गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए तमु ल्होसार

अन्नपूर्ण (कास्की) : गण्डकी प्रदेशमा गुरुङ समुदायको बाहुल्यता छ । गुरुङको उद्गमस्थल क्व्होलासोथार पनि यही पर्दछ । कास्कीको लमजुङको सिरान क्व्होलासोथारबाट गुरुङ समुदाय देशका विभिन्न भागमा छरिएका छन् । गुरुङहरुको उत्पत्ति र विकास भएको कास्कीका गुरुङले आज हर्षोल्लासका साथ ल्होसार मनाएका छन् ।

गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ अथवा फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर कास्कीका गुरुङले ‘तमु ल्होसार’ पर्व मनाएका हुन् । बाह्र राशि जस्तै गुरुङ जातिमा १२ पशुपंक्षीको नाममा १२ वटा वर्ग विभाजन गरिएको छ । सोही वर्गका आधारमा आजदेखि बिरालो वर्ग सकिएर गिद्ध वर्गसमेत सुरु भएको छ ।

ल्होसार मनाउने क्रममा पोखराका विभिन्न सङ्घसंस्थाले संस्थागत रुपमै विभिन्न कार्यक्रम गरेको थियो । पोखरामा प्रधान कार्यालय रहेको तमु धिं नेपालले बिहानैदेखि क्होइबो, गुम्बामा ग्रहशान्ति, पूजापाठ, बत्ती बाली गुरु एवं अग्रज पुज्ने काम गरिने गरिएको तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिनुभयो ।

दिउँसो पोखरा रानीपौवाबाट तमु ल्होसार शुभकामना पदयात्रा निकाली तमु धिं नेपालको प्राङ्गणमा पुगी ल्होसार विशेष, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा शुभकामना आदानप्रदानसहित पुरस्कार अर्पण र मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

प्रदेशसभा सदस्य सरस्वती गुरुङले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि जातीय संस्कृति खुलेर मनाउन पाएको बताउनुभयो । जातीय संस्थामा नेतृत्व गर्ने व्यक्तिहरु कानुन बनाउने तहसम्म यही कारण पुगेको सांसद गुरुङको भनाइ थियो । “सङ्घीयता भनेको समातना हो, समावेशिता हो”, सांसद गुरुङले भन्नुभयो, “सबै लिङ्ग जात, भूगोलका मानिसले समान रुपमा अवसर पाइन्छ भन्ने पनि हो ।”

संसारभर छरिएर रहेको गुरुङ समुदाय एक भएमा भाषा, संस्कार, संस्कृति जोगाउन सकिने प्रदेशसभा सदस्य गुरुङले सुनाउनुभयो । उहाँले ल्होसार र ल्होछारमा मत भिन्नता नराख्न आग्रह गर्नुभयो । “अहिले ल्होसार र ल्होछारमा निकै विविधता पाइएको छ । यो आ–आफ्नो ठाउँबाट अपभ्रंस भएको हो यसलाई ठूलो समस्याका रुपमा नलिऔँ”, गुरुङले भन्नुभयो, “दसैँ, विजया दशमी, वडा दसैँ पनि भनिन्छ । अनि तिहारलाई दिपावली, भाइटीका पनि भनिन्छ नि त्यस्तै ल्होसार र ल्होछार पनि भनिन्छ ।”

ल्होसारकै कार्यक्रमअन्तर्गत सोमबार परम्परागत छेलो प्रतियोगिता गरिने तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिनुभयो । गुरुङकै अर्को संस्था तमु प्हे ल्हु सङ्घ नेपालले पनि सप्ताहव्यापी कार्यक्रम गरी यो वर्षको ल्होछार मनाएको संस्थाका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो । “हामीले पुस ९ गतेदेखि नै विभिन्न कार्यक्रम गरी ल्होसारलाई सप्ताहव्यापी बनाएका छौँ”, महासचिव हर्क गुरुङले भन्नुभयो, “मुख्य दिन १५ गते युवा समितिका नृत्य प्रतियोगितासँगै केन्द्रीय समितिको शुभकामना आदानप्रदान कार्यक्रम पछि समापन गरियो ।”

शनिबार राति नै बिरालो वर्गलाई बिदाई, गिद्ध वर्गको स्वागत गर्न राति १२ बजे ‘बोन फायर’ पनि गरिएको महासचिव हर्क गुरुङले जानकारी दिनुभयो । आइतबार बिहानैदेखि घ्याब्री, प्हच्यु र बोन लमहरुबाट पूजा गरी रिपा लगाउने कार्यक्रम पनि भएको थियो ।

पोखरा १० स्थित बौद्ध अर्घौं सदनले बिहानैदेखि ग्रहशान्ती दशाको पूजा गरिएको संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो । “ग्रहशान्ति गर्ने काम शनिबारदेखि नै सुरु भएको थियो । ल्होछारको मुख्य दिन यसको विर्सजन गरियो”, अध्यक्ष भुवनसिंहले भन्नुभयो, “अनि दर्शन गर्ने, दीप प्रज्ज्वन, रिपा लगाउने, शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम, रक्तदान, स्वास्थ्य परीक्षण पनि गरियो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।