नू भो । ‘लु त्यहाँसम्म जाने तयारी तपाईं गर्नु होला म वातावरण मिलाउँछु ।’
घरमा पुगेर फेसबुक खोलेँ । टंक सरले विभिन्न ग्रुप र पेजहरुमा यसका बारे जानकारी दिई सक्नुभएको रहेछ । सबै पहिचान पक्षधर, अस्तित्व चाहनेहरुले ऐक्यबद्धता र समर्थन दिन थाले । बौद्धिक युवाहरु यूकेबाट अमित थेबे र अमेरिकाबाट गणेश वरूम्हाङ तातिनु भो । कोरियाबाट सेसेफुङ शेर्मा र गणेश केरुङ तातिनु भो । मकाउबाट गुप्त सन्देश । साउदी अरबबाट सुसुवेन सन्जय तुम्बाहाङ्फे, रविन्द्र केदेम र फबिन तुम्बापो । नेपालबाट मधु केरुङ, सागर केरुङ, सुनिल आङ्बो लगायत देश बिदेशमा रहनु भएका बौद्धिक युवाहरुले माहोल तताए । निकै छलफल पश्चात् ‘लिम्बुवान स्प्रिङ आन्दोलन’को आयोजनामा ‘काङ्सोरे लङमार्च’ अन्तर्गत ‘तिम्बुङ वरक बचाऊ’ अभियान चलाउने भनेर निर्णय भयो । सबै साथीहरुले मलाई यसको संयोजकको लागि प्रस्ताव राख्नु भयो । म धर्मसंकटमा परें । नकार्न पनि सकिनँ स्वतः स्वीकार्न पनि सकिनँ । अस्वीकार गरौँं त यस्तो ऐतिहासिक कार्यमा आफ्नै सामुदायमाथि निरीह बन्नु जस्तो लाग्यो । हारेको सिपाही जस्तै लाग्यो । अनि सम्झेँ आफ्नै सामुदायमाथि घात, शोषण, दमन, अन्याय, अत्याचार भएको । त्यै सम्झेर मैले स्वतः स्वीकारेँ ।
भाेलिदेखि कामहरु धमाधम हुन थाल्यो । साउन २७ गते काङ्सोरे लङमार्च शुरु गर्ने भनेर यूकेबाट अमित थेबेले विज्ञप्ति तयार पार्नुभो । टंक सर अन्य प्राविधिक कार्यमा लाग्नु भो । म चाहिँ टोली बनाउनेतिर लागेँ । मैले मेरो सहयोगीहरुमा सुनिल आङ्बो भाई र सुमन सहयात्री लुङालाई सहसंयोजकको जिम्मा दिए । यो भित्रमा प्रयास वान्तवाको पनि मुख्य भूमिका रहने र काम उतिकै गर्ने भन्ने सल्लाह भयो । जम्मा ४० जना मात्र जाने भन्ने सल्लाह भएता पनि तिम्बुङसँगको अगाध प्रेमले थुप्रै जना जान इच्छुक देखियो । प्रयासजी र मैले जम्मा ५० वटा भेष्ट छाप्न लगाएर २७ का लागि अन्य तयारी गर्न लाग्यौँं ।
२७ गतेको दिन । मैले झापाबाट पैदल हिड्ने भनेता पनि विविध कारण जस्तैः वर्षायाममा खोला खोल्सी पहिरोको कारण बाटोमा समस्या हुने । यसरी धेरै दिनको यात्रामा ४०/४५ जनालाई खानबस्नका समस्या हुने भएकोले जहाँसम्म यातायात जान्छ त्यहीँसम्म गाडीमा जाने त्यसपछि हिडेर जाने भन्ने सल्लाह बमोजिम हामीले झापाबाट दुईवटा बोलेरो तयार ग¥यौं । सुनिल आङ्बो काठमाडौबाट पहिलो दिन नै मेरो घरमा पुगिसकेको थियो । बिर्तामोडमा जम्मा भएर जाने भन्ने सूचना गरेका थियौं । बिहानको खाना फेदेनमा खाने ब्यवस्था मिलाएका थियौं । ढिलो छिटो आउने क्रमले लगभग बिहानको ९ बजे मात्र हामी प्रस्थान ग¥यौं । जब हामी चढेको गाढी बाटो लाग्यो त्यहाँदेखि मलाई प्रहरी प्रशासनबाट लगातार फोन आउन थाल्यो । कति सीधा प्रश्न थिए कति घुमेका ।
