माओवादी युद्धका सहयात्रीलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल

काठमाडौँ, १ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा योगदान दिने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ । जनयुद्ध दिवसको सन्दर्भ पारेर माओवादी केन्द्रले आजदेखि राजधानीमा आयोजना गरेको प्रथम विधान सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले परिवर्तनका लागि बलिदान गर्ने योद्धालाई आरोपित गर्ने अधिकार कसैसँग पनि नभएको उल्लेख गर्नुभयो ।

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “एकै मोर्चा र केन्द्रमा एकताबद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरौँ, समीक्षा गरौँ, नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।” सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको भन्दै उहाँले सङ्कल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गर्नुभयो । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको तथा सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गर्नुभयो ।

जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको यथार्थ सुनाउनुभयो । सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भव्यरुपमा मनाउने उल्लेख गर्दै उहाँले यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताउनुभयो ।

“नेपालको ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरामा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँकै दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताउनुभयो । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धिको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताउनुभयो ।

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारी सहभागी छन् । पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य हुनुहुन्थ्यो । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो ।

प्रस्तावित विधानमा गत माघ २६ र २७ गते पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनको तयारीबारे पनि छलफल भएको थियो । छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई सङ्क्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।