श्यामशिलाको छुर्पी बाह्य बजारमा

युवराज विष्ट/भोजपुर, २ मङ्सिर : भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लाग्नुभएका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो ।

दूग्ध उद्योग सञ्चालन गर्दै आउनुभएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बन्नुभएको छ । आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उहाँले बताउनुभयो ।

“यहाँको छुर्पी बाध्य बजारमा जान थालेको अवस्था छ”, राईले भन्नुभयो, “भोजपुरका डेरीबाट पनि आवश्यक पर्दा दूध लैजाने गरेका छौँ । बाँकी रहेको दूधको छुर्पी बनाउँछु । यहाँ उत्पादन भएको छुर्पी कुकुरका लागि विदेशका विभिन्न देशमा निर्यात हुने गरेको छ ।”

आफू स्वरोगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ । उत्पादित दूधलाई बजारसम्म पुर्‍याउन समस्या भोग्दै आएका किसानलाई अहिले सहज भएको छ । व्यवसायी राईले किसानको घर/घरमा पुगेर दूध सङ्कलन गरेर बिक्री पनि गर्दै आएको बताउनुभयो ।

“यो ठाउँका मानिसमा दूध बिक्री गर्ने चलन थिएन”, राईले भन्नुभयो, “मैले व्यवसाय सञ्चालन गरेपछि उनीहरूलाई सहज भएको छ । किसानको घरसम्म पुगेर दूध सङ्कलन गरेर ल्याउँछु ।” व्यवसायी राईले दैनिक दुई सय ५० देखि तीन सय लिटरसम्म दूध सङ्कलन गर्दै आउनुभएको छ । पौवादुङमा गाउँपालिकाको विभिन्न क्षेत्रसँगै अरुण गाउँपालिको माचुङ, सोर्‍याङलगायत ठाउँमा पुगेर दूध सङ्कलन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

यी क्षेत्रका एक किसानले मासिक रु पाँच हजारदेखि ३० हजार हजारसम्मको दूध घरबाट नै बिक्री गरिरहेको राईको भनाइ छ । आफूले पशुपालनको लागि ६० रोपनी जग्गा लिजमा लिएको राईले जानकारी दिनुभयो । “विगतमा घरमा नै दूध खपत गर्दै आएका किसान अहिले व्यावसायिक बनेको अवस्था छ”, उहाँले भन्नुभयो, “दूध बिक्री भएपछि किसान पशुपालनमा लागेका छन् । उत्पादित दूधको बजारीकरणमा कुनै समस्या छैन ।”

यहाँका किसानको घर÷घरबाट सङ्कलन भएको दूधलाई भोजपुर सदरमुकामका डेरीले पनि लैजाने गरेको राईको भनाइ छ । छुर्पी प्रतिकेजी रु एक हजार एक सय ५० मा बिक्री हुने गरेको छ । नौनी घ्यू प्रतिकेजी रु सात सय र खरुवा घ्यू प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री गर्दै आएको उहाँकी श्रीमती रमला राईले बताउनुभयो । उत्पादित घ्यूँको बजारीकरणमा भने केही समस्या रहेको उहाँको भनाइ छ । राज्यको तर्फबाट सहयोग भए व्यवसायलाई थप विस्तार गर्न सहज हुने उहाँको भनाइ छ ।

आफ्नै ठाउँमा डेरी सञ्चालन भए पनि दूध बिक्री गर्न सहज भएको स्थानीय पशुपालक कृषक विक्रम राईले बताउनुभयो । दूधको बेचबिखनमा सहज भएसँगै गाईपालनलाई थप विस्तार गरेको उहाँको भनाइ छ । “अहिले दूध बिक्रीको लागि सहज अवस्था छ”, उहाँले भन्नुभयो, “फर्मबाट नै दूध बिक्री गर्छु । विगतमा हाम्रो ठाउँमा दूध बिक्री गर्ने चलन नै थिएन । अहिले दूध बेचेर घर खर्च धान्ने अवस्था बनेको छ ।”

गाउँमा नै डेरी स्थापनाले किसानलाई सहजता भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । किसानले दूध बिक्री गरेर घर खर्च टार्ने अवस्था बनेको उहाँको भनाइ छ । “विगतमा पनि हाम्रो क्षेत्रमा प्रशस्त मात्रामा दूध उत्पादन हुन्थ्यो”, वडाध्यक्ष तामाङले भन्नुभयो, “तर बिक्री गर्नको लागि बजार थिएन । अहिले किसानलाई दूध बिक्रीको लागि कुनै समस्या छैन ।”

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत विगतका आर्थिक वर्षमा किसानलाइ १३ वटा उन्नत जातको भैँसी वितरण गरेको अध्यक्ष राईको भनाइ छ ।

“गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “हामीले किसानलाई उन्नत जातको भैँसी वितरण गरिसकेका छौँ । अहिले यहाँ उत्पादन भएको दूध सदरमुकामसम्म जान थालेको छ । यही दुग्ध उद्योग खोलेर पनि किसानले दूधको परिकार बेच्न थालेका छन् ।”

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताउनुभयो । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।