बाँदरका कारण बाँझो जग्गामा ओखरखेती

बलेवा (बागलुङ), १४ माघ : बसाइँसराइका कारण बाक्लो बस्ती पातलिँदै गएपछि केही वर्ष अघिसम्म लहलह झुल्ने खेतबारी अहिले बाँझै छन् । बाँझो फोड्ने जनशक्ति पनि गाउँमा कहाँ छ र ? बलियाबाङ्गा विदेशिएकाले बुढाबुढी र केटाकेटी मात्र गाउँमा छन् । जसोतसो खेती लगाउँ भने पनि घरघर डुल्ने बाँदरबाट जोगाउनै मुस्किल भएपछि अधिकांश गाउँबसीको यही नै साझा पिरलो भएको छ ।

गाउँमा खेती जोगाउन र बाँझो जग्गाको उपयोग गर्न खोज्नेहरुले अहिले पनि बाँदरले नखाने खेती के हुन्छ भनेर खोजी गरिरहेका छन् । यसै क्रममा बागलुङ नगरपालिका–५ मालिकादेखि वडा नं ९ तित्याङको उच्च भेगका किसान अहिले ओखर र किबी खेतीमा तानिएका छन् । किसानको मागअनुसार बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा नगरका पाँच वडामा ओखरखेतीको सुरुआत गर्न लागेको छ ।

यो वर्ष नै एक हजार तीन सय ५० बिरुवा किसानलाई उपलव्ध गराइने नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले बताउनुभयो । बजारमा दाँते ओखरको माग उच्च छ । स्थानीय बजारमै पठाउन सकिने भएकाले पनि किसानले ओखरको माग गरेको उहाँको भनाइ थियो । नगरपालिकाको वडा नं ५ देखि ९ सम्म एक हजार छ सय मिटरभन्दा माथिको भूभागमा यो खेती गर्ने नगरपालिकाले योजना बनाएको छ । “किसानको मागका आधारमा ५० प्रतिशत अनुदानमा ओखरखेती कार्यक्रम सञ्चालन गर्न थालिएको हो । अधिकतम बाँझो जग्गा उपयोग गर्ने र किसानलाई आम्दानीसँग जोड्ने हाम्रो अभियान हो”, शाखाप्रमुख सापकोटाले भन्नुभयो, “कास्मिरी थिनलेस जातको ओखर लगाउने तयारी छ । बैतडी जिल्लामा उत्पादन भएका बिरुवा बागलुङ ल्याएर लगाउने तयारी भइरहेको छ । बाँदरले कम क्षति गर्ने भएकाले किसानको उच्च माग मागलाई हामी कार्यान्वयनमा ल्याउने सोचमा छौँ ।”

ओखरसँगै किबी खेतीलाई पनि प्रवद्र्धन गरिने उहाँले बताउनुभयो । यो वर्ष पाँच सय किबीका बिरुवा ५० प्रतिशत अनुदानमा उपलव्ध गराइने छ । फलफूल प्रवद्र्धन कार्यक्रमका लागि नगरले रु २० लाख विनियोजन गरेको छ । कूल बजेटको ७० प्रतिशत नयाँ बाली विस्तारमा खर्च गरिने छ ।

जैमिनी नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् ।

“दैनिक स्याहार गर्नुपर्ने खेतीपाती लगाउन नसकिएकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाइएको हो,” जैमिनी–३ का किसान प्रेमबहादुर छन्त्यालले भन्नुभयो, “मेरो बारीमा भएका दुईवटा बोटमा लटरम्म ओखर फलेको छ । व्यावसायिकरुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ ।” उहाँका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन् । यहाँका किसानले गठन गरेको छन्त्याल किसान समूहमा आवद्ध भएका तीन भाइले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन् ।

एक हजार दुई सय बिरुवा रोप्नका लागि रु १७ लाख खर्च भएको परियोजनाले जनाएको छ । खर्चमध्ये परियोजनाले रु १० लाख अनुदान दिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