इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

भरतपुर (चितवन), १५ पुस : पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ । यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खाने गर्दछन् । बिक्रीका लागि राखिएका सुन्तला चितवनको इच्छाकामना गाउँपालिकामा उत्पादन हुन्छ । यसबाहेक यहाँ गोरखा र तनहुँका विभिन्न क्षेत्रबाट सुन्तला ल्याएर बिक्री गरिन्छ ।

इच्छाकामनामा उत्पादन भएका सुन्तला रसिलो हुने भएका कारण ग्राहकको रोजाइमापर्ने हुँदा किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन । उनीहरुको बोटबाटै सुन्तला बिक्री हुँदै आएको छ । वडा नं ३ को माथिल्लो डुँडेका किसान कुसुम गुरुङ आफ्नो बगैँचामा सानो दाना भए पनि सुन्तला निकै रसिलो र गुलियो रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुन्तलामा कुनैपनि औषधि प्रयोग नगरिएको र प्राङ्गारिक मल मात्रै प्रयोग गर्ने गरेका छौँ ।” गतवर्ष झण्डै रु तीन लाख बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बगैँचामा सुन्तलाको उत्पादन राम्रो छ । बोटबाटै किन्नका लागि व्यापारी आइरहेकाले राम्रो मूल्य पाएपछि बिक्री गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो ।

तल्लो डुँडेका किसान वीरबहादुर गुरुङ रातो माटो भएको ठाउँका सुन्तलाको स्वाद मिठो हुने गरेको बताउनुहुन्छ । उहाँ रसिलो सुन्तला भएकै कारण किन्न आउने व्यापारीको लर्को लाग्ने गरेको बताउनुहुन्छ । “यहाँ उत्पादन भएको सुन्तला बिक्रीका लागि कुनै चिन्ता छैन,उहाँ भन्नुुहुन्छ, “बोटबाटै सुन्तला ठेक्कामा दिन्छौँ ।” गत वर्ष रु पाँच लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बारीमा चार सय पचास सुन्तलाका बोट छन् ।

बजारमा पाइने रसिलो र मिठो सुन्तला इच्छाकामनाको भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ बताउनुहुन्छ । “सुन्तला खाने मान्छेलाई थाहा छैन, राजमार्गमा विभिन्न ठाउँको भनेर बिक्री गर्ने गरिएको छ, उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले यहाँको सुन्तलाको प्रवद्र्धन र बजारीकरण गर्न थालेको छ । यहाँ बजारको समस्या नभएका कारण पनि सुन्तला खेतीतर्फ किसानको आकर्षण बढेको हो । पहिला झाडीमा परिणत भएका जमिनमा किसानले सुन्तलाखेती गरेका छन् । अहिले भिरपाखामा सुन्तला लगाउन थालिएको छ ।”

गाउँपालिकाकी उपप्रमुख माया सिलवाल इच्छाकामनामा उत्पादन भएको सुन्तला सानो खालको चिल्लो दाना भएको बताउनुहुन्छ । यहाँ उत्पादन भएको सुन्तलाको रङ्ग पनि राम्रो भएको र अधिकांश सुन्तला यहाँकै बिक्री हुन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल यहाँको सुन्तलालाई देशव्यापी रुपमा चिनाउने गरी प्रवद्र्धन गर्न थालिएकाले गाउँपालिकाले नर्सरी स्थापना गर्ने तयारी गरेको उल्लेख गर्नुुहन्छ । “सुन्तला बिक्री भएन भने गाउँपालिकाले सहजीकरण गरे बिक्री गरिदिन्छ, अधिकृत भुसाल भन्नुहुन्छ, फिस्लिङ तरकारी केन्द्रमा कोल्डस्टोर समेत सञ्चालनमा आइसकेको छ ।”

गाउँपालिकाको झण्डै ८० हजार हेक्टर जमिनमा सुन्तलाखेती गरिएको छ । त्यसमध्ये ६० हेक्टर जमिनमा सुन्ताला उत्पादन भएको छ । अहिले किसानको बारीबाट रु ७५ देखि ९० सम्ममा सुन्तला बिक्री हुने गरेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख आशिष त्रिपाठी मङ्सिरको पहिलो सातादेखि यस क्षेत्रको सुन्तला बजारमा पठाउन थालिएको बताउनुहुन्छ ।

गाउँपालिका–३ को तोकदाङ, ढाप, माझगाउँ, सिरनागाउँ, तल्लाडुँडे, र माथिल्लो डुँडे, वडा नं ५ को तामिन, साठिमुरे, ठङरङ, पामडाँडा र वडा नं २ को तल्लो काउलेमा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला मुग्लिन, केबुलकार, कुरिनटार, र फिस्लिङमा बिक्रीका लागि राख्ने गरिएको छ । फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेलमा नारायणगढ, काठमाडाँैं, पोखरालगायत सहरमा सुन्तला पठाउने गरिएको छ ।

सुन्तलाको प्रवद्र्धन गर्न महोत्सव

गाउँपालिकाले सुन्तला प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्दैछ । यही पुस १६ गतेदेखि १८ गतेसम्म महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष गुरुङ बताउनुहुन्छ । महोत्सवमा तीन दिनसम्म सुन्तलासँग सम्बन्धित गतिविधि हुने उहाँको भनाइ छ । फिस्लिङको शक्तिखोर सडकमा पर्ने माझगाउँमा महोत्सव आयोजना गरिँदैछ । सुन्तला खान आउँदा यहाँका पर्यटकीयस्थलको समेत अवलोकन गर्न पाइनेछ । अध्यक्ष गुरुङ भन्नुहुन्छ, “यहाँबाट सबैभन्दा लामो हिमशृङ्खला देख्न सकिन्छ । महोत्सवमा यहाँका रैथाने बालीका परिकार खुवाइन्छ ।”

महोत्सव अवधिभर कृषि विज्ञलाई किसानका खेतबारीमा लैजानाका साथै माटो परीक्षण र रोगव्यादी निराकरणको उपाय खोजिने र महोत्सवमा पाहुनालाई आकर्षण गर्न बोटमै टिपेर सुन्तला खुवाउन पाइने, सुन्तला कसले धेरै खाने प्रतियोगिताका साथै बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिनेजस्ता क्रियाकलाप गरिने उहाँ बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।