अन्दाजी १२ः०० दिउँसो हामी फेदेन पुगेका थियौँ होला । झापाबाट हामी झन्डै ३० जनाको संख्यामा थियौं । फेदेन बजारकै हिमशिखर होटलमा हाम्रो लागि खानाको ब्यवस्था गर्नु भएको रहेछ । त्यहाँका सक्रिय आदरणीय दिलेन्द्र कुरुम्वाङ, मधु केरुङ, मंगल बेघा, सागर केरुङ, शंकर आत्मा, दिवश लाओती आदि हाम्रा सहयोगीहरुले । हामीलाई अत्यन्तै गर्वका साथ स्वागत गरेर खानपान गराए पश्चात् सुम्हात्लुङमा हामीले पत्रकार सम्मेलन गरेर आन्दोलनका लागि मिडियामा प्रष्ट पा¥यौं । ऐतिहासिक स्थल सुम्हात्लुङमा शक्ति पनि मागेर जाने भन्ने निजी योजना थियो । त्यहीँ अनुसार नै फेदेनका व्यवस्थापक मित्रहरुले त्यो स्थानमा आयोजना गर्नु भएको हो ।
फेदेनबाट मुख्य जिम्मेवारीका साथ दिलेन्द्र कुरुम्बाङ दाइ थपिनु भो । साथमा सजीव योङ्या, शंकर आत्मासहित एकदमै जुझारु युवायुवतीहरु थपिनु भो । त्यहाँदेखि त मलाई संसार जित्छु भन्ने आँट आउन थाल्यो । फेदेनबाट दुईवटा गाडी थपेर ४ वटा भयो । त्यहाँदेखि हामी फेदेनकै साथीहरूको ब्यवस्था अनुसार अगाडि बढ्न थाल्यौं । झन्डै ३ बजेतिर थर्पू पुग्दा हामीलाई पर्खेर मचिन्द्र बेघा गर्जिन्दै हुनुहुन्थ्यो । उहाँकै आसपासमा तिम्बुङ वरकलाई थाहा नै नदिइ बिष्णु पोखरी बनाउन लागेकोमा आक्रोशका ज्वालाहरु ओकल्दै हुनुहुन्थ्यो ।
त्यहाँदेखि सिदिङ्बा गाउँपालिकालाई ज्ञापनपत्र बुझाउनु पर्ने थियो । मचिन्द्र बेघाले एउटा गाडी तयार गर्नु भएको रहेछ । अन्य साथीहरूलाई फलैचा (मचिन्द्र बेघाको घरमा वास बस्ने गरी) पठायौं । र म, दिलेन्द्र कुरुम्वाङ मचिन्द्र बेघा, नरकुमार माङ्मु र फणिन्द्र मेयोङ सिदिङ्बा गाउँपालिकाको कार्यालय साप्लाखुतिर लाग्यौंँ । इङ्वाखोला तरेर केही माथि पुग्दा बाटो अति नै खराब जो कि गाडी नै जान नसक्ने स्थिति रहेछ । हामीलाई अगाडि जानकारी पाए अनुसार गाडी जान्छ बाटो राम्रै छ भन्ने थियो । मचिन्द्र बेघाले फोन लगाउन थाल्नु भो । निकै जनालाई फोन गरेपछि मात्र थाहा भो कि हामी साप्लाखु जाने बाटो छोडेर अर्को बाटो लागेछौं । फेरि फर्केर इङ्वा खोला छेउबाट तेर्साे जाने बाटो तिर लाग्यौं । बाटो त ठूलै रहेछ । तर ट्याक्टरले अति नै बिगारेको रहेछ । त्यहाँ देखि केही माथी पुग्दा साँझ प¥यो । जब गाउँघर देखिन थाल्यो बाटो पनि अति नै विकराल भेटियो । गाडी फसेर निस्कनै