नौ करोडको अदुवा बिक्री

त्रिवेणी (रुकुमपश्चिम), ४ माघ : व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताउनुभयो । गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट रु एक लाख आम्दानी भएको उहाँको भनाइ थियो । विगत २० वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका खड्काले निरन्तर अदुवाखेती गर्दै आउनुभएको छ ।

यस वर्ष उत्पादन भएको तीन क्विन्टलभन्दा बढी अदुवा बीउको लागि र १२ क्विन्टल अदुवा प्रतिक्विन्टल रु चार हजारदेखि रु आठ हजारका दरले बिक्री गरेकोे खड्काले बताउनुभयो । सोही ठाउँकै ५५ वर्षीय किसान हरिबहादुर खड्काले यस वर्ष अदुवा उत्पादनमा केही कमी भए पनि मूल्य भने राम्रो पाइएकामा भने खुसी भएको बताउनुभयो । विगत ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आउनुभएका उहाँले यस वर्ष अदुवा बिक्रीबाट रु एक लाख ५० हजार आम्दानी गरेको बताउनुभयो । अदुवा गाउँबाटै खैन (खानका लागि प्रयोग) प्रतिक्विन्टल रु चार हजार र बीउको लागि प्र्रयोग हुने अदुवा प्रतिक्न्विन्टल रु आठ हजारदेखि रु १० हजारसम्ममा बिक्री भएको थियो ।

जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाए पनि गत वर्षको तुलनामा यस वर्षमा उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादनमा कमी भए पनि अदुवाको मूल्य तेब्बरले वृद्धि हुँदा किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गरेका हुन् । गत वर्ष प्रतिक्विन्टल रु दुई हजार पाँच सयमा अदुवा बिक्री गरेका किसानले यस वर्ष प्रतिक्विन्टल रु पाँच हजारदेखि रु आठ हजारसम्ममा बिक्री गरेका छन् । जिल्लामा मुख्यगरी त्रिवेणी गाउँपालिकामा राम्रो अदुवा उत्पादन हुने गरेको छ । त्यस्तै सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिकामा पनि केही मात्रामा अदुवा उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।

यस वर्ष जिल्लाबाट एक हजार छ सय मेट्रिक टन अदुवा बिक्री हुँदा रु आठ करोड ८० लाख आम्दानी भएको छ भने अझै केही अदुवा बिक्री गर्न बाँकी छ । अदुवा उत्पादनबाट रु ४० हजारदेखि रु पाँच लाखसम्म किसानले आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । अदुवा उत्पादन गर्ने किसानको सङ्ख्या जिल्लामा चार सय हाराहारीमा भए पनि व्यावसायिकरूपमा अदुवाखेती गर्ने किसानको सङ्ख्या ६० देखि ७० रहेको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।

सामान्य खेती गर्ने किसानले दुई रोपनीदेखि व्यावसायिकरूपमा खेती गर्ने किसानले ३० रोपनी जग्गामा अदुवाखेती गर्ने गरेका छन् । “गत वर्ष जिल्ल्लामा प्राङ्गारिक कृषक प्रमाणित भएका तीन सय एक किसानले उत्पादन गरेको अदुवा सुर्खेतमा रहेको द अग्र्यानिक भ्यालीसँग समन्वय गरेर कृषि विकास कार्यालयले बिक्री गरेको थियो । यस वर्ष भने व्यापारीले किसानकै बारीमा आएर अदुवा खरिद गरेकाले बजारको समस्या भएन । किसानले आफैँ राम्रो मूल्यमा अदुवा बिक्री गरेका छन्”, उहाँले भन्नुभयो । जिल्लामा उत्पादन भएको अदुवा दाङ, नेपाजगञ्ज र काठमाडौँसम्म जाने गरेको छ ।

अदुवा लगाएको निश्चित समय नपुग्दै साउनको अन्तिममा बुर्णा (नयाँ तयार नहुँदै निकालिएको पुरानो बीउ) निकाल्नुपर्नेमा असारमै निकालेको यस वर्ष अदुवा उत्पादनमा कमी आएको उक्त कार्यालयको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।