सुन्तला उत्पादन बढ्यो, पूर्वी पहाडका किसान उत्साहित

धरान, २५ मङ्सिर ः सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि बजारमा मूल्य गतवर्षकै जस्तो छ । यतिबेला धनकुटाका खोकु, बुधुक, भोजपुरलगायत ठाउँबाट किसानले धरानस्थित कृषिउपज बजारस्थलमा सुन्तला ल्याइरहेका छन् ।

कात्तिक १५ यतामात्र दुई हजार मेट्रिकटन सुन्तला बिक्री भइसकेको छ । अझ पुसमा सबैभन्दा धेरै सुन्तला आउने अनुमान गरिएको छ । किसानले यसपटक बारीमा सुन्तला धेरै फलेकाले पुसमा ठूलो परिणिाममा सुन्तला बजारमा आउने बताएका छन् ।

धरान बजारमा अहिले सुन्तलाको मूल्यप्रतिकेजी रु एक सयदेखि रु एक सय २०सम्म छ । मौसमअनुसार सुन्तलाको मूल्य घटबढ हुने गर्छ । घाम लागेको बेला सुन्तलाको मूल्य वृद्धि हुने र नलागेको दिन घट्ने व्यापारीको भनाइ छ । यसपटक केही दिनअघि घाम नलाग्दा कृषिबजारमा प्रतिकेजी रु ८० सम्ममा किनबेच भएको थियो । यसपटक पनि बजारमा गत वर्षकै हाराहारी मूल्यमा सुन्तला किनबेच भइरहेको छ ।

कृषिउपजबजार स्थलको तथ्याङ्कअनुसार गत वर्ष पूर्वी पहाडका विभिन्न जिल्लाबाट धरानमा सात हजार मेट्रिकटन सुन्तला खरिद बिक्री हुँदा रु ७० करोड हाराहारीको कारोबार भएको थियो । यसपटक पहाडी क्षेत्रमा सुन्तलाको उत्पादन बढेकाले साढे आठ हजार मेट्रिकटन कृषि बजारमा आइपुग्ने र त्यसबाट करिब रु एक अर्बबराबरको कारोबार हुने अनुमान गरिएको कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।

पूर्वी पहाडको धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर र खोटाङसम्मका सुन्तला धरानको कृषिउपज बजारस्थल आइपुग्छन् । धनकुटा क्षेत्रका सुन्तला प्रायःकिसान आफैँले बजारसम्म ल्याए पनि अन्य क्षेत्रका एजेन्टले बजारसम्म ल्याउने गरेका छन् । उनीहरुबाट थोक व्यापारी र त्यहाँबाट खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म सुन्तला पुग्ने गरेको छ ।

धरानबाट व्यापारीले पूर्वी तराईका बजारहरु इटहरी, इनरुवा, विराटनगर, विर्तामोड, दमकदेखि मधेस प्रदेशका विभिन्न जिल्लासम्म पु¥याउने गरेका छन् । पूर्वी पहाडका रसिला सुन्तला अनौपचारिकरुपमा व्यापारीले भारतका बजारसम्म पनि पु¥याउने गरेका छन् तर औपचारिकरुपमा भारत लैजाने बाटो खुलेको छैन । त्यसका लागि भारतस्थित महावाणिज्यदूतावासको सहयोग लिएर भारतीय बजारमा सूचीकृत गर्नसके पूर्वी पहाडका किसानले राम्रो आम्दानी गर्नसक्ने कृषिबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “हालसम्म सूचीकृत गर्ने काम भएको छैन । त्यसका लागि व्यापारी व्यवसायी र सरकारले पनि चासो दिनसके देशलाई फाइदा हुन्छ ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।