पाँचथरको फाल्गुनन्द गाउँपालिकामा ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

पाँचथर, ८ मङ्सिर : धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको हो ।

कार्यविधिअनुसार ५० मुरीदेखि एक सय मुरीसम्म धान उत्पादन गर्ने कृषकले रू ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै एक सय मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकले रू ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो ।

गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान गरेको छ । एक साताभित्र आवेदन लिई मापदण्डबमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने तुम्रोकले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिन कृषकले वडा कार्यालयमा उपलब्ध ढाँचाबमोजिमको निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस बुझाउनु पर्नेछ ।

हालैमात्र कार्यविधि कार्यान्वयनमा आएकाले यस वर्ष ५० मुरीभन्दा बढी धान फलाएका कृषकको धान जहाँ राखिएको छ, सोही स्थानमा जाँच्ने गाउँपालिकाको तयारी छ । यसका लागि पालिकाको कृषि विकास शाखा, वडा कार्यालयमा वडाध्यक्ष नेतृत्वको समितिले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले बताउनुभयो । “यस वर्षका लागि दाबी आएपछि धान उठाएर घर लगिएको भए घरैमा गएर नाप्ने व्यवस्था कार्यविधिमा गरेका छौँ”, उहाँले भन्नुभयो, “अर्को वर्षदेखि खलामै धान नापिन्छ ।” कृषकले जसको जमिनमा भए पनि धान फलाए हुने व्यवस्था गाउँपालिकाले गरेको उहाँको भनाइ थियो ।

“जग्गा जसको भए पनि एकै परिवारले फलाएको प्रमाणित हुनुप¥यो”, तुम्रोकले भन्नुभयो । गाउँपालिकाले विशेषतः आर्थिकरुपले विपन्न परिवारलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको जनाएको छ । उहाँका अनुसार अधियाँ, कुत आदिमा धान फलाउने कृषकले आफू र जग्गा धनीका लागि छुट्याउनुपर्ने धान ५० मुरीभन्दा बढी फलाए पनि पुरस्कार प्राप्त गर्न सक्नेछन् । “अधियाँ गरे पनि, कुतियाँ गरे पनि सबै जोड्दा ५० मुरी फलेको देखियो भने उत्पादन गर्ने कृषकले पुरस्कार पाउँछन् । जग्गा धनीले होइन”, प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले भन्नुभयो ।

अधिकांश विपन्न परिवारले धान, मकैलगायत परम्परागत खाद्यबाली उत्पादनमा जोड दिइरहेका छन् । फाल्गुनन्दका सातवटै वडामा धानखेती हुने गर्दछ । यहाँ रहेको निबु खोलाले सबै वडाको तटीय क्षेत्रलाई सिञ्चित गर्ने गरेको छ । निबुको बेँसी जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो । बर्सेनि धान उत्पादन घट्दै जान थालेपछि फाल्गुनन्दले कृषकलाई प्रोत्साहित गरी खेतीतर्फ आकर्षित गर्ने योजना ल्याएको हो । यसअघि पाँचथरको मिक्लाजुङ गाउँपालिकालेसमेत ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