सकेन हामी सबै ओर्लेर ठेल्दा पनि सकेनौं । धन्न एक हुल केटाहरु फुटबल खेलेर आउँदै रहेछन् । तिनीहरुले ठेलेर निकाल्न सहयोग गरे । त्यसपछि पटक पटक ओर्लिन्दै ठेल्दै बढो दुःखले रातको ११ः४५ तिर साप्लाखु पुगेछौं । हाम्रो गाडी पुग्ने ठाउँमै ३/४ जना प्रहरीले स्वागत गरेर बसेका रहेछन् । हामीलाई केही सोधपुछ गरेर प्रहरीले नै बस्ने ठाउँको लागि एउटा होटल तयार पारेको बताएर त्यतातिर बोलाए । प्रहरीलाई पूर्ण जानकारी रहेछ यति जनाको संख्यामा यता आउदैछन् उता यति जना गए भनेर । तर हामीले आफैले एउटा होटलमा उठाएर बस्ने व्यवस्था मिलायौं । त्यहाँ पनि उठाउन प्रहरी हवल्दारले सहयोग गरे । खाना पकाउन लाएर खाँदासम्ममा रातको झन्डै २ बजेछ । ढल्केर केही निदाउन लाग्दा नरकुमारको सिरानी माथी बिरालो र मुसाको झगडा परेछ तर्सेर झन्डै भाग्नु भो ।
बिहान उठेर चिया पिउँदै गर्दा प्रहरीले गाउँपालिका अध्यक्ष हाम्रो स्वागत गर्न कार्यालय आईसक्नु भएको खबर दिएर हामी ज्ञापनपत्र बोकेर तेता तिर लाग्यौं । केही कर्मचारीहरु पनि आउनु भएको रहेछ । परिचय आदानप्रदान पछि ज्ञापनपत्र पढेर बुझायौं । मन्दिर बनाई सकेको विष्णुको मूर्ती पनि तयार भएको तर अब मूर्ती नराख्ने । त्यो मन्दिरलाई नभत्काई दिनु भन्ने धारणा राख्नु भो गाउँपालिका अध्यक्षले । अहिले यहाँ केही भन्न नसकिने स्थलगत अवलोकन गरेर मात्र भन्न सकिने कुरा बताएर हामी निस्क्यौं । त्यो समयमा पान्थर र ताप्लेजुङको अमय कार्यालयमा व्यापक कुरा चल्दै रहेछ । साप्लाखुमा ४/५ जना गएर ५० जना चाहिँ तिम्बुङतिर मन्दिर भत्काउन पठाए भनेर । त्यहाँका स्थानीय प्रहरीलाई जानकारी आएछ । कसो गरेर हुन्छ त्यहाँ आउनेहरुलाई रोकेर उता ५० जनालाई पनि रोक्न लगाउने भन्ने प्लान रहेछ । असईले धेरै अनुरोध गर्नुभो । यहीँबाट मिलाउनु नजानु यदि गएमा हामी पनि जानुपर्छ हामी पनि दुख पाउँछौं तपाईंहरुलाई पनि दुःख । तर हामी मानेनौं जसरी पनि पुग्ने भनेर हिड्यौं । बेलुका खाएको बसेको सबै जिम्मा त्यै गाउँपालिकाका अधिकृतले जिम्मा लिनुभो । उहाँ पान्थर याङ्नामकै लिम्बु हुनुहुँदोरहेछ । उहाँ लगायतलाई धन्यवाद दिएर हामी बिहानको खाना मचिन्द्र बेघाको घरमा खाने व्यवस्था मिलायौं । त्यहाँका अन्य टोलीलाई मुभ गराएर कालीखोला पठायौं ।
