जब ‘झरनाको चिसो पानी’ गुञ्जियो…

बालेवा (बागलुङ), ४ माघ :
झरनाको चिसो पानी…
सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी…
झरनाको चिसो पानी…

बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेल मैदानमा भरिभराउ दर्शकको अघि उभिएर गायक जीवन शर्माले आफ्नो प्रस्तुतिको सुरुआत गर्नुभयो ।

शर्माले सिर्जना गरेका हजारौँ गीतमध्ये सहारा खेल मैदानमा यो गीत प्रस्तुत गर्नुको आफ्नै कारण छन् । बागलुङको जैमिनी र बागलुङ नगरपालिकाको सङ्गममा पर्ने नियालमारे खोलाको छेउमा तारेभिरको सानो चौतारीमा बसेर शर्माले अहिलेभन्दा ३० वर्षअघि यो गीत सिर्जना गर्नुभएको हो । बुधबार शर्माले यही गीत गाउँदै गरेको खेल मैदान र उहाँले यो गीत सिर्जना गरेको ठाउँ पैदलयात्रा गर्दा आधा घण्टाको दूरीमा पर्छ ।

“घर छाउने ढुङ्गा बोकेर हिँडेको जोडी, श्रीमान् नियालमारे खोलापारी पुगेका थिए । श्रीमती चौरीमा बिसाइ मारेर भारी बोक्दै थिइन् । असिनपसिन, ठूलो भारी बोकेका खेताला भिरको बाटो निरन्तर हिँडिरहेको देखेपछि मैले गीत बनाएँ”, शर्माले भन्नुभयो ।

विसं २०५० तिर बागलुङको दक्षिण क्षेत्रमा अर्मपर्म र खेताला हालेर घर छाउने र ढुङ्गा बोक्ने प्रचलन थियो । कैयौँ मजदुरहरु यही घर छाउने पाटे ढुङ्गा बोकेर गुजारा चलाउँथे । त्यही देख्नुभएका उहाँले खेतालाको जिन्दगानीको गीत बनाएको सुनाउनुभयो ।

महोत्सवमा शर्माले झण्डै एक घण्टा आफ्ना गीत गाउनुभयो । मैदानमा उपस्थित अधिकांश दर्शक उहाँका गीतमा झुमे । शर्मालाई उहाँकी जीवन सङ्गिनी निलिमा पुनले साथ दिनुभयो । जीवन र जगत्का जल्दाबल्दा विषयवस्तु गीतमार्फत प्रस्तुत गर्ने शर्माले ३० वर्षदेखि हरेक वर्ष जैमिनीमा हुने माघे सङ्क्रान्ति मेलामा प्रस्तुति दिनुहुन्छ ।

स्थानीय हेमलाल शर्माले भन्नुभयो, “उहाँका गीत कहिलै पुराना भएनन् । सधैँ सुनौँ, सुनौ लाग्छन् ।” उहाँका गीतले जहिले जनताको दुःख बोल्यो । जसको परिणाम अहिले उहाँ जनवादी गायकको परिचयले बाँच्नुभएको छ । साङ्गीतिक यात्राको पहिलो खुड्किलो उहाँको बाँसुरी हो । वनजङ्गलमा घाँस, दाउरा गर्न जाँदा होस् वा विद्यालयका कार्यक्रममा उहाँले बाँसुरीको धुन राम्रोसँग निकाल्नुहुन्थ्यो ।

शर्माको पहिलो गीतिएल्बम जनसाङ्गीतिक यात्रा रक्तिम भाग–१ हो । त्यसयता दुई हजार बढी गीत उहाँले जनताकै पक्षमा गाउनुभएको छ । मेला महोत्सव हुन वा अन्य कुनै साङ्गीतिक कार्यक्रम शर्माका गीतले तताउँछन् । शर्माले बाल्यकालदेखि वृद्धसम्मका लागि सदावहार गीत गाउनुएको छ । ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ देखि ‘झरनाको चिसो पानी’सम्मका गीत उहाँले गाउनुभएको छ । ती गीत सबैले रुचाएका लोकप्रिय गीत हुन् ।

“मैले गाएका गीतले ऊर्जा भरेर भएका परिवर्तन धेरै होलान् आफैँले कसरी मूल्याङ्कन गरुँ”, शर्माले भन्नुभयो, “समयसँग सम्झौता होइन, सङ्घर्ष गर । सङ्घर्ष, भन्ने गीतले आत्महत्या गर्न कस्सिएकालाई रोकेका उदाहरण छन् ।”

सिमली छायाँ उहाँको गीतले अहिले पनि धेरैको मुटु चिरिन्छ । शर्मा अहिले पनि सङ्गीत साधनामै हुनुहुन्छ । परिवर्तनका लागि सङ्गीत उपयुक्त माध्यम भएको भन्दै लाग्नुभएका शर्माले सांस्कृतिक क्रान्तिमार्फत परिवर्तनको सपना देख्नुभएको छ । जन्मेको ११ दिनमा टीकानिधि नाम पाएका शर्मा, बाल्यकालमा ताराकृष्ण, जवानीमा रामकृष्ण र साङ्गीतिक बजारमा जीवन शर्माका नामले परिचय बनाउनुभएका व्यक्ति हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।