पर्यटकीय रिठेडाँडामा वनभोज खानेको भीड

बलेवा (बागलुङ), ६ पुस : बागलुङ जिल्लाको जैमिनी नगरपालिका– ५ बिनामारेको रिठेडाँडा पछिल्लो समय वनभोज स्थल बन्दै गएको छ । वडाको उच्च भागमा पर्ने डाँडा हिउँद लागेपछि दिनदिनै भरिभराउ हुन थालेको हो ।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको रिठेडाँडामा पछिल्लो समय विभिन्न समूह वनभोजका लागि पुग्ने गरेको वडाअध्यक्ष ठगबहादुर थापा क्षत्रीले बताउनुभयो । अहिले यो क्षेत्रमा जैमिनीका विभिन्न ठाउँबाट वनभोज खान आउन थालेका हुन् । वनभोज खानेले यहाँ रहेको चौतारी, पोखरीलगायतका रमणीय स्थलका बारेमा प्रचार गरेसँगै पछिल्लो समय रिठेडाँडा वनभोज खानेको लागि रमणीय स्थल बन्दै गएको वडाअध्यक्ष क्षत्रीले बताउनुभयो ।

कुनै समय नागपञ्चमी, बडादशैं, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला लाग्ने गरेको भएपनि सुरक्षा जोखिमका कारण रिठेडाँडामा मेला लाग्न छोडेको केही वर्ष भएको छ । नयाँ पुस्ताले त त्यसको महत्व पनि भुल्न थाले । कुनैताकाको हराभरा र रमझममय रिठेडाँडा निर्जन डाँडामा फेरियो । मन्दिर र चौतारी जीर्ण बने । पोखरी सुक्यो । घाँस र झाडीले रिठेडाँडा घेरियो । त्यसको प्राकृतिक सौन्दर्य मात्रै गुमेन, धार्मिक, सांस्कृतिक पक्ष पनि ओझेलमा प¥यो । गाउँको विकास र पर्यटन बुझेका स्थानीय अगुवालाई भने त्यो कुराले पिरोल्दै गयो ।

उनीहरुले गुमनाम रिठेडाँडाको रौनक फर्काउने सपना देखे । जनप्रतिनिधिले पनि स्थानीयवासीसँग होस्टेमा हैँसे मिलाए । सबै कस्सिए, पर्यटनबाट रिठेडाँडालाई चिनाउन । जैमिनी नगरपालिका–५ बिनामारेस्थित रिठेडाँडाको मुहार अहिले विस्तारै बदलिँदैछ । विकास निर्माण र पर्यटनका योजनाले नयाँ वनभोज स्थलका रुपमा रिठेडाँडा चिनिँदैछ ।

‘यो डाँडाको पौराणिक महत्व धेरै छ, समय अनुसार परिवर्तित संरचना तयार गरेर यो डाँडालाई नयाँ व्यवस्थापन गर्दैछौँ,’ उहाँले भन्नुभयो, ‘बीचमा मेला, पर्वमा झैझगडा हुन थालेपछि सुरक्षा खतराका कारण यहाँ हुने मेलाको परम्परा बन्द हुन पुगेको हो ।’

रिठेडाँडामा उद्यान, पदमार्ग निर्माण, चौतारी संरक्षणलगायतका काम भएको छ । पर्यटनको काम हुन थालेपछि त्यहाँ रहेको शङ्खेपहाराको चर्चा पनि बाहिरिएको छ । त्यहाँ रहेको चौतारीमा १२१ वर्ष पुरानो ढुङ्गाको शिलालेख पनि छ । पोखरीमा रहेको मौलो पनि उति नै पुरानो रहेको स्थानीय टंक केसी बताउनुहुन्छ । हिउँदमा सो पोखरी सुक्ने गरेको छ । बाह्रैमास पानी जम्ने बनाउन पोखरी संरक्षणको योजना पनि ल्याइएको छ । भगवती मन्दिर जीर्ण बनेपछि नगरपालिका र स्थानीय दाताको सहयोगमा पुनःनिर्माण गरिएको छ ।

रिठेडाँडाको विकासमा वडा र नगरपालिकाको पनि साझेदारी छ । नगरका पर्यटकीय विकास योजनामा रिठेडाँडा सूचीकृत छ । यहाँ शौचालयको व्यवस्था, खानेपानीको व्यवस्था रहेको र दिनभर घाम लाग्ने भएकाले वनभोज खानेको रोजाइमा रिठेडाँडा परेको हो । एकैदिन चार पाँच समूह हुँदा बिनामारेकै भातखाने डाँडालाई विकल्पको रुपमा प्रयोग गर्ने गरिएको छ । भातखाने डाँडामा खानेपानी र शौचालयका पूर्वाधार बनाउन सके त्यहाँ पनि वनभोज स्थलको सम्भावना छ ।

तर भातखाने डाँडामा सबै जग्गा व्यक्तिका नाममा रहेकाले संरचना निर्माणमा कठिनाई रहेको क्षत्रीले बताउनुभयो । कतै समथर त कतै भिरालो भू–बनोटमा रहेको रिठेडाँडाबाट मनोरम हिमशृङ्खला, पहाड र गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ । एक हजार तीन सय मिटरको उचाइमा अवस्थित रिठेडाँडा सदरमुकाम बागलुङ बजारदेखि २५ किमी दूरीमा पर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।