इलाममा उदाहरणीय बन्यो किसान चापागाईको सुन्तला बगान

इलाम, १९ माघ : जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गर्नुभएको सुन्तला खेती लोभलाग्दो छ ।

यस वर्ष उहाँले रु १० लाखमा बगान बिक्री गर्नुभयो । लटरम्म फलेका सुन्तला चाख्न, फोटो खिच्न र खेतीको तरिका सिक्न स्थानीय बगानमै पुग्न थालेका छन् । सामवेद र उहाँकी पत्नीलाई त्यहाँ आउने पर्यटकको घुइँचो व्यवस्थापन गर्न यतिबेला भ्याइनभ्याइ हुन्छ । पुस पहिलो सातादेखि अहिलेसम्म उहाँको घर वरिपरि पहेँलपुर सुन्तलाको भिडियो बनाउने, फोटो खिच्ने र सुन्तलाबारीमै रमाउनेको आउ–जाउ बाक्लो छ ।

नगरप्रमुख केदार थापाले उहाँको बगानमा पुगेर अवलोकन गर्नुभएको छ । नगरप्रमुख थापाले नगरले किसानका लागि विभिन्न अनुदान र सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “सरकारले दिने अनुदान पनि वास्तविक किसानसम्म पुग्यो भने मात्रै कृषिमा प्रोत्साहन हुन्छ”, उहाँले भन्नुभयोे, “नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम ल्याएको छ, दूध, चिया, अलैँचीजस्तै सुन्तला पनि किसानको निकै सम्भावनायुक्त खेती हो भन्ने उदाहरण यो बगानले देखाएको छ ।”

नगर प्रमुखसँगै बगान पुग्नुभएका इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले चापागाईंजस्ता मेहनती किसान सबैका लागि प्रेरणा भएको बताउनुभयो । “हामी उपभोक्ताले पनि स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने हो भने किसानलाई निकै ठूलो सहयोग पुग्छ”, पौडेलले भन्नुभयो, “फलफूलका रूपमा पनि आयातितलाई भन्दा स्थानीय उत्पादन नै उपभोग गर्नुपर्छ भन्ने चेतना विकास गर्नु आवश्यक छ ।”

किसान सामवेद सशस्त्र द्वन्द्वका पीडित हुनुहुन्छ । उहाँका बुबा लेखनाथको सशस्त्र द्वन्द्वकालमा हत्या भएको थियो । त्यसपछि सामवेदको परिवार जिल्लाकै नामसालिङ गाउँबाट बरबोटेमा बसाइ सरेको रहेछ । नामसालिङमै हुँदा पनि सुन्तला खेतीमा रमाएको उहाँको परिवार २० वर्षयता बरबोटेमा पनि सुन्तलामै सफलता हासिल गरिरहेको छ । उहाँको सुन्तला बगान यो सालको जिल्लाकै ठूलो बगान पनि हो । कुनै वर्ष रु तीन हजारमा बिक्री भएको सुन्तला किसान चापागाईंले यो साल रु १० लाखमा बिक्री गर्नुभएको छ ।

सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री गरेको सम्झँदै सामवेदले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा बिक्री भएको बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिँदै गएकाले चापागाईंको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ । “गत वर्ष रु चार लाखमा बिकेको यो बगानमा यस वर्ष उत्पादन राम्रो छ”, उहाँले भन्नुभयो, “धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन् ।”

कृषि ज्ञान केन्द्रले पनि चापागाईंको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्रले किसानलाई सुन्तला खेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताएको छ । जिल्लामा भने सुन्तला उत्पादन घटेको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको कर्मचारी रुजन खड्काले बताउनुभयो ।

कार्यालयका अनुसार यस वर्ष इलाममा विगतको तुलनामा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ । आव २०८०÷८१ मा दुई सय ७८ दशमलव पाँच हेक्टरमा मात्र सुन्तलाखेती भएको छ । गत आव २०७९÷८० मा दुई सय ८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो । इलाम–५ माइजोगमाईको नामसालिङ, रोङको वडा नम्बर–६ लगायत क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो ।

“पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा काटछाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदै गएका छन्”, उहाँले भन्नुभयो, “अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन्, किवीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ ।” केन्द्रले पनि सुन्तला मासिन नदिन बगैँचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम सुरु गरेको छ । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका दश स्थानीय तहमा नै सुन्तलाको आंशिक खेती हुँदै आएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