सङ्घर्षले खारिएका थपलियाका ‘जीवन उपयोगी विचारहरु

प्रकाश सिलवाल/काठमाडौँ, २० असोज : मान्छेका सुख, दुःख, माया, घृणा सबै व्यवहारको कसीमा जाँचिएका हुन्छन् । बौद्धिकरुपमा सक्षम र वैचारिकरुपमा सशक्त हुने तर व्यवहारमा राम्रो नहुने मानिसले समाजलाई केही दिन सक्दैनन् । मानव मस्तिष्कमा परिस्थिति, समय, अवस्था, घटना, व्यवहारले कालजयी भनाइ प्रकट हुन्छन् । यस्तै–यस्तै विचार र भावनाले वरिष्ठ पत्रकार एवं लेखक गोपालप्रसाद थपलियाका मनभित्र भावना उकुसमुकुस हुने गर्दछन् । विचार र भावनाका तिनै उच्छवासलाई समेटेर उहाँले हालै ‘जीवन उपयोगी’ पुस्तक प्रकाशनमा ल्याउनुभएको छ ।

“व्यवहारतः परीक्षण भएर बनेका भनाइ, नीति, सिद्धान्त र विचार बन्दछन् । मानव हितमा नभएका भनाइ जति राम्रा भए पनि ती काम लाग्दैनन्” भन्ने विचार राख्नुहुने वरिष्ठ पत्रकार थपलिया पछिल्लो समय साहित्यका विविध विधामा लेखन र प्रकाशनमा व्यस्त हुनुहुन्छ ।

राजनीतिज्ञका साथै प्रेस स्वतन्त्र सेनानी र नेपाली पत्रकारिता जगत्का भीष्मपितामह मानिनुहुने छलफल साप्ताहिकका संस्थापक प्रधानसम्पादक थपलियाका यसअघि सत्ताको मान्छे (कविता सङ्ग्रह), नायकको खोजी (कथासङ्ग्रह), गीतसङ्ग्रह प्रकाशन भइसकेको छ ।

दक्षिण एसियाली स्वतन्त्र पत्रकार सङ्घ (साफ्मा) नेपाल च्याप्टरका संस्थापक अध्यक्ष थपलियाले पञ्चायतकालमा मिसन पत्रकारिताका गरेकै कारण जेल, नेल र अनेक कष्ट भोग्नुपरेको थियो भने लोकतान्त्रिक जनआन्दोलनमा प्रहरीको प्रहारबाट घाइते भई लामो समय नशासम्बन्धी समस्या भएर स्वदेश र विदेशमा उपचार गराउन पुग्नुभयो ।

थपलियाले जीवनकालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा अनेकौँ उथलपुथल देख्नुभयो । उहाँको सम्पूर्ण जीवन जनतामा निरङ्कुशताले गरेको अन्याय, अत्याचार र दमनविरुद्ध लड्दैमा बितेको छ । यसबीच उहाँले निरङ्कुशताका अनेकौँ यातना भोग्नुभयो । शरीर निरङ्कुश सत्ताका दमनले जीर्ण भयो । तर जनता र राष्ट्रप्रतिको मेरो कर्तव्यलाई उहाँले एक चिम्टी पनि तल पर्न दिनुभएन । मुलुक र जनताको हितका निम्ति आफूलाई अर्पण गर्न उहाँ कहिल्यै पछि पर्नुभएन ।

जीवनमा तिनै सङ्घर्षमयी अनुभवसमेतका आधारमा विचारलाई तिखार्दै थपलियाले पछिल्लो समयमा साहित्यमा अभ्यस्तता बढाउनुभएको छ । अस्वस्थ्य भएर पनि मोबाइलमा एक हातका औँलाले टाइप गरेका भरमा उहाँले कृति प्रकाशन गर्दै आउनुभएको छ ।

स्वास्थ्यले पूर्ण साथ नदिए पनि थपलिया शोषित पीडित जनताको सुख र समृद्धिका लागि सङ्घर्षशील भएर लाग्न तत्पर हुनुहुन्छ । समय, घटना, स्थान र वातावरणको वस्तुतथ्यमा आधार भएर जीवनमा आफूले देखे भोगेका अनुभवलाई यस पुस्तकमार्फत उहाँले पस्किनुभएको छ । “जुनबेला जे भयो, जे मेरो विवेकले जाँच्यो, त्यसैबेला मोबाइलमा बूढी औँलाले लेखेर सामाजिक सञ्जालमा पनि राख्दै गएँ । थुप्रै क्रिया र प्रतिक्रिया प्राप्त भए । मैले भेटेका र अनुभव गरेका कति मान्छेहरु व्यवहारले कति सही र गलत भन्ने भोगेर मैले त्यसको परिणामबारे पनि सारसंक्षेपमा लेखेको छु”, पुस्तकबारे उहाँको भनाइ छ, “मेरा यी भनाइ तथ्यका आधारमा छन् या छैनन् ? यो जिम्मा सबै पाठकमा छोडिदिएको छु ।”

थपलियाले भनेजस्तै वास्तवमा सबैले आफ्नो जीवनतिर फर्र्केेर हेर्नैपर्छ । मान्छेका आ–आफ्नै व्यवहारिक अनुमान हुन्छन् । सबैको जीवन एकनासले बित्दैन । विभिन्न किसिमले मान्छे जीवन बिताउने गर्दछन् ।

थपलियाको जीवन सुख र सफलताको जीवन नभई त्याग र बलिदानको शृङ्खला भएको देखिन्छ । अनेकौँ आरोहअवरोह र कठिनाइ जीवनमा आए पनि उहाँले देश र जनताको सुख र समृद्धि प्राप्त गर्ने बाटोलाई त्याग्नुभएको छैन । उहाँ पद, प्रतिष्ठा र पैसामा आकर्षित नभइ जनताको न्यायपूर्ण आन्दोलनलाई साथ दिन तल्लिन हुनुहुन्छ । ‘जीवन उपयोगी’ पुस्तकमा यस्तै सन्दर्भ र अनुभवले विचारका रुप लिएका छन् ।

पैरवी प्रकाशनले प्रकाशन गरेको एक सय ६४ पृष्ठको यस पुस्तकले जीवनमा आशा र निराशा के हो ? असफलताबाट सफलता कसरी प्राप्त गर्ने ? देश र जनताका लागि शपथ खाने नेताहरुले कस्ता घात गर्न पुग्छन् ? भ्रष्ट र दलालको धन्दा के हो ? जस्ता विषयमा बुँदागत तथा सटिक विश्लेषण र प्रवृत्तिगत चित्रण गरिएको छ । भूमिकामा प्रा डा हेमनाथ पौडेलले व्यक्त गरेझैँ थपलियाका अभिव्यक्ति उपयोगी र मननीय छन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।