भोजपुरमा विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा तरकारी खेती गर्दै मनिराज

भोजपुर, १० पुस : विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको सङ्ख्या भोजपुरमा बढ्न थालेको छ । विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन् ।

भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । दशवर्ष विदेश बस्नुभएका राई अहिले गाउँमा कृषि उद्यममा जोडिनु भएको हो । उहाँले गोलभेडा, बन्दा, फुलकोभी, गाँजरलगायत तरकारीको व्यावसायिक खेती गरिरहनुभएको छ ।

वडा कार्यालयको पहलमा आवश्यक तालिमसँगै औजार तथा उपकरण पाएपछि व्यवसायमा थप सहजता भएको राईले बताउनुभयो । “विदेशमा गरेको दुःख र अनुभव आफ्नै ठाउँमा उपयोग गर्ने उद्देश्यले परिवारसँग मिलेर तरकारी खेती सुरु गरेको छु । अहिले प्रशस्त आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।

कृषिमा लाग्ने युवालाई राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम गरेर सहयोग गरिरहेको राईको भनाइ थियो । करिब दुई रोपनी क्षेत्रमा तरकारी खेती लगाइएको उहाँले जानकारी दिनुभयो । तरकारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने देखेपछि यसको विस्तारमा जोड दिइएको राईले बताउनुभयो । “स्वदेशमा व्यावसायिक भएर काम गर्न सकियो भने प्रशस्त आम्दानी गर्न सकिने रहेछ”, उहाँले भन्नुभयो ।

तरकारी खेतीबाट सबै खर्च कटाएर मासिक रुपमा रू २० देखी २५ हजारसम्म आम्दानी हुने गरेको राईले जानकारी दिनुभयो । खेतीलाई थप विस्तार गरेर आम्दानीलाई अझ बढाउने लक्ष्य रहेको उहाँले योजना सुनाउनुभयो । उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुने उहाँको भनाइ छ ।

वडा कार्यालयले व्यावसायिक रुपमा तरकारी खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरुको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै तालिम तथा कृषियन्त्र, उपकरण सहयोग गर्दै आएको छ ।

यहाँका कतिपय ठाउँ भौगोलिक रुपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । भावी दिनमा व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गरिने उहाँको भनाइ थियो ।

“आर्थिक रुपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ”, वडाध्यक्ष राईले भन्नुभयो, “स्थानीयवासीलाई व्यावसायिक कृषिमा जोड्न आवश्यक काम गरिरहेका छौँ । किसानलाई तरकारी खेती, व्यावसायिक बाख्रापालन, विभिन्न सीपमूकल तालिम दिँदै आएका छौँ । अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दो छ ।”

किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणमासमेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडाको बजेट बाहेक अन्य सङ्घ संस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो । वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर किसानलाई प्रोत्साहन गर्दै आएको उहाँले बताउनुभयो ।

“वडामा आउने बजेटले सबै पक्षलाई समेट्न समस्या हुन्छ”, वडाध्यक्ष राईले भन्नुभयो, “विभिन्न निकायसँग सहकार्य गरेर कृषि क्षेत्रको विकासमा जोड दिएका छौँ । कृषिमा वडालाई नमुनायोग्य बनाउने लक्ष्य लिएका छौँ ।”
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।