माटोका भाँडा बनाउन प्रविधिले सहज

घोराही (दाङ), २८ असोज : गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो अहिले आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन ।

परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटोे मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका माटोका भाँडा पकाउन आधुनिक भट्टी निर्माण भएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको राजुकमारले बताउनुभयो ।

“पहिले जङ्गलबाट ल्याएको माटो मुछ्नै समस्या हुन्थ्यो, तर अहिले मेसिनबाट एकैछिनमा माटो तयार हुन्छ”, राजकुमारले भन्नुभयो, “प्रविधिका बारेमा थाहा नहुँदा काममा ढिलाइसँगै दुःख हुन्थ्यो, तर अहिले यी समस्या हटेका छन् ।” प्रविधिले गर्दा काम छिटो हुनुका साथै धेरै सामग्री उत्पादन गरेर बिक्री गर्दा आम्दानीसमेत बढेको उहाँको भनाइ छ ।

राजकुमारको जस्तै अनुभव सोही ठाउँ निवासी ५६ वर्षीय तारा थारू कुमालको पनि छ । लामो समय परम्परागत आफूले माटो मुछ्नेदेखि हातेचक्काको भरमा माटोका सामग्री बनाएका ताराले विगत एक वर्षदेखि मोटरको माध्यमबाट चक्का चलाएर माटोका भाँडा बनाउँदै आएको बताउनुभयो । “पहिलेको तुलनामा अहिले माटो मुछ्नदेखि बनाएका भाँडा पकाउनसमेत सजिलो भएको छ”, उहाँले भन्नुभयोे, “जसले गर्दा थकाइ नलाग्ने र छोटो समयमै धेरै काम गर्न सकिने भएको छ ।”

माटोका भाँडा बनाउने पेसामा दुःख र मेहनत धेरै गर्नुपर्ने भएका कारण लामो समय गर्न नसक्ने अवस्था भएको भन्दै प्रविधिको सहजताले पछिसम्म पनि काम गर्न सकिन्छ कि भन्ने आँट पलाएको उहाँ बताउनुहुन्छ । “परम्परागतरूपमा पहिले काम गर्दा माटो मुछ्नेदेखि पकाउन समस्या थियो, कहिलेकाहीँ त मेहनत नै खेर जाने अवस्था हुन्थ्यो”, पत्रिङ्गा निवासी ताराले भन्नुभयो, “अहिले त्यो जोखिम छैन, प्रविधिको सहजताले माटो मुछ्ने, भाँडा बनाउनेदेखि पकाउनसमेत आधुनिक भट्टी बनेको छ ।” आधुनिक भट्टीका कारण कम दाउरामै धेरै सामग्री पाक्ने गरेको उहाँले बताउनुभयो ।

उहाँहरूले माटोबाट घैँटा, मट्टे, गमला, पाला, करुवा, हाँडी, खुत्रुकेलगायतका आकर्षक सामग्री तयार पारी बिक्री गर्दै आउनुभएको छ । पछिल्लो समय दसैँ, तिहारजस्ता पर्वमा बत्ती बाल्ने पाला, घरमा पुष्प रोप्नका लागि गमलासँगै विभिन्न सांस्कृतिक कार्यक्रममा चौधरी समुदायका महिलाले बोकेर लैजाने मट्टेलगायतका सामग्री राम्रै बिक्री हुने उहाँ बताउनुहुन्छ ।

उहाँले यसरी बनाइएका सामग्री पहिले बोकेरै बिक्री गर्न गाउँगाउँ जाने गरे पनि पछिल्लो समय घरबाटै बिक्री हुने गरेको बताउनुभयो । “पहिले बनाएका सामग्री बिक्रीका लागि आफैँ जानुपर्ने अवस्था थियो, तर अहिले घरबाटै बिक्री हुने गर्दछन्”, उहाँले भन्नुभयो, “हामीले बनाइदिन्छाँै, व्यापारी घरमै आएर लग्ने गर्छन् ।”

विगतको तुलनामा कम बिक्री
पछिल्लो समय माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी हुँदै आएको छ । प्रविधिको विकाससँगै धातु तथा प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी आएको गढवा गाउँपालिका–३ गैरा निवासी कमला कुमाल बताउनुहुन्छ । विशेषगरी प्लास्टिकका भाँडाको प्रयोग बढेपछि माटोका भाडा बिक्रीमा कमी आउनुका साथै केही परिवारले काम नै छोडेको उहाँको भनाइ छ ।

दसैँ, तिहारलगायतका पर्वमा बिक्री हुने पालालाई पछिल्लो समयमा झिलीमिली बिजुली बत्तीसँगै घैँटा, मट्टे, करुवा, गिलासलाई धातु र प्लास्टिकका गिलासले विस्थापित गरे पनि पछिल्लो समय परम्परागत सामग्रीले प्राथमिकता पाउन थालेपछि केही उत्साह थपिएको उहाँको भनाइ छ । उहाँका अनुसार पछिल्लो समय मट्का चियाका लागि गिलाससँगै कार्यक्रममा सजाउनका लागि गमला, मट्टेलगायतका भाँडा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।