विदेशबाट फर्केर सामूहिक माछापालन

गलेश्वर (म्याग्दी), २५ मङ्सिर : वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ ।

पूर्ण कतारमा छ र यामेन्द्र तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गरेर स्वदेश फर्किएपछि सामूहिक माछापालनमा लाग्नुभएको हो । टिमुरे खोला नजिकैको आठ रोपनी जग्गा भाडामा लिएर उहाँहरुले सामूहिक रूपमा ट्राउट जातका माछा पाल्नुभएको छ ।

रू २० लाख लगानीमा माछापालनका लागि १० पोखरी निर्माण गरिएको पूर्णले जानकारी दिनुभयो । विसं २०७९ कात्तिकदेखि मालिका रेन्बो ट्राउट फर्म दर्ता गरी माछापालन व्यवसाय सुरु गरिएको उहाँले बताउनुभयो । “सुरुमा रू आठ लाखको लगानीमा छ वटा पोखरी (रेसवे) निर्माण गरी माछापालन थालनी गर्‍यौँं । अहिले १० पोखरी निर्माण गरेका छौंँ”, उहाँले भन्नुभयो ।

गण्डकी रेन्बो ट्राउटबाट १० हजार अण्डा ल्याएर ह्याचिरिङ गरिएको जनाउँदै पूर्णले करिब नौ महिनामा माछा बिक्रीका लागि तयार हुने बताउनुभयो । अहिले पोखरीमै भुरा उत्पादन हुने भन्दै १२ हजार बढी माछा हुर्किरहेका उहाँले जानकारी दिनुभयो ।

पूर्णका अनुसार पहिलो वर्ष सात सय केजी बढी माछा बिक्री भएको थियो । यस वर्ष दुई हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो । पहिलो वर्षको आम्दानी पनि व्यवसाय विस्तारमा लगाइएको बताउँदै उहाँले यस वर्षदेखि राम्रो आम्दानी लिन सकिने बताउनुभयो । माछापालनका लागि चिसो र बहाव भएको स्वच्छ पानी आवश्यक हुने सञ्चालक पूर्णको भनाइ थियो ।

वर्षातको समयमा माछाका भुरा बचाउन गाह्रो हुने तेजेन्द्र सुनाउनुभयो । यहाँ उत्पादित माछा नजिकैको दरबाङ बजारसहित सदरमुकाम बेनी र छिमेकी जिल्ला बागलुङसम्म लगिएको उहाँले बताउनुभयो ।
पहिलो वर्ष प्रतिकेजी रू एक हजार दुई सयमा बिक्री गरिएकामा यस वर्ष भने दानाको मूल्य बढेकाले रू एक हजार तीन सयमा बेच्ने गरिएको तेजेन्द्रले जानकारी दिनुभयो । बजारमा माग बढे पनि पर्याप्त उत्पादन गर्न नसकिएको उहाँको भनाइ थियो ।

उहाँहरुले टिमुरेमा सामूहिक रुपमा आफ्नै रेष्टुराँ पनि सञ्चालन गर्नुभएको छ । पोखरीमा उत्पादित माछा रेस्टुराँमा समेत खपत हुने गरेको माछापालका यमेन्द्रले जानकारी दिनुभयो । माछापालन गरी मनग्य आम्दानी भएकाले विदेशभन्दा नेपालमै फाइदा भएको उहाँको भनाइ थियो ।

आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछापालन सुरु गरिएकाले फर्ममा परिवारका अन्य सदस्यलेसमेत साथ दिनुभएको यमेन्द्रले बताउनुभयो ।

मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले गाउँमै युवाको लगानीमा व्यावसायिक माछापालन गरेसँगै अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको बताउनुभयो । उहाँका अनुसार वडाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट पोखरी वरिपरी घेरबार गरिएको छ ।

सरकारबाट पाउने ऋण र अनुदानमा समेत झन्झटिलो प्रक्रिया भएको भन्दै वास्तविक किसानसँग अनुदान पुग्न नसकेको माछापालक रोकाले गुनासो गर्नुभयो । आगामी दिनमा यस व्यवसायलाई अझै विस्तार गर्ने सोच रहेको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।