हामी करिब ११ बजे फलैँचा मचिन्द्रको घरमा पुग्यौं । खाना खाएर बाटो लाग्दा एक बजिसकेको थियो । बेतेनीदेखि गाडीको यात्रा अन्त्य भयो । अघि जाने टोलीहरुले केही सामान छाडेका रहेछन् । एक जना सहयोगी खोजेर भारी बोक्न लायौं । भीरपाखाको बाटो अति खतरापूर्ण रहेछ । सम्हालिदै कालीखोला उकालो टेक्दा साँझ प¥यो । मोबाइलको उज्यालो बालेर उकालोलाई हामीले नाप्दा जुकाहरुले हाम्रो खुट्टादेखि शीरसम्म नाप्न थाल्यो । थकित अवस्थामा कालीखोला वास बस्ने घरमा पुग्दा साथीहरुले खाना पकाई सकेको रहेछ । केही आलु र मालिङ्गोको तामामा रस लाएर पकाएको भिन्न स्वादले खाईयो । अघिका सबै साथीहरु त्यहीँका दुई तीनवटा घरमा बसेका रहेछन् । म, सुनिल र सुमन लुङा (सहसंयोजकहरु)सँग एउटा कोठामा बस्यौं । भोलिको कार्यक्रमबारे जो सल्लाह र छलफल गर्नु थियो । एक चोटि मैले दुवै जनालाई अनुरोध गरेँ । बेतेनीदेखि कालीखोलासम्म अति कठिनले पुगेकोले यो भन्दा उकालो जान नसक्ने भएकोले यहाँदेखि उता दुईजनाले टोली सम्हालेर कार्यक्रम गर्नु भनेर । तर दुवै जनाले एउटै आवाज निकाले । तपाईं हिड्न सक्नु भएन भने पालैपालो बोकेर भए नि लाने भनेर । म बाध्य भएँ ।
बिहान केही चिया खाजा खाएर बाटो लाग्यौं । जो जो हिड्न सक्छन् अर्थात अगाडिको टोली उहाँहरुलाई तिम्बुङ नजिकको (सिरानको) गोठमा बस्नु भनेर निर्देशन ग¥यौं । त्यसपछि क्रमशः ४÷५ वटा गोठमा बस्ने सल्लाह भयो । दुईजना भारी बोक्ने त्यहीँको स्थानीयले केही सामान बोकाएर पाठायौं । बाटोमा भोक लाग्दा खाने सातु चिउरा आ–आफूले झोलामा बोक्यौं । जब उकालो लागियो । अनि थाहा भयो यो ठाउँ त जुकाहरुको राजधानी रहेछ । उकालोको पनि महाउकालोको बाउ रहेछ । मधेशको हावापानीले खाईसकेको ज्यान त्यसमाथि खुट्टामा फ्रयाक्चर भएको म । हिड्न सहज त पटकै थिएन । तै पनि अमर तावा जो ८० बर्षको बुढा हामी सँगै हिड्दै हुनुहुन्थ्यो । त्यो देखेर पनि चुपचाप घिस्रिन्दै हिड्न बाध्य भएँ ।
कैयौं जंगल, कैयौं भञ्ज्याङ, कैयौं खर्क काट्दै गयौं । कहिले अति रमणीय डाँडामा पुग्छौं । कहिले अत्यासलाग्दो भीरमा, कहिले कहालीलाग्दो उकालोमा, लाग्छ यो सेरोफेरो अनन्त छ कहिलै टुंगिदैन । पानी, सातु र चिउरा खाँदै अथक प्रयासपछि हाम्रो समूह साँझ पर्नै लाग्दा एउटा गोठमा पुग्यौं । बिहानको सल्लाह अनुसार हाम्रो बस्ने गोठ त्यहीँ थियो । जब गोठमा पुगेर झोला मात्र बिसाएको थिएँ मलाई अति गाह्रो महसुस भयो । श्वास फेर्न अति नै गाह्रो हुन थाल्यो । हाई आएको आएकै भो वाकवाकी हुन थाल्यो । मैले यो कुरा साथिहरुलाई भनेँ । मलाई लेक लागेको रहेछ । शंकर आत्माले अदुवा लसुन चपाउनु लाउनु भो । तातो पानी दिएर सातु सँग पिउनु लाउनु भो टाउको मसाज गर्नु भएपछि केही समयमा मलाई केही आराम भए जस्तो लाग्यो । खाना खाएर घुस्रीमिस्री सुत्यौं । बिहान