सुन्तला उत्पादनमा ह्रास

लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो ।

बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा छ सयभन्दा बढी सुन्तलाको बोट लगाउनुभएको छ । उहाँले एक दशकअघि बर्सेनि रु छ लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दैआउनुभएको थियो । तर पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैँचा सखाप हुँदै गएको छ । यस वर्ष मुस्किलले रु ८० हजारसम्म आम्दानी गरेको उहाँको भनाइ छ । घर खर्च चलाएर पनि बचत हुने गरेकामा यतिबेला सुन्तला उत्पादन घट्दै गएको पन्तले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ । एक दशकअघिसम्म गाउँभरिका बगैँचाबाट वार्षिक रु दुई करोडसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए । छ÷सात वर्षयता रु १० लाखसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताउनुभयो । विगत वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँसहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरेलगायतमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा एक सय ३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्षमा जिल्लामा एक सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतिबाट पाँच सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भएपनि उत्पादन एक सय २५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

त्यस्तै, आव २०७८÷७९ मा एक सय ८० हेक्टर क्षेत्रफलमा एक हजार दुई सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७७÷७८ मा दुई सय १३ क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।

सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरोलगायतका कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको छ । जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा बिक्री गर्ने गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।