रोजाइमा गाउँका मौलिक उत्पादन

बलेवा (बागलुङ), १६ पुस : बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता ।

बुधबारदेखि सुरु भएको सातौँ बागलुङ महोत्सवको मुख्य मञ्चको दायाँतर्फका प्रदर्शनी कक्ष भरिभराउ छन् । महोत्सवमा पुग्ने अधिकांश त्यहाँ पुग्छन् । ‘बागलुङ ब्राण्ड’ नाम दिइएको कक्षमा जिल्लामा उत्पादन हुने हरेक वस्तुहरुको प्रदर्शनीका लागि राखिएका छन् ।

ताराखोलाको ढुङ्गादेखि जैमिनीको बाँकोको गुन्द्रुक कक्षमा छन् । जिल्लामा सबैभन्दा धेरै प्राङ्गारिक वस्तुहरुको उत्पादन हुने ताराखोलाले महोत्सवबाट ढुङ्गा चिनाउँदै छ । गाउँपालिकाले उद्यम विकास शाखाको व्यवस्थापनमा ताराखोलाको असली ढुङ्गाबाट बनेका सामग्री प्रदर्शनीमा राखेको छ ।

गाउँघरमा चटनी (पिनेर बनाइने अचार) बनाउन काम लाग्ने सिलौटोलगायतका तयारी सामग्री प्रदर्शनीमा छन् । “यो ताराखोलाको असली ढुङ्गा चिनाउनका लागि प्रदर्शनीमा राखिएको हो । धेरैले हेरेर जानुभयो । केहीले किनेर लैजानुभयो”, ताराखोलाकी उद्यम विकास सहजकर्ता निरु घर्तीमगरले भन्नुभयो, “अरु खाद्यवस्तु पनि प्रदर्शनीमा छन् ।”

ताराखोलाको उत्पादन भुटेको मकै, रातो च्याउ, सिल्टीमुर, मकैको आँटो, सिमी, कर्कलोको भुजुरी, मुलाको धजरा, सिन्की (गुन्द्रुक), चुल्ठे अमिलो, सिस्नोको धुलो, अल्लोको कपडा, अल्लो धागो, उनी सल र अल्लोका झोलाहरु तथा हाते कागज प्रदर्शनीमा राखेको छ । किबी फल, निगालोको काइँयोले महोत्सवमा पुग्ने दर्शकलाई आकर्षित गरेको छ ।

“अहिले बिक्री र आम्दानीभन्दा पनि पहिचान र प्रचारका लागि हामीयहाँ आएका हौँ”, घर्तीले भन्नुभयो, “बिक्रीवितरण पनि सन्तोषजनक छ ।” महोत्सवमार्फत जिल्लाको पहिचान दिने तथा स्थानीय उत्पादनको बिक्रीसँगै प्रचारप्रसार गर्ने उद्देश्यले कक्ष राखिएको रुद्रताल सामाजिक उद्यमी महिला सहकारी जैमिनी नगरपालिका–३ दमेकका अध्यक्ष चित्रा छन्त्यालले बताउनुभयो । मकै, भटमास, आलु चिप्स, बाँकोको गुन्द्रक, सिस्नोको पाउडर, मङ्सिरे सिमी तथा भाँगो सहकारीले प्रदर्शनी कक्षमा राखिएको छ ।

महोत्सवमा अन्य प्रदर्शनी कक्षमा भन्दा स्थानीय उत्पादन प्रदर्शनी भइरहेकै कक्षमा दर्शकको चासो बढी रहेको आयोजक संस्था बागलुङ उद्योग वाणिज्य सङ्घका प्रेस सल्लाहकार सुवास आचार्यले बताउनुभयो । “हामीसँग खानादेखि नानासम्मका प्रदर्शनी कक्ष छन्, बालबालिकाले पिङ र बयस्कले ‘बागलुङ ब्राण्ड’ उत्तिकै प्राथमिकतामा राखेका छन्”, उहाँले भन्नुभयो ।

महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको महत्व बढाउन सहज हुने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै जिल्लामा पाइने भाँगो, गुन्द्रक र रातो च्याउलाई नेपालभर चिनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

महोत्सवमा एक सय २० भन्दा बढी प्रदर्शनी कक्ष छन् । महोत्सव अवधिभर रु १० करोडको कारोबार गर्ने लक्ष्य आयोजकको छ भने करिब सात लाख दर्शकले अवलोकन गर्ने अपेक्षा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।