उठ्दा आकाश मज्जाले खुलेको थियो । त्यहाँको प्रकृतिक सौन्दर्य नियाल्दा स्वर्गमा पुगेझैँ लाग्यो । अति नै मनमोहक दृश्यले मन आकर्षित गरेकोले हिजो हिँडेको थकाई महसुस नै भएन । हामी बसेको गोठ देखि ८/१० किलोमिटर रहेछ तिम्बुङ वरक पुग्न । बिहान तातो पानी मात्र पिएर हामी बाटो लाग्यौं । चौरी र भेडाहरुसँग फोटो खिच्दै तिम्बुङ वरक पुग्दा साँच्चिकै स्वर्गमै पुगेझैँ लाग्यो । पोखरीको सुन्दर दृश्य छर्लङ्ग देखियो । त्यतिञ्जेल लगभग हाम्रो टोलीहरु जम्मा हुँदै थिए । दुई तीन सय मिटरको मात्र अगाडि पछाडि थियौं । हाम्रो टोली जम्मा भएर कार्यक्रम हुनै लाग्दा सशस्त्र प्रहरीको टोली पनि आईपुग्यो । जब सशस्त्र आईपुग्यो पोखरीबाट कुहिरो उठेर पोखरीलाई छोप्न थाल्यो । हामीले छिटो छिटो कार्यक्रम शुरु गर्यौं । त्यहीँ कोणसभा गरेर नवनिर्मित मन्दिरमा ताला लाउने कार्यक्रम थियो । ताला लाउन नदिने प्रहरीको अडान थियो । केही घम्साघम्सी भएपछि हामीले ताला लाउन सफल भयौं । कार्यक्रम सकेर फर्किदा कालीखोला पुग्ने सल्लाह भयो ।
फर्किदा सबै टोलीहरुलाई अग्र्यानिक जडीबुुटि खाएको भेडाको मासु खुवाउने मचिन्द्रको विचार रहेछ । बिहानै हाम्रो भारी बोकेर ल्याउने एकजनालाई व्यवस्था मिलाउन लाउनु भएको रहेछ । हामी फर्केर गोठमा खाना खाँदै गर्दा भेडा खोज्ने मान्छे निकै मातेर सानो भाले काखीमा च्यापेर आउनु भो । भेडा कतै नपाएर भाले ल्याएको कुरा बताए । मचिन्द्रजी खानाले सर्किने गरि हाँस्नु भो । यति धेरैको टोलीमा एक केजीको भालेले के गर्ने ? जहाँबाट ल्याएको त्यहीँ पु¥याउनु लाउनु भो । खाना खाएर हातमात्र धोएर हामी ओह्रालो लाग्यौँ । कालीखोलाको गन्तव्य ताकेर ।
मलाई उकालो हिड्न भन्दा अझै गाह्रो भो ओह्रालो झर्नु । तैमाथि निकै टाढा पुग्नुपर्ने भएकोले हिडाइँको चाल बढायौं । धेरै ओह्रालोहरु छिचोलेपछि बिखेचौर पुग्दा साँझ पर्न थाल्यो । त्यहाँदेखि पनि कालीखोला पुग्न निकै लाग्थ्यो । अर्को समस्या बिखेचौर देखि ओह्रालो कालिखोला बाहेक बस्ने कुनै सुबिधा थिएन । हामी निरन्तर झर्न थाल्यौं । मोबाइलको टर्च बालेर । कालीखोला पुग्नै लाग्दा नरकुमार चिप्लेर खोल्सातिर झर्नु भो । माथिबाट बोलाउदा जिउँदै छु है भनेर कराउनु भो । बल्ल बल्ल निस्केर आउँदा झन्डै एक पाथी जुकापनी जिउमा ल्याएर निस्किनुभो । निकै कठिनले कालीखोला वास बस्ने ठाउँमा पुग्दा ९ः३० बजेको रहेछ । धन्न अगाडि पुगेका साथीहरुले खाना पकाउनु भएको रहेछ । खाएर सुत्यौं । बिहान उठ्दा जुका पनि अघाएर हामी सँगै सुतेका भेट्यौं ।
बिहान तातो पानी खाएर फलैँचा पुगेर खाना खाने योजनासहित हामी बाटो लाग्यौं । म, दिलेन्द्र दाई, मचिन्द्र दाई, नरकुमार, अमर तावा चाहिँ याङ्वरक गाउँपालिकालाई ज्ञापनपत्र बुझाउने भनेर बेतेनीदेखि गाडीको व्यवस्था मिलायौं हामी त्यहीँ खाना खाएर फेदेन लाग्यौं । गाउँपालिका अध्यक्ष फेदेनमै भेटिने सूचना आएको थियो । अरु टोली चाहिँ फलँैचा खाना खाएर गाडीमा आउने सल्लाह भयो । ठाउँ ठाउँमा हामीलाई स्वागत सम्मान गर्ने कार्यक्रम राखेका रहेछन् तर समयको अभावले त्यो कार्यक्रममा उपस्थित हुन सकेनौं । म अझै पनि माफी चाहन्छु । जब हामी फेदेन पुग्यौं । फेदेन बजारमा एकछिन आफू कुनै लज व्यवस्था गरेर नुहााईधुवाई गरेर याङ्वरक गाउँपालिका अध्यक्षलाई भेटेर ज्ञापन पत्र बुझाउने भन्दै छुट्टिन्दै गर्दा म लिम्बुवान गेट पुग्दा मलाई कुरा गर्ने बहानामा अनेकौं प्रश्नहरु सोध्न थाल्यो । मैले पनि गोपनीयताको ख्याल गर्दै जवाफ दिएर फर्काएँ । अनि मात्र मलाई केही आरामको महसुस भयो । फेदेन पुग्दा कवि कुनामा मेरो विशेष उपस्थितिमा सिर्जना वाचन कार्यक्रम राख्नु भएको रहेछ । मैले एउटा कविता वाचन गरेर शान्तिको लामो श्वास तानेँ ।
यसबीचमा मलाई पान्थरका जासुस, सीडीओ र ताप्लेजुङका सीडीओ लगायत विभिन्न पत्रकारहरुले बारम्बार कल गरेर अनेकौं प्रश्नहरु सोधेर हैरान पारेको थियो । आगामी योजनाहरुसम्म सोध्न भ्याएको थियो । मैले भने स्प्रिङले पूर्व योजना बनाउँदैन । जतिखेर जहाँ समस्या हुन्छ त्यहाँ तत्काल योजना बनाउछ भनेर टार्थें । फेदेनबाट अन्य साथीहरुलाई बिदाई गरेर म दुई दिन बसेँ । म फर्किन्दै गर्दा फेरि ताप्लेजुङको सीडीओले कल गर्नुभो । वार्ताका लागि आउनु भनेर । मैले दिलेन्द्र कुरुम्बाङ, मचिन्द्र बेघा र सुमन सहयात्रीहरुलाई जिम्मा दिएर विर्तामोड पुग्दा पत्रकार मित्र मिलन लिम्बुले पर्खेर बस्नु भएको रहेछ । मलाई खदा लगाई दिएर सम्मान गर्नु भो । त्यसको बदलामा मैले तिम्बुङ वरकको पवित्र पानी दिएँ जुन मैले बोतलमा भरेर ल्याएको थिएँ । उहाँले शीरमा लाएर पवित्रताको आभास गर्नुभो । त्यो साँझ जब घरमा पुगेर त्यो पानी घरको सबै तिर छर्किएँ मलाई बढो आनन्द र जितको अनुभूति सँगै गर्व लाग्यो । अन्त्यमा तिम्बुङ वरक बचाऊ अभियनलाई साथ सहयोग र समर्थन गर्नुहुने सम्पुर्ण व्यक्ति संघसंस्था र राजनीतिक दलप्रति आभार व्यक्त गर्दै तिम्बुङसम्म पुगेर साथ दिनुहुने ४५ जना सबै सहयोद्वाहरुलाई काङ्सोरे अभिवादन टक्राउँदछु ।
(लेखक चेम्जोङ लिम्बुवान स्प्रिङ आन्दोलनसम्बद्ध अभियन्ता हुन् ।)